सिड्नीमा बस चढ्दै गर्दा पछिल्ला साता केही बसका ट्याप मेसिन (पैसा तिर्ने) हरू बन्द भएको यहाँहरूले अनुभूति गर्नुभएकै होला। संसारकै महंगो शहरमध्येको एक सिड्नी र त्यसमाथि यहाँको सार्वजनिक यातायात भाडा निकै चर्को मानिन्छ। तर बस चढेर पनि पैसा तिर्नु नपर्ने विषय निकै अचम्म लाग्यो।
पैसा उठाउने मेशिन बन्द भएको कारण सोध्दै ड्राइभरलाई यसो प्रश्न तेर्साएको त निकै गरम हुँदै जवाफ दिए-मेशिन बिग्रिएको छ भनेर।
कुरो बुझेको त बस ड्राइभरको हड्ताल पो रहेछ अस्ट्रेलियामा। आफ्ना माग पुरा गर्न उनीहरूको यो नौलो तरिका रहेछ। जनताले दुख पनि पाएनन्, सरकारलाई दबाब पनि भयो। दिनहुँ करौडौ डलर उठ्ने बसको शुल्क नउठेपछि राज्य गम्भीर भइहाल्ने भयो। अष्ट्रेलियन सरकारद्धारा सञ्चालित पब्लिक बसका चालकहरुले आफ्नो सेवा र सुबिधाका बारेमा माग राख्दै हड्ताल गर्ने निर्णय गरेका रहेछन्। हुन पनि जति बिकशित राष्ट्र भए पनि राज्यको नीति सबैमा समान हुन्छ भन्ने हुँदैन।
संसारकै बिकशित र मंहगो शहर सिड्नीमा हड्तालको कुरा सुन्दा पत्यारै लागेन। हामी वर्षमा सय दिन हडताल र बन्द भोगेर सात समुन्द्रपार आएका नेपालीका लागि यस्ता समाचार सधै चासोको विषय बन्नेगर्छ।
हरेक राज्यमा फरक फरक तिथि मिति तोकिएर आयोजना गरिएको हड्तालको तालिका आफैंमा रोचक र सान्दर्भिक रहेछ। यतिखेर राज्य सरकार बस ड्राइभरको माग सम्बोधन गर्ने सवालमा अगाडि बढेको छ।
‘साना तिना माग हुन वा राजनीतिक मुद्दा। बन्द, आगजनी र तोडफोडमा उत्रिने नेपालका नेता तथा कार्यकर्ताले साच्चीकै यस्ता भद्र आन्दोलनका बारेमा जानकार हुनैपर्छ,’शैक्षिक परामर्शदाता बालचन्द्र भट्टराइले बताए।
हामीले खराब संस्कृतिको नक्कल बढी गर्यौं, किनभने छिमेकी भारतमा अधिकारका लडाईँहरू हिंस्रक भएको देख्यौ। तर कयैन जायज मागहरु भद्र आन्दोलनले पनि पुरा हुन्छन् भन्ने कुरा बिर्स्यौ। यो एउटा उदाहरण पनि हो ,आफ्ना माग पुरा गर्ने नाममा जनतालाई अप्ठयारो पार्न हुन्न भन्ने शन्देश यसले दिएको छ,’ ब्रिसबेनका डा भरत पौडेलले सेतोपाटीलाई प्रतिक्रिया दिए।