फ्रान्समा सार्वजनिक स्थलमा महिलाहरु जिस्काउने पुरुषहरु दण्डित हुने भएका छन्।
महिला पुरूष समानता मामिला सहायक मन्त्री मार्लेन सिचिप्पाले मंगलबार राष्ट्रिय टेलिभिजन मार्फत छिट्टै बन्दै गरेको नयाँ कानुनबारे जानकारी दिँदै भनेकी छन, ‘एकातिर आकर्षण हुन्छ जसको कारण सहमतिमा सम्बन्ध रहन सक्छ अर्को तिर बलात्कार हुन्छ जुन अपराध कानुनद्वारा दण्डित गरिन्छ। तर यी दुईको बीच एउटा यस्तो अवस्था छ कि पुरुषहरु महिलालाई बाटो, सार्वजनिक यातायात तथा अन्य सार्वजनिक स्थलमा जिस्काएर सताईरहेका हुन्छन् तर उनिहरु दण्डित हुने व्यवस्था छैन। यो अवस्थाको अन्त्य गरिने छ।’
उनका अनुसार गृह मन्त्रीसगँको सहकार्यमा एउटा यस्तो कानुन ल्याइने छ जसबाट कुनै महिलालाई कुनै पुरुषले जिस्काएको खण्डमा सो महिलाले नजिकै गस्ती गरिरहेको प्रहरीलाई रिपोर्ट गर्न सक्नेछिन्।
प्रहरीले दोषी पुरूषलाई तत्काल जरिवाना तिराउने छ। कुन कुन अवस्थालाई सजायको दायरामा ल्याउने र जरिवाना रकम कति लिने भन्ने बारेमा सांसदहरुको समूहले छलफल गरि निर्क्योल गर्नेछ।