भारतको महाराष्ट र झारखण्ड विधानसभा निर्वाचनका लागि बुधबार मतदान भइरहेको छ।
दुई राज्यका राज्यसभा सदस्य चुन्नका लागि बिहान ७ बजेदेखि मतदान भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
महाराष्ट्रमा सबै २८८ सिटका लागि निर्वाचन भएको हो। झारखण्डमा भने यो तेस्रो चरणको मतदान हो। तेस्रो चरणमा ३८ सिटका लागि मतदान भइरहेको बिबिसीले जनाएको छ।
भारतकै सबैभन्दा धनी राज्य महाराष्ट्रमा ९ करोड ६४ लाख ८५ हजार ७६५ मतदाता छन्। राज्यभरि १ लाख १६ हजार ३५५ मतदान केन्द्र तोकिएका छन्।
२८८ विधानसभा सदस्यका लागि ४ हजार १३६ उम्मेदवार छन्। तीमध्ये २ हजार ८६ जना स्वतन्त्र उम्मेदवार छन्।
त्यस्तै तीन राज्यको १४ सिटमा आजै उपनिर्वाचनको मतदान भइरहेको छ।
केरलोको एक सिट, पञ्जाबको चार सिट उत्तरप्रदेशको ९ सिटमा मतदान जारी छ।
मतदान बेलुका ६ बजेसम्म हुने बताइएको छ।
महाराष्ट्र र झारखण्ड विधानसभाका लागि १५८ दल चुनावी मैदानमा छन्। प्रमुख ६ दल दुई गठबन्धन बनाएर प्रतिस्पर्धामा छन्।
भारतीय जनता पार्टी (भाजपा)को नेतृत्वमा एकनाथ सिन्दे गुटको शिवसेना र अजित पवारको राष्ट्रवादी कांग्रेस पार्टीसहितको महायुति गठबन्धन बनाएका छन्।
भारतीय कंग्रेसले उद्धव ठाकरेको शिवसेना (युटिबी) र शरद पवारका राष्ट्रवादी कांग्रेस पार्टी (शरदचन्द्र पवार) सँग मिलेर महाविकास अघाडी गठबन्धन बनाएका छन्।
महायुति गठबन्धनबाट महाराष्ट्रमा भाजपाले १२५ सिट, शिव सेनाले ८१ सिट र अजित पवारको एनसिपीले ५९ उम्मेदवार उठाएका छन्।
महाविकास अघाडि गठबन्धनबाट कांग्रेसले १०१, शिवसेना (युटिबी)ले ९५ र शरद पवारको एनसिपीले ८६ उम्मेदवार अगाडि सारेको छ।
अरू दलहरू बहुजन समाजवादी पार्टीले २३७ ठाउँमा उम्मेदवारी दिएको छ भने अल इन्डिया मजलिस-इ-इत्तेहाड-उल-मुस्लिमिन (एआइएमआइएम)ले २८८ मध्ये १७ सिटमा मात्रै उम्मेदवारी दिएको छ।
अघिल्लो विधानसभा चुनावमा भाजपा-शिवसेनाले गठबन्धन गरी चुनाव लडेका थिए। त्यतिबेला भाजपाले १०५ सिट र शिवसेनाले ५६ सिट जितेको थियो।
कंग्रेसले ४४ र एनसिपीले ५४ सिट जितेको थियो। यसपालि पनि भाजपाले शिवसेनासँग गठबन्धन गरी चुनाव लड्दा पुनः सत्तामा आउने तयारी गरेको थियो।
तर शिव सेना पार्टी फुट्यो। त्यसको एक वर्षपछ शिवसेना पनि फुटेपछि दुई दल चार दलमा परिणत भएको थियो।
यसकारण यसपालिको विधानसभा चुनावमा दुई गठबन्धनबीच कडा टक्कर हुन सक्ने भनेर विभिन्न भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन्।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मतदानमा सहभागी भएर लोकतन्त्रको उत्सवमा रौनक थप्न आह्वान गरेका छन्।