मुलुकको समृद्धिका लागि राष्ट्रिय आविष्कार केन्द्र स्थापनाको अभियानमा रहेका महावीर पुनलाई सिड्नीमा भएको अन्तर्क्रिया कार्यक्रमबाट पन्ध्र हजार डलर सहयोग हुने भएको छ ।
अस्ट्रेलिया आइपुगेका महावीर पुनलाई गैरआवासीय संघ अस्ट्रेलियाको आयोजना तथा न्यु साउथवेल्स राज्य समितिको संयोजनमा भएको कार्यक्रममा सहयोगीहरुले सकेको सहयोग गर्ने बचनबद्धता प्रकट गरेका हुन्। एनआरएन अस्ट्रेलियाको निर्वाचनपछिको पहिलो कार्यक्रममा पुनको अभियानलाई सहयोग जुटाउन पाउनु आफ्नो भाग्य भएको उपाध्यक्ष तथा एनएसडब्लुका संयोजक नन्द गुरुङले बताए।
पैसा नभएको मानिस हुँदैन र अर्थतन्त्र बलियो नभएको देश विकासमा अगाडि हिँड्न सक्दैन भन्दै पुनले आफ्नो अबको लक्ष्य भनेको युवा शक्तिलाई दक्षता अभिबृद्धी गरी अगाडि बढाउनु रहेको बताए।
म्याग्दीको नागीमा जन्मेका पुन यतिखेर आविष्कार केन्द्रको स्थापना गरेर मुलुकको विकासमा योगदान दिने अभियानमा छन्। बैज्ञानिक, सामाजिक उद्यमि अनि समाजसेवी पुन त्यस्ता पात्र हुन्, जसले आफ्नै प्रयासमा नेपाली समाजलाई केही नयाँ योगदान दिने प्रयत्न गरिरहेका छन्। संसारकै उच्च र विकट इलाकालाई इन्टरनेटसँग जोड्ने पुनको काम देश विदेशमा समेत चर्चित छ। सोही कारण एसियाको नोबेल पुरस्कारका रुपमा चिनिने म्यागासेसे पुरस्कार पाएका थिए।
"नयाँ बन्न सोचाइ, विचार, दृष्टिकोण, आकांक्षा, सपना, व्यवहार, आचरण, कार्यशैली, भिजन सबै नयाँ ल्याउन सक्नु पर्छ", पुनले भने, "मेरो आवाज सरकारले नसुने पनि संसारभर छरिएर रहेका नेपालीले महसुस गर्ने विश्वास मैले लिएको छु।"
कार्यक्रममा एनएसडब्लुका महावाणिज्यदूत दीपक खड्का एनआरएनका पुर्व अध्यक्ष गणेश केसी, ध्रुब सुवेदी, एक्काका अध्यक्ष निरज श्रेष्ठ, समाजिक अगुवाहरु दिनेश पोखरेल र बुद्धी डल्लाकोटी लगायतले महाविरको अभियानमा सबैले सहयोग गर्नुपर्ने बताए।
हाल उनी अस्ट्रेलियाको क्यानबेरा, एडिलेड, ब्रिसबेन लगायतका शहरहरुमा प्रवासी नेपालीमाझ आफ्नो अभियान अगाडि बढाउने क्रममा रहेका छन्।