सिड्नी, नेपाल पर्यटन बोर्डले बिश्वका बिभिन्न मुलुकहरुमा पर्यटन प्रर्वधनका लागि अवैतनिक जनसम्पर्क प्रतिनिधिको ब्यवस्था गरेको वर्ष दिन पुग्दा पनि यसले कुनै प्रभाव देखाउन सकेको छैन।
विश्वमा छरिएर रहेका नेपाली समाजका अगुवामध्येबाट नेपालको पर्यटनलाई प्रवर्धन गर्न सक्ने भनि छानिएका अवैतनिक जनसम्पर्क प्रतिनिधीहरू प्राय निस्प्रभावी देखिएका छन्।
नियुक्त भएको बेला पर्यटनदूतका रुपमा परिचय गराउदै बिभिन्न मञ्च र समाजिक सन्जालमा बधाई र शुभकामनाको ओइरो खाने सामाजिक अभियन्ताले नियुक्तको एक वर्ष नाँघिसक्दा पनि पर्यटन प्रर्वधनमा कुनै कार्यक्रम ल्याउन नसक्नु उदेकलाग्दो विषय बनेको छ।
नेपाल पर्यटन बोर्डले अवैतनिक जनसम्पर्क प्रतिनिधि नियुक्त गर्दानै पालना गर्नुपर्ने ३२ वटा टम्स अफ रिफ्रेन्समध्ये कुनै पनि विषयको पालना भएको देखिदैन। फगत नेपाल पर्यटन बोर्डले यसरी संसारभर पर्यटन प्रतिनिधीका रूपमा दिएको नियुक्ति कागलाई बेल पाक्यो हर्ष न बिस्मात जस्तै भएको छ। अझ रमाइलो त के भने सम्बन्धित देशको सरकारले नेपाल भ्रमण गर्न हुने वा नहुने भनी दिइएको भ्रमण आदेशको पनि पर्यटन प्रतिनिधिलाई अत्तोपत्तो समेत भएन।
हरेक देशका राज्यमा नियुक्त भएका पर्यटन प्रतिनिधिले पर्यटक सूचना केन्द्र स्थापना गर्नुपर्ने,कम्तिमा वर्षको एक पटक नेपालको पर्यटन प्रर्वधनका लागि एउटा बृहत कार्यक्रमको आयोजना गर्नुपर्ने, सम्वन्धित देशमा नेपालबारे छापिएका प्रचार प्रसार सामाग्री संकलन गरी बोर्डमा पठाउनुपर्ने र सम्बन्धित देशमा नेपालको पर्यटनबारे जानकारी दिन पत्रकार भेटघाटको आयोजना समेत गर्नुपर्ने जस्ता बुदाँ उल्लेख भए पनि अझसम्म अष्ट्रेलियाका कुनै प्रतिनिधिले सो कार्य गरेको पाइएको छैन।
‘हामीले नियुक्त भएको केही महिनामा मात्र यी कुराहरु जानकारी पायौं र सकेसम्म र भ्याएसम्म आफ्नो तर्फवाट मुलुकको पर्यटन प्रवर्धनमा कुनै कसर बाँकी राखेका छैनौ,’पश्चिम अस्ट्रेलियाका पर्थस्थित अवैतनिक जनसम्पर्क प्रतिनिधि निल थपलीयाले सेतोपाटीलाई बताए।
स्थानीय तहमा कार्यक्रम र मेला महोत्सवको आयोजना गरी नेपाल चिनाउने काम गरेका छौ तर बुँदागत रूपमा सबै जिम्मेवारी पुरा गर्न कठिन भए पनि त्यसका लागि आफू कटिबद्ध रहेको थपलियाले बताए। आफू नियुक्त भएको एक वर्ष नपुगेको र निकट भविष्यमै पर्यटन प्रवर्धनमा कार्यक्रमको तयारी भैसकेको थपलियाले सुनाए।
एक वर्ष भित्र पर्यटन प्रर्वधनमा प्रभावकारी काम गर्न नसके पर्यटन बोर्डले मूल्यांकन गरी अयोग्यसमेत ठहर गर्न सक्ने पत्रमा उल्लेख छ। नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशी यो विषयमा सम्वन्धित प्रतिनिधिहरू गम्भीर नभएको स्वीकार्छन्। ‘केही स्थानमा सोचेभन्दा पनि राम्रो पनि भएको छ तर अधिकांश प्रतिनिधिले करारनामा नपढेको जस्तो देखिएको छ। हुन त यो अवैतनिक पद हो तर पनि जिम्मेवारी भने निकै महत्वपूर्ण र धेरै छन्, यसलाई सम्वन्धित प्रतिनिधिले बुझ्नु जरूरी छ,’जोशीले भने।
क्वीन्सल्यान्डका पर्यटन प्रतिनिधि स्वतन्त्र प्रताप शाह आफूले रेस्टुरेन्टको नाम समेत आठ हजार आठ सय अठ्चालिस राखेर सगरमाथाको उचाइको प्रचार गरेको बताउँछन्। टिओआरमा भएको सबै बुँदा पुरा गर्न नसके पनि देशको प्रतिष्ठा र पर्यटन प्रवर्धनमा दिलोज्यान दिएर लागि परेको बताए। ‘यस पटक एनआरएनको विश्व सम्मेलनमा पर्यटन प्रवर्धनको कार्यक्रम गर्न लागेको छु,’ शाहले भने।
अस्ट्रेलियाको सन्दर्भमा स्वफूर्त यहाँका केही युवाको जय नेपाल नामक संस्थाले भिजिट नेपाल प्रमोट नेपाल कार्यक्रम भन्दै बिभिन्न निजी सवारी साधनमा नेपाल चिनाउने स्टिकरसहित र्यालीको आयोजना गरेको थियो। सिड्नी,क्यानबेरा र एडिलेडमा चलाएको यो अभियान निकै सार्थक देखिएको थियो ।
‘वास्तवमै यो अवैतनिक पर्यटन प्रतिनिधिको नियुक्तिले हामीलाई उत्साही बनाएको थियो। एक वर्ष पुग्दा पनि कसैले कुनै कार्यक्रम आयोजना नगर्नू उदेकलाग्दो विषय बनेको छ’, ब्रिसबेनमा बसोबास गर्दै आएको सञ्चारविद् डा. भरतराज पौडेल बताउँछन्।
‘पर्यटन प्रतिनिधिलाई दिएको करारनामामा पर्यटन बोर्डलाई पर्यटन बजारको सम्भावनाबारे अध्यन गरेर जानकारी दिइने उल्लेख भए पनि कुनै प्रतनिधिले यसो गरेको देखिएको छैन,’ पौडेलले बताए ।