गत वर्ष ३० दिनसम्म सार्वजनिक कार्यक्रमका नदेखिएपछि हटाइएका चिनियाँ विदेश मन्त्री छिन काङलाई कम्युनिस्ट पार्टीले केन्द्रीय सदस्यबाट पनि हटाएको छ।
साउथ चाइन मर्निङ पोस्टले सरकारी सिसिटिभीको हवाला दिँदै लेखे अनुसार छिनलाई हटाउनेबारे जुलाइको सुरूमा भएको पोलिटब्युरो बैठकमा सल्लाह भएको थियो।
अहिले चलिरहेको केन्द्रीय समितिको चार-दिने तेस्रो प्लेनरी सत्रले सो निर्णयलाई पारित गरेको हो।
कम्युनिस्ट शासन भएको चीनमा शक्तिशाली पदबाट हटाइएका नेताहरूलाई भ्रष्टाचार वा अरू कुनै अभियोग लगाई जेल हाल्ने गरिन्छ। ‘तर भाषा हेर्दा उनीमाथि फौजदारी अभियोग भने चलाइएको छैन जस्तो बुझिन्छ,’ हङकङबाट प्रकाशित हुने साउथ चाइन मर्निङ पोस्टले लेखेको छ।
गत वर्ष जुन २५ मा रूसी उपविदेश मन्त्री आन्द्रे रूदेन्कोसँग बेइजिङमा भेटवार्ता गरेपछि उनी सार्वजनिक रूपमा हप्तौंसम्म देखिएका थिएनन्।
सुरूमा उनी स्वास्थ्यका कारण नदेखिएका भनिएको थियो तर एक महिनापछि कुनै पनि कारण नदेखाइकन उनलाई विदेश मन्त्रीबाट हटाइएको थियो।
पार्टीका वरिष्ठ नेताहरूलाई भने ‘जीवनशैलीमा समस्या’ का कारण हटाइएको भनेर ब्रिफिङ गरिएको थियो भनेर पश्चिमा मिडियाले लेखेका थिए।
चिनियाँ कम्युनिस्ट पार्टीले यौनजन्य विचलनलाई ‘जीवनशैलीमा समस्या’ भन्ने गर्छ। उनको विवाह-इतर सम्बन्धका कारण उनलाई विदेश मन्त्रीबाट हटाइएको चर्चा त्यति बेला चलेको थियो। उनलाई विदेश मन्त्रीबाट हटाइए पनि पार्टीको पदबाट भने हटाइएको थिएन।
अहिले भने उनलाई केन्द्रीय सदस्यबाट पनि हटाइएको हो।
राष्ट्रपति सी जिनपिङसँग निकट मानिएका छिनले छिटो-छिटो प्रगति गरेर ५७ वर्षकै उमेरमा २०२२ को अन्त्यमा विदेश मन्त्री बनेका थिए।
उनले सी राष्ट्रपति बनेपछिका विदेश भम्रणको सबै चाँजोपाँजो मिलाउन प्रमुख भूमिका खेल्थे। कोरोना महामारी र व्यापार युद्धले अमेरिकासँगको सम्बन्ध नाजुक बनेका बेला सीले उनलाई २०२१ जुलाईमा राजदूत बनाएर अमेरिका पठाएका थिए। त्यसअघि अमेरिका लगायत पश्चिमा राष्ट्रको कटु आलोचना गर्ने उनले अमेरिकामा राजदूत हुँदा भने त्यसो नगरेर बरू दुई देशको सम्बन्ध सुधार्न प्रयास गरेका थिए।
उनी पहिले जस्तो छुच्चो नभए पनि पश्चिमाले धेरै चासो राख्ने तिब्बत, सिन्जियाङ, हङकङ र ताइवान लगायतका मुद्दामा चीनको कुरा बलियो रूपमा राखेका थिए। उनको कामबाट खुसी भएर १७ महिनामै सीले उनलाई विदेश मन्त्रीमा बढुवा गरेका थिए।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा तयार पारिएको)