करिब नौ हजाररूको ज्यान लिएको र २२ हजारौलाई घाइते बनाएको २०७२ को भूकम्पको खाटा बस्न थालेको मात्र थालेको थियो । त्यो विनाशकारी तथा विभत्स समयको यादलाई मेटाउन धेरै नेपालीले प्रयत्न गरिरहेका थिए । कैयौं पीडितहरू अझै पनि भूकम्पले तहसनहस बनाएको घर बनाउनमै व्यस्त छन् भने कतिले राहत नपाएर अझै पनि सरकारी तथा अन्य सहयोगी हातहरूलाई पुकारा गर्दैछन्।
यहीबेला प्रकृतिले सम्पूर्ण नेपालीको अर्को अग्निपरीक्षा लिइरहेको छ। वर्षाको भेलसँगै उर्लेको बाढीले तराईका विभिन्न जिल्लामा कहर फैलाएको छ। अहिलेसम्मको तथ्यांक हेर्ने हो भने करिब सयभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् भने धेरै नेपालीहरूको घरबार उठिवास भएको स्थिति उत्पन्न भएको छ ।
प्रकृतिको परीक्षा पनि यति विघ्न किन कठोर हुन्छ। एउटा मृत बालकलाई अन्तिम संस्कार गर्ने भूभाग पनि नछोडिकन बाढीको भेलले तराईका धेरै वस्तीलाई जलमग्न बनायो । यस्ता कारुणिक दृश्य देख्दा कुन मान्छेको मन रुँदैन होला? यस्तो दर्दनाक पीडा सहेर पनि आखिर मान्छेहरूलाई बाँच्नैपर्छ । जस्तोसुकै पीडा वा दर्द सहेरै किन नहोस्, जीवन चलाउनैपर्छ ।
नेपालका अधिकांश तल्लो तप्काका जनता वर्षौंदेखि गरिबीको चपेटामा छट्पटाइरहेका छन् । उनीहरूको जीवनको एउटै लक्ष्य हुन्छ– दुई छाक कसरी टार्ने भन्ने । जीवन र संसार प्रविधि र विभिन्न साधन स्रोतले जतिसुकै सम्पन्न भए पनि नेपालका अधिकांश मानिसहरू आफ्नो दुई छाकको जोहोमा जीवन समर्पित गरेर बिताउन बाध्य छन् ।
यही आजको सत्य हो । यसलाई उल्टाउँछु भन्ने धेरै कथित ‘महान्’ नेताहरू आए गए तर त्यो तल्लो तप्काको जीवनमा कुनै परिवर्तन आएन । अहिले पनि उस्तै छन् तिनका दुःख, पीडा र पीडा ।
यदि कसैले जीवनको ‘असली दर्द’ हेर्न चाहन्छ भने एउटा ऋण लागेको गरिबको घरमा हेरे पुग्छ । त्यहाँ मानिसहरू होइन जीवित लाशहरू मात्र रहेका हुन्छन् । तिनको जीवनमा कुनै रस हुँदैन कुनै लक्ष्य हुँदैन । तिनीहरू केवल मृत्यु पर्खेका ज्यूँदा लाशजस्ता भएर बाँचिरहेका हुन्छन् । यस्ता गरिबहरूको नेपालमा कमी छैन । चाहे स्वीजरल्याण्ड बनाउँछु भन्नेहरू आउन् या सिंगापुर बनाउँछु भन्नेहरू आउन्, गरिब घरको आवाज बन्न सक्ने नेताको हाम्रो देशमा सधैं कमी रह्यो । अधिकांश राजाहरू, राणाहरू र अहिले नेताहरूले मिलेर यो सुन्दर देशको साधनश्रोत दोहोन गर्नमैँ व्यस्त रहे ।
खैर, अहिले त्यतातिर चर्चा गर्नु अनुचित रहला तर यस दुःखद् विपदको सबै मिलेर सामना गर्नुपर्ने स्थिति आएको छ । देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरू एकजुट भएर पीडित नेपालीको उद्दारको लागि खट्नुपर्ने स्थिति आएको छ । मन हुनेले मनबाट, धन हुनेले धनबाट र कर्म गर्न सक्नेले पीडित क्षेत्रमै गएर सहयोग र उद्दारका लागि खटिनुपर्ने स्थिति आएको छ । यस्तो विपत्तिको वेलामा नेपालीहरू संसारको जुनसुकै कुनामा रहे पनि एकजुट भएर लाग्छन् भन्ने प्रमाणित भैसकेको छ तथापि राहत संकलत, व्यवस्थापन तथा वितरण कार्यलाई सक्दो वैज्ञानिक तथा आधुनिक तरिकाबाट पीडित पक्षको हातमा पुर्याउनुपर्ने टड्कारो आवश्यकता छ । यसतर्फ सबै नेपाली र अस्ट्रेलियाभर रहेका सम्पूर्ण सहयोगी संस्थाहरू सजग भएर लाग्नुपर्छ ।
अस्ट्रेलियाभर छरिएर रहेका विभिन्न सहयोगी संस्थाहरू यस कार्यमा अघि बढेका पनि छन् । विशेष गरि नेपालीमा रहेका नेपालीको हितका लागि खोलिएका संस्थाहरूले यो विपद्को वेलामा आफ्नो दरिलो प्रस्तुती पेश गर्नुपर्ने बेला आएको छ । राहत संकलन गर्नु र वितरण गर्नु प्रमुख कार्य भए पनि कुनै पनि संस्थाले यस अभियानलाई पारदर्शी र जवाफदेही बनाएर पेश गर्न सक्नुपर्छ । यदि त्यसो गरिएन भने संस्थाको नियत र प्रभावकारिताबारे कुनै पनि वेला प्रश्न गरिनुपर्छ र गरिनेछ ।
एनआरएनए अस्ट्रेलियाले भूकम्पका वेलामा प्रभावकारी रूपमा राहतको काम गरेको छ भन्ने कुरामा दुईमत छैन । तर पारदर्शिता तथा जवाफदेहिताको बारेमा भने वेलावेलामा प्रश्नचिह्न उठ्दै आएको छ । आजको प्रविधियुक्त जमानामा यदि कुनै पनि संस्थाले पारदर्शी रूपमा राहत संकलन र वितरण गर्न सकिन्न भन्छ भने त्यो संस्थाको नियतमाथि अवश्य पनि शंका गर्नुपर्ने हुन्छ । फेसबुकको वालबाट मात्र नभएर आफ्नो आधिकारिक वेबसाइटमा कति रकम संकलन भयो, ककस्ले सहयोग प्रदान गरे, त्यसबाट कहाँकहाँ कति रकम खर्च भयो र कति पैसा बाँकी वा अझ आवश्यक छ भनेर सजिलैसँग राख्न सकिन्छ ।
यसले गर्दा संस्थाको आफ्ना सहयोगी सदस्यहरूप्रतिको जवाफदेहिता पनि झल्किन्छ । तर यदि त्यति कुरा राख्न पनि कुनै संस्था हिचकिचाउँछ वा खालि ओठे जवाफ दिएर तर्किन खोज्छ भने त्यस्ता संस्थालाई सबै मिलेर राहत वितरण र संकलन गर्नमा निरुत्साहित गर्नुपर्छ ।
भूकम्प गएको वेलामा धेरै संस्थाहरूले राहत संकलन तथा वितरणको कार्यक्रम गरे पनि पारदर्शिताको सवालमा भने धेरै सहयोगी मनहरूले ती संस्थाहरू चुकेको महसुस गरेका थिए । फेसबुकमा राहत वितरणका मात्र तस्वीरहरू राखिने तथा आर्थिक हिसाबकिताका मामिलामा मुन्टो लुकाउने प्रवृत्ति विगतमा कतैकतै देखिएको धेरैले महसुस गरेका थिए ।
यस्ता गल्तीलाई दोहोरिन नदिनका लागि प्रविधिको भरपुर मद्दत लिएर पारदर्शी र जवाफदेही अभियान सबै संस्थाले अगाडि बढाएमा यस राहत संकलन तथा वितरण कार्यक्रमले धेरै पीडितहरूको मनलाई मल्हम लगाउने मात्र होइन सहयोगी मनहरूको प्रश्नको जवाफ मिल्ने तथा भविष्यमा हुन सक्ने यस्ता खाले अभियानहरूलाई पनि सहयोग पु¥याउने देखिन्छ । त्यसैले यसतर्फ सम्बन्धित सबैजना सचेत हुनु जरुरी छ ।
यो दुःखको घडीमा सहयोग गर्न खोज्ने मनहरूको कमी छैन तर आफूले दिएको सानोभन्दा सानो सहयोग पनि पीडित पक्षको हातमा पुग्छ वा पुग्दैन भन्ने चासो सबै सहयोग गर्न चाहनेहरूमा देखिएको छ । त्यसैले हरेक नेपालीको यो संवेदनशिल प्रश्नलाई यहाँका सहयोगी संघ÷संस्थाले अवश्य सम्बोधन गर्नेछन् र यो दुःखको घडीमा मल्हम लगाउन सानै रूपमा भए पनि सहयोगी हातहरू अगाडि बढाउनेछन् भन्ने आशा गरौं ।
अनि, सक्ने जति सबैले, तन, मन वा धनले जति सकिन्छ पीडितलाई सहयोग गरौँ । यो मानवताको धर्म पनि हो ।