चीनले यो शताब्दीको अन्त्यसम्ममा कुनै पनि देशले इतिहासमा भोगेको सबैभन्दा ठूलो जनसंख्या गिरावट भोग्ने संयुक्त राष्ट्रसंघले जनाएको छ।
हालै संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको 'वर्ल्ड पपुलेसन प्रस्पेक्ट्स २०२४' का अनुसार सन् २१०० सम्ममा चीनको जनसंख्या आधा भन्दा बढीले घटेर सन् १९५० को दशकको अन्त्यतिरको आकारमा फर्किने सम्भावना ५० प्रतिशत रहेको छ।
सन् २१०० सम्ममा, चीनको जनसंख्या ७८ करोड ६० लाखले घटेर सन् १९५० को दशकको उत्तरार्धको हाराहारी पुग्ने छ।
त्यस्तै संख्याका हिसाबले चीनले अबका तीन दशकमा सबैभन्दा धेरै जनसंख्यामा गिरावट खेप्ने छ।
सन् २०५४ सम्ममा चीनको जनसंख्या २० करोड भन्दा बढीले घट्ने छ।
दोस्रो धेरै जनसंख्यामा गिरावटको सामना गर्ने जापानको जनसंख्या २ करोड १० लाख र तेस्रो रूसको एक करोडले घट्ने छ।
यद्यपि धेरै दशक पछिको जनसंख्या अनुमान नमिल्ने संभावना अधिक हुन्छ भनेर सो प्रतिवेदनले भनेको छ। जनसंख्याको आधा हिस्सा ओगट्ने पुरूषले बच्चा नजन्माउने भएकाले जनसंख्यालाई घट्न नदिन जनसंख्याको अर्को आधा हिस्सा ओगट्ने महिलाले आफ्नो जीवनकालमा कम्तीमा दुई बच्चा जन्माउनु पर्छ। केही बच्चाको सानैमा मृत्यु हुने भएकाले जनसंख्या सन्तुलनमा राख्न (रिप्लेसमेन्ट रेट) का लागि एक महिलाले आफ्नो जीवनकालमा २.१ बच्चा जन्माउनुपर्ने विज्ञहरू बताउँछन्।
सन्तान जन्माउने उमेरका महिला थोरै भएको, बिहे ढिला गर्न थालेको र बच्चै नजन्माउने प्रचलन बढ्न थालेको लगायत कारणले चीनमा जनसंख्या त्यसरी घट्ने भनेर सो प्रतिवेदनले भनेको छ।
सो प्रतिवेदनका अनुसार विश्वको जनसंख्या अर्को ५०-६० वर्षसम्म अहिलेको ८.२ अर्बबाट बढेर लगभग १०.३ अर्ब पुग्नेछ। त्यसपछि भने विस्तारै घट्न थाल्नेछ।
त्यस्तै विश्वभरिका एक महिलाले आफ्नो जीवनकालमा जन्माउने बच्चाको संख्या सन् १९९० को ३.३ बाट घटेर अहिले २.३ पुगेको छ। त्यसैगरी, सन् २०८० सम्ममा विश्वमा ६५ वर्षभन्दा बढी उमेर भएकाको संख्या १८ वर्ष मुनिका बालबालिकाहरू भन्दा बढी हुनेछ।
जन्मदर घट्दै गयो भने काम गर्न सक्ने नागरिकको संख्या पनि विस्तारै घट्दै गएर आर्थिक विकासमा नकारात्मक असर पर्ने अर्थविदहरूको भनाइ छ। स्वास्थ्य विज्ञान र स्वास्थ्य सेवाको विकासले मान्छेको आयु पनि बढ्दै जाँदा न्यून जन्मदर भएको देशमा काम गरेर कर तिर्नेको तुलनामा पेन्सन खाएर बस्नेहरूको अनुपात बढेर राज्यलाई झन् धेरै भार पर्छ।
पछिल्ला वर्षमा अमेरिकासँग प्रतिस्पर्धामा उत्रिएको चीनको जन्मदर र जनसंख्या घट्दै गइरहेको छ। चीनको कम्युनिष्ट सरकारले जनसंख्या नियन्त्रण गर्न सन् १९७९ देखि एक बच्चामात्रै जन्माउन पाउने नीति ल्याएर कडाइका साथ लागू गरेको थियो।
साढे तीन दशकपछि सन् २०१५ मा सरकारले एक बच्चाको नीति हटाए पनि चीनमा जन्मदर बढ्न सकेको छैन। एक बच्चाको नीति हटाए पनि जन्मदर नबढेपछि चीन सरकारले दुई वर्षअघि तीन बच्चा जन्माउन दम्पतीलाई प्रोत्साहन गर्ने निर्णय गरेको थियो।
तेस्रो बच्चा जन्माउन प्रोत्साहनस्वरूप रिटायर्ड हुने समय सार्ने, युवाहरूलाई विवाह र परिवारबारे शिक्षा दिने, चाइल्ड केयर सेवा सुधार्ने र सुत्केरी बिदा बढाउने लगायत निर्णय गरिएको थियो। तर पनि चीनको जनसंख्या र जन्मदर घटिरहेको छ। अहिले चीनको जन्मदर झरेर १.१५ पुगेको बताइन्छ। यसरी चीनमा पनि जापान, दक्षिण कोरिया र धनी युरोपेली देशको जस्तो जन्मदर घटेर जनसंख्या पनि घट्न थालेको छ।
तर चीन भने धनी देश नभइकनै जन्मदर र जनसंख्या घट्न थालेको छ। यस कारण विस्तारै बढी उमेरका कारण काम गर्न नसक्ने भएकालाई जापान, दक्षिण कोरिया र धनी पश्चिमा देशको जस्तो धेरै खर्च गर्न चीनलाई गाह्रो हुनेछ। त्यही बुझेर नै एक दशकअघि सत्ता सम्हाल्ने बित्तिकै चीनका राष्ट्रपति सी चिनफिङले बुवा-आमालाई हेरचाह नगर्नुलाई गैरकानुनी बनाएका थिए।
कतिले मेसिन, रोबोट र आर्टिफिसियल इन्टेलिजेन्सको विकासका कारण काम गर्न सक्ने जनसंख्या घटे पनि देशले आर्थिक विकास गर्न सक्ने बताउँछन्। त्यसो भयो भने चीनले पनि घट्दो जनसंख्याको कहर सहन सक्छ। भएन भने चाहिँ अमेरिकाको जस्तो काम गर्ने उमेरका अरू देशका आप्रवासी नभित्र्याउने भएकाले चीनलाई तुलनात्मक रूपमा गाह्रो पर्नेछ।
अमेरिकामा जन्मदर घटे पनि आप्रवासीका कारण जनसंख्या थोरै भए पनि बढिरहेको छ। सरकारले जति प्रोत्साहन गरे पनि महिला जति शिक्षित र कमाउन सक्ने हुँदै जान्छन् जन्मदर बढाउन उति नै गाह्रो हुँदै जानेछ। त्यसैले घट्दो जनसंख्याको नकारात्मक प्रभावबाट जोगिन चीनले पनि बिस्तारै अमेरिका लगायत धनी देशको जस्तो आप्रवासी भित्र्याउनुपर्ने हुन्छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)