जापानी अर्बपति युसाको मेजावा अचेल 'जीवनसंगिनी'को खोजीमा छन्।
युसाकोलाई जीवनका पाइला पाइलामा साथ दिएर संसार घुम्ने मात्र होइन, पृथ्वीबाहिर जाने साथी पनि चाहिएको हो। युसाको चाँडै स्पेश एक्सले लैजाने चन्द्रमा भम्रणमा जाँदैछन् र उनलाई चन्द्रमासम्म सँगै जाने साथी चाहिएको हो।
अनलाइनमार्फत् लत्ताकपडा बेच्ने जापानी कम्पनी जोजोका संस्थापक ४४ वर्षे युसाको 'स्टारसिप' रेकटबाट चन्द्रमा भ्रमण जाने पहिलो सर्वसाधारण बन्दैछन्।
यो भ्रमण सन् २०२३ का लागि तय भएको छ। सन् १९७२ पछि चन्द्रमा भ्रमणमा मान्छे जान लागेको यो पहिलोपटक हुनेछ।
युसाकोले यही भ्रमणमा आफूलाई साथ दिन र अनुभवहरू साट्न 'विशेष' महिलाको खाँचो रहेको जानकारी अनलाइनमार्फत दिएका हुन्।
उनको केही समयअघि मात्र अभिनेत्री आयाम गोरिकीसँग सम्बन्ध विच्छेद भएको थियो।
'मलाई जीवनसंगी चाहिएको छ,' उनले भनेका छन् ,'मेरो भविष्यको साथी जोसँग म माया बाँड्न सकूँ र बाहिरी संसार घुम्न सकूँ।'
युसाकोले यो आह्वान गरेको वेबसाइटमा आवेदन दिने शर्तहरू पनि उल्लेख छ। केटी 'सिंगल', २० वर्षमाथिको, सकारात्मक र अन्तरिक्षमा जाने इच्छा हुनपर्ने मुख्य शर्त हुन्।
आवेदन जनवरी १७ भित्र दिइसक्नुपर्नेछ र युसाकोले मार्च अन्त्यसम्म आफ्नो जोडी छानिसक्ने बताइएको छ।
युसाकोको कुल सम्पत्ति करिब तीन अर्ब अमेरिकी डलर रहेको अनुमान छ। उनले धेरै पैसा कला क्षेत्रमा खर्च गर्ने बताइन्छ।
गत वर्ष एलन मस्कको स्पेश एक्सले चन्द्रमा वरपर उड्ने पहिलो यात्रुका रूपमा उनको नाम घोषणा गरेपछि उनी चर्चामा आएका हुन्।
युसाकोले यो भ्रमणका निम्ति कति पैसा तिरे भन्ने खुलासा भएको छैन। तर एलन मस्कले 'एकदमै धेरै पैसा' भनेका थिए।