सफलताको बाटाहरू पछ्याउँदै अनि लगन र परिश्रमका पाटाहरूलाई केलाउँंदै १२ वर्षको उमेरमा आफूलाई परिपक्क बनाएको एक्सपर्टले नेपाली व्यवसायीहरूलाई एउटा सफलताको सन्देश दिएको छ ।
एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले व्यवसायको संखघोष गरेको १२ वर्ष पुगेको उपलक्ष्यमा सिड्नीमा भव्य कार्यक्रमको आयोजना गर्दै सफलताको कथा साटासाट गरेको छ ।
विदेशी भूमीमा प्रारम्भ गरेको व्यापार व्यवसाय झांगिदै गर्दा यतिखेर एक्सपर्ट एउटा महत्वपूर्ण सेवामूलक संस्था बनिसकेको छ । नेपाल र अस्ट्रेलिया बाहेक पनि बंगलादेश र भारतमा फैलिसकेको अनि अन्य देशमा विस्तारित हुने योजनामा रहेको यो नेपालीहरूको स्वामित्वको संस्थाका रुपमा गर्व गर्न लायक रहेको छ ।
अहिले करीब पाँंच दर्जन कर्मचारीसहित सिड्नीको मुख्य चोकमा यसको आफ्नै कार्यालय रहेको छ ।
‘समय संवेगले हामीलाई यति लामो समय बितेको पत्तो नै भएन । गन्तव्य प्राप्तिमा सामूहिकता बोध पहिलो शर्त हो । यतिखेर हामीले सफलताको कथा सुनाउँदै गर्दा एक्सपर्ट परिवार यसको धन्यवादको पात्र हो,’ निर्देशक बद्री अर्यालले भने।
अस्ट्रेलियन आदिवासीको परम्परागत धुनबाट प्रारम्भ भएको कार्यक्रम ब्राजिलिय साम्बा हुँदै नेपाली चौबन्दी चोलो र साल्सामा सम्पन्न भएको थियो ।
करीब दुई सय अस्ट्रेलियन शैक्षिक प्रतिष्ठानका प्रतिनिधी, एक्सपर्टका ग्राजुएट र सामाजिक अगुवाहरूको उपस्थिति रहेको कार्यक्रममा अन्तराष्ट्रिय विद्यार्थीहरूको साझा संगठन काउन्सिल अफ इण्टरनेशनल स्टुडेण्ट अस्ट्रेलिया (सीसा)का नवनिर्वार्चित अध्यक्ष विजय सापकोटालाई सम्मान प्रदान गरिएको थियो ।
एक्सपर्टले आफूलाई फैलाउँदै गर्दा एक्सपर्ट फाउण्डेशनको स्थापना गरेको र यस अन्तरगत नेपालमा विभिन्न कल्याणकारी आयोजना सम्पन्न गर्नुका साथै हाइड्रोमा समेत हात अगाडि बढाएको कार्यक्रममा जानकारी दिइयो ।
नेपालका ऊर्जा मन्त्री महेन्द्र बहादुर शाहीको समेत उपस्थिति रहेको कार्यक्रममा न्यू साउथवेल्सका महावाणिज्य दूत दीपक खड्का र भिक्टोरियाका महावाणिज्यदूत चन्द्र योञ्जनको समेत उपस्थिति रहेको थियो ।
नेपाली समाजले प्रवासमा समेत गरेको यत्रो उन्नती र प्रगती हाम्रा लागि गौरवको विषय रहेको ऊर्जामन्त्री महेन्द्र बहादुर शाहीले बताए । उनले कर्मठ हातहरू र शिल्पी ज्यानहरू देश विकासको बाटोमा स्वदेश फर्कनुपर्ने बेला आएको समेत सुनाए ।
एक्सपर्टका निर्देशक संजिव शर्माले एक्सपर्टले व्यवसायसँंगै सामाजिक सद्भावका बाटाहरू र हाम्रा संस्कृति संवर्द्धनका पाटाहरूमा सक्दो सहयोग पुर्याउँदै आएको बताए । लक्ष्य प्राप्तिको निरन्तरता र लगन अनि परिश्रमको यात्रामा १२ वर्षे जवान एक्सपर्टले आगामी दिनमा अझै नविन योजना बुन्ने लक्ष्य राखेको बताए । उनले यस यात्रामा सहयोग पुरर्याउने सबैखाले सहयोगीहरू धन्यवादको पात्र रहेको बताए ।