नागरिक उन्मुक्ति पार्टी (नाउपा) को राष्ट्रिय भेला बिहीबार पनि बस्दैछ। नयाँ बानेश्वरमा बस्ने भेलाले पार्टीको अध्यक्ष तोक्ने कार्यसूची रहेको संयोजक रामलाल डगौरा थारूले जानकारी दिए।
बुधबार बसेको बैठकले रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित गरेको थियो। उनलाई साधारण सदस्यसमेत नरहने गरी हटाएको नाउपाले बताएको छ।
पोखराको लिचीबारी जग्गा प्रकरणमा मुछिएकी श्रेष्ठलाई डगौरा नेतृत्वको अनुशासन समितिले २४ घन्टे स्पष्टीकरणसमेत सोधेको थियो। उनले स्पष्टीकरण दिइनन्। बरू वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष तोकिन्। उनी भेलामासमेत अनुपस्थित छन्।
उनलाई अध्यक्षबाट हटाएकाले नयाँ नेतृत्व चयन गर्नुपर्नेछ। नाउपाभित्र अध्यक्षका आकांक्षीमा लालवीर चौधरी, रामलाल डगौरा, गंगा चौधरीको नाम चर्चामा छ। गंगा चौधरी संसदीय दलको नेता छन्। रामलाल टीकपुर नगरपालिकामा मेयरक हुन् भने लालवीर संरक्षक रेशमका पिता तथा प्रतिनिधि सभा सदस्य हुन्। उनले नाउपाकै समर्थनम बर्दियाबाट स्वतन्त्र सांसद जितेका थिए।
नाउपाले नयाँ केन्द्रीय कार्यसमिति चयनको तयारी गरे पनि निर्वाचन आयोगमा अद्यावधिक हुन भने कठिन रहेको एक केन्द्रीय सदस्यले बताए। रञ्जिता पक्षका ती केन्द्रीय सदस्यका अनुसार पार्टी विधानले अध्यक्षलाई सर्वेसर्वा बनाएको छ। महाधिवेशनलेबाहेक अध्यक्षलाई हटाउने विधानमा परिकल्पना गरिएको छैन।
रञ्जिताले निर्वाचन आयोग र कानुनवेत्तासँग परामर्श गरेर नै कार्यवाहक तोकेको ती नेताको दाबी छ।
त्यसो त नाउपाले २०८० पुस अन्तिम हप्ता राष्ट्रिय महाधिवेशन गरेर रेशम चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको थियो।
तर निर्वाचन आयोगले अद्यावधिक गरिदिएन र नाउपा पुरानै कार्यसमितिमा फर्कनुपरेको थियो। त्यसविरूद्ध संरक्षक रेशम चौधरी सर्वोच्च अदालत गएका थिए।
मुद्दा विचाराधीन रहेकैबेला पनि नयाँ कार्यसमिति अद्यावधिक हुन नसक्ने ती नेताको दाबी छ।