अस्ट्रेलियाको सिड्नीमा डाँफे फुटबल क्लबले आउँदो महिना एस स्टडी अस्ट्रेलिया डाँफे एम्बसडेर कप फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
मुलुकभन्दा बाहिर नेपाली समाजको बलियो उपस्थिति रहेको अस्ट्रेलियामा एक दशकदेखि फुटबल प्रतियोगिता आयोजना भैरहेका छन्। पछिल्ला वर्षहरूमा फुटबल प्रतियोगिताको बाढीनै आइरहेको बेला डाँफेले भने सेप्टेम्बर २३ र २४ तारिख सर्वाधिक धनराशीको एम्बेसडर कपको आयोजना गर्न लागेको हो ।
प्रतियोगिताको पहिलो स्थान प्राप्त गर्ने टोलीले पाँच हजार अस्ट्रेलियन डलर र दोस्रो हुने टिमले दुई हजार डलरसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस बाहेक पनि प्रतियोगिताको म्यान अफ दी सिरीजले चार सय डलर र बेष्ट गोलरक्षकले चार सय डलर तथा फाइनलको म्यान अफ दी म्याचले तीन सय डलर नगद सहित ट्रफी हात पार्ने कुरा डाँफे फुटबल क्लबका ब्यवस्थापक जगदिस खड्काले बताए।
२० वटा नेपाली टोलीको सहभागिता रहने प्रतियोगितालाई हार्बर कलेज अस्ट्रेलियाकोतर्फबाट पनि सहयोग हुने छ ।
त्यस बाहेक पनि अन्य पुरस्कारको लागि बिभिन्न प्रायोजकसँग कुरा अगाडि बढिरहेको खड्काले बताए। प्रतियोगितामा मेलवर्नको दुई, थ्रीस्टार अल्बुरीको एक टोलीको सहभागिता रहनेछ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रायोजकका तर्फवाट एस अस्ट्रेलियाका निर्देशक अभिषेक प्रधानले आफू सानैदेखि फुटबलको प्रशंसक रहेको कारण आफ्नो लगावलाई खेलाडीका रुपमा अगाडि बढाउन नसके पनि प्रतियोगिता मार्फत सहयोगको हात बढाएको बताए।
उनले सहयोग र सामाजिक सदभाव नै एस अस्ट्रेलियाको लक्ष्य रहेको सुनाए।
कार्यक्रममा एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष नन्द गुरुङले सिड्नीमा फुटबलको क्रेज बढ्दैजाँदा यसको स्तर र आयोजनामा ध्यान पुर्याउनुपर्ने बेला आएको बताए। उनले एनआरएनले सबैको सहयोग पाए आगामी वर्ष नेपाली फुटबल वा क्रिकेट टोलीलाई अस्ट्रेलियामा बोलाएर मैत्रिपूर्ण खेल खेलाउने लक्ष्य बोकेको सुनाए।
पत्रकार सम्मेलनमा बोल्दै पुराना फुटबलर तथा प्राध्यापक राजु मानान्धरले नेपाल बाहिर ब्यवस्थित र स्तरीय फुटबलको नमुनाका रुपमा अस्ट्रेलिया रहेको जिकिर गरे। सामाजिक सदभाव र आपसी एकताका अनि स्वस्थ्य जीवनको महत्वपूर्ण अंगका रुपमा खेलकुद रहेको मानन्धरले बताए।
कार्यक्रममा एस स्टडीका अर्का निर्देशक दिपक अग्रवालले युवा पीढीलाई एकाकार गर्ने क्रममा आफ्नो संस्थाले फुटबल मार्फत सम्वोधन गर्न खोजेको बताए। अग्रवालले भने, ‘ब्यवशाय गर्दै जाँदा समाजप्रतीको दायित्व पनि बिर्सनु हुँदैन। हामीले संगीत र अन्य विषयमा सहयोग गर्दै आएका थियौ यस पटक फुटबलमा हात अगाडि बढाएका छौ।’
कार्यक्रममा डाँफे क्लबका प्रमुख प्रशिक्षक मिलन थापाले प्रयोजक तथा क्लबहरुलाई स्वागत गर्दै प्रतियोगितालाई सफल बनाउन सहयोगको अपील गरे ।
तेजमान तामाङ अध्यक्ष रहेको डाँफे क्लब सन २०१५मा स्थापना भएको हो। सिडनीको प्रमियिर डिभिजन लिगमा समेत सहभागिता जनाइसकेको यो क्लबले पहिलो पटक प्रतियोगिता आयोजना गर्न लागेको हो ।