ग्लोबल नेपाली
नेपालबाट बेल्जियम जाँदा रूबिना शर्मा १२ वर्ष उमेरकी थिइन्। हाल उनी बायो–टेक्नोलोजी विषयमा स्नातक तहको पढाइमा छिन्। उनी 'थ्रिडी सिस्टम' नामको कम्पनीमा 'क्वालिटी कन्ट्रोलर' का रूपमा काम पनि गर्छिन्।
उनले सानै उमेरमा एनआरएनए (गैरआवासीय नेपाली संघ) अभियानमा लाग्ने अवसर पाइन्।
भन्छिन्, 'म सानैदेखि आफन्तहरूसँग विभन्न कार्यक्रममा जान्थेँ। यसरी म १८ वर्षकै उमेरमा एनआरएनएको पञ्जीकृत सदस्य भएँ।'
उनी सन् २०२३ देखि सन् २०२५ को कार्यकालका लागि एनआरएनए (गैरआवासीय नेपाली संघ), बेल्जियमकी महासचिव छन्। आगामी जुलाइमा उनको कार्यकाल सकिँदैछ।
समाजको साथसहयोग हासिल गर्दै र विश्वास बढाउँदै एनआरएनएको उच्च तहसम्म पुग्ने उनको महत्त्वाकांक्षा छ।
आफ्ना अभिभावकका साथ बेल्जियम गएकाले उनले धेरै संघर्ष गर्नु नपरेको उनी बताउँछिन्।
'मैले बेल्जियममा धेरै संघर्ष गर्नुपरेन। मेरो बुबा पहिल्यै जानुभएकाले मलाई सजिलो भयो। म दोस्रो पुस्ताको गैरआवासीय नेपाली भएँ,' उनले भनिन्, 'मैले गर्नुपर्ने सुरूआती बुबाले नै गर्नुभयो। म भाग्यमानी भएँ।'
सुरूदेखि पढाइमै व्यस्त हुन पाएकाले आफूलाई सजिलो भएको पनि उनले बताइन्।
आफ्ना अभिभावकले बेल्जियम बस्ने आधार तयार पारेकाले उनलाई एनआरएनएमा र अन्य सामाजिक गतिविधिमा अघि बढ्न सजिलो भयो। उनी एनआरएन दोस्रो पुस्तालाई नेपाल चिनाउने प्रयासमा लागेकी छन्।
रूबिना नेपालमै जन्मिएर बाल्यकालमै बेल्जियम गएका र उतै जन्मेका बालबालिकालाई नेपाली भाषा सिकाउँछिन्। भाषा कक्षा हरेक हप्ता आइतबार बिहान साढे १० बजे सुरू भएर दुई घण्टा चल्छ। यो कक्षा निःशुल्क हुन्छ। यसरी कक्षा चलेको तीन वर्ष भयो। कक्षामा सात वर्षदेखि १६ वर्षसम्मका बालबालिका हुन्छन्।


'बेल्जियममा नभएका बेलाबाहेक हरेक हप्ता कक्षा हुन्छ। हामी नेपाली भाषासँगै चाडपर्वहरूबारे पनि सिकाउँछौं। नेपाली फिल्म पनि देखाउँछौं,' रूबिनाले भनिन्।
विदेशमा हुर्केको नेपाली पुस्तालाई भाषा, कला र संस्कृतिका माध्यमबाट नेपालसँग जोड्न सकिने उनको विश्वास छ। यही विश्वास अनुसार भाषाकक्षा चलाएको उनले बताइन्।
नेपाली नागरिकताको निरन्तरता र लगानीको वातावरण बनाएर नयाँ पुस्तालाई नेपालसँग जोड्न नेपाल सरकारले मद्दत गर्नुपर्ने उनको धारणा छ।
'विदेशमा हुर्केको पुस्तालाई नेपाली मौलिक कला, चाडपर्व र वेशभूषाले नेपालसँग जोड्ने हो। यो पुस्तालाई नेपालको राजनीतिबारे मतलब हुँदैन,' उनी भन्छिन्, 'हाम्रो पुस्तालाई युरोपको स्वतन्त्रता र नेपाली कलासंस्कृति दुवैको माया छ। युरोपमा जन्मिएको पुस्तालाई युरोपियन स्वतन्त्रता धेरै प्यारो हुन्छ।'
बाल्यकालदेखि नै नेपाली भाषा र संस्कृतिबारे बुझाउन सक्ने हो भने भविष्यमा उनीहरूले नेपाल चिन्ने र नबिर्सिने पनि उनको विश्वास छ।
रूबिनाका अनुसार बेल्जियममा दोस्रो पुस्ताका नेपालीको संख्या कति छ भन्ने यकिन छैन। सन् २०२३ को एनआरएनए सदस्य संख्यालाई आधार मान्दा करिब २६ सय नेपाली छन् तर यसले दोस्रो पुस्ताको संख्या देखाउँदैन।
उनको विचारमा माइग्रेसन (बसाइँसराइ) सामान्य प्रक्रिया हो। अन्तर्राष्ट्रिय बसाइँसराइ बढ्दो क्रममा छ तर स्वदेश फर्किने क्रम कम छ।
जुनसुकै कारणले भए पनि विदेशमा रहेका नयाँ पुस्ताका नेपालीलाई भाषा, कला र संस्कृतिका माध्यमले नेपालसँग जोड्नुपर्ने उनको मान्यता छ। उनी बेल्जियममा यसै अनुसार अघि बढेकी छन्।
बेल्जियम ३० हजार ६८९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। जनसंख्या एक करोड १८ लाख छ।