नेपालको मेडिकल क्षेत्रको बेथितिका सुधारको माग राख्दै पटक पटक पटक अनसन बस्दै आएका डा गोविन्द केसीको अभियानमा समर्थन, सहयोग र ऐक्यबद्धताका लागि सिड्नीमा शनिबार एक कार्यक्रमको आयोजना गरियो।
सिड्नीको एशफिल्ड पार्कमा आयोजना गरिएको उक्त कार्यक्रममा एनआरएन तथा बिभिन्न संघ संस्थाका प्रतिनिधि र समाजिक अभियन्ताहरुको उपस्थिति रहेको थियो। डा.गोविन्द केसीको माग सरकारले तुरून्तै पुरा गर्नुपर्ने र स्वास्थ सम्वन्धी बेथिति हटाउन केसीले बढाएको अभियानमा प्रवासी नेपालीको पनि पूर्ण समर्थन रहेको कार्यक्रममका बक्ताहरुले बताएका छन्।
अभियानका अभियानकर्ताहरू डा. घनश्याम चापागाईँ, डिला खरेल, डा भुवन कँडेल र सुधिरा शाहले अस्ट्रेलियामा प्रारम्भदेखिनै डा गोविन्द केसीको समर्थनमा अभियान थालेका हुन्।
‘डा. केसीको मागहरु जायज छन् मेडिकल क्षेत्रको बिकृती हटाउन उनले थालेको यो अभियान निस्वार्थ छन्,त्यसैले हामीले यो अभियानमा साथ दिएका हौ,’ यस कार्यक्रमका अभियानकर्ता मध्येका एक सुधिरा शाहले बताइन्।
सामाजिक अभियन्ताहरुको आब्हानमा स्वतस्फूर्त सम्पन्न कार्यक्रममा उपस्थित वक्ताहरूले राज्यको लापरबाहीले मेडिकल क्षेत्रमा देखिएको बिकृती र बिसंगती हटाउन डा केसीको अभियानलाई सम्पूर्ण नेपालीले साथ दिनुपर्ने बताए।
यस अगाडिका डा. केसीका अभियानमा अस्ट्रेलियामा ऐक्यबद्धता कार्यक्रमहरु सम्पन्न भएका थिए। पटक पटक आश्वासन मात्र दिने तर माग पुरा नगर्ने सरकारको मनसाय प्रति समेत खबरदारी गरिने यो कार्यक्रमको आयोजना गरिएको एनआरएनका पूर्वकोषाध्यक्ष तथा सामाजिक अभियन्ता डिला खरेलले बताए ।
कार्यक्रममा एनआरएनका पुर्व उपाध्यक्ष दिनेश पोखरेलले मुलुकको बिकृति र बिसंगतीविरुद्ध लडने डा गोबिन्द केसी जस्ता नायकको समर्थनमा उभिन पाउनु पनि प्रवासी नेपालीको गर्वको विषय बनेको बताए। ‘हामी जहा रहे पनि उहाको निस्वार्थ अभियानको समर्थनमा उभिनेछौ’, पोखरेलले भने ।