हामी प्रवासमा नेपालीको स्तरका बारेमा सधै कमजोर ठान्छौ तर कयैन यस्ता बिधा छन् जहाँ नेपालीले बिदेशीमाथि पनि राज गरेका छन्। बहादुरी मात्र होइन ब्यवसाय कला कौशलदेखि अध्ययन र अध्यापन अनि नेतृत्वमा पनि नेपालीले विदेशमा आफ्नो शान र मान राखेका छन्।
यसै साताको प्रारम्भमा काउन्सिल अफ इन्टरनेशनल स्टुडेन्ट अस्ट्रेलिया (सीसा) का नव नियुक्त अध्यक्ष चितवनका मेघावी युवा विद्यार्थी विजय सापकोटालाई अस्ट्रेलियाका प्रधानमन्त्री माल्कम टर्नबुलले निकै महत्वपूर्ण समितिमा मनोनित गरेका छन्।
उनी अष्ट्रेलियन सरकारको शैक्षिक नीति अन्तगर्त रहेका तीन महत्वपूर्ण नीति तथा कार्यक्रममा पनि बिद्यार्थीका नेता हैसियतले चुनिएका छन्। यी सबै समितिले अस्ट्रेलियाको शैक्षिक विकासमा ३८ करोड अस्ट्रेलियन डलरको बजेट समेत पाएको छ।
करिब दुई सय भन्दा बढी राष्ट्रका विद्यार्थी अध्ययन गर्ने अष्ट्रेलियामा ६ लाखभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थी छन्। ती विद्यार्थीको साझा युनियन सिसाको केन्द्रीय अध्यक्ष बन्ने सौभाग्य प्राप्त गर्ने नेपाली विद्यार्थी हुन विजय सापकोटा ।
प्रधानमन्त्री टर्नबुल्द्धारा गठित काउन्सिल फर इन्टरनेशनल एजुकेशनमा सीसाको अध्यक्षको हैसियतले विजय एक बर्षका लागि सदस्यमा मनोनित भएका छन्। जुन समितिको अध्यक्षमा अस्ट्रेलियाका शिक्षा मन्त्री साइमन बर्मिघम सदस्यहरुमा परराष्ट्र मन्त्री जुली बिशप तथा सरकारका चार मन्त्रीहरु छन्। समिति १७ सदस्यीय रहेको छ।
सरकारद्धारा गठित अन्य शैक्षिक समितिमा एजुकेशन भिसा कल्सलटेटिभ कमिटी, र इन्टरनेशनल एजुकेशन स्टेक होल्डर कमिटिमा पनि विजय सदस्यका रुपमा मनोनित भएका छन्।
अष्ट्रेलिया सरकारसम्म पहुँच हुने यो संगठनमा अझसम्म कुनै नेपाली विद्यार्थी पदाधिकारीका रूपमासम्म पुग्न सकेको थिएन। युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीका यी होनहार प्रतिभा आफ्नो मनोनयनलाई नेपाल र नेपालीको गौरवको विषय भन्न रुचाउँछन्। मनोनयन पछि सापकोटाले सेतोपाटीसँग भने, ‘यो अस्ट्रेलियाको सबैखाले सरकारी संयन्त्रसँग जोडिएको संस्था भएकोले यसलाई निकै महत्वका साथ हेरिने गर्छ। यसको नेतृत्व गर्न पाउनु आफ्नु लागि गौरवको कुरा हो,’ उनले भने,‘यस्ता खाले मनोननय मेरा लागि पनि निकै महत्वपूर्ण रहेका छन्, यहाँका नीति निमार्तासँग बसेर काम गर्न पाउनु आफैंमा एउटा महत्वको विषय हो।’
उनले यहाँ सिकेको ज्ञान र बुद्धी मुलुकको हितमा लगाउन सके आफ्नो लक्ष्य सफल हुने बताए।