सिड्नी मेट्रो नवाज कप फुटबल प्रतियोगिताको उपाधि दि राइजिङ गोर्खाज क्लबले जितेको छ। निकै प्रतिस्पर्धात्मक खेलमा फेवा फुटबल क्लबलाई १–० को अन्तरले हराउँदै राइट एन्ड एशोसियट्स राइजिङ गोर्खाजले उपाधि चुमेको हो।
जितका लागि निर्णायक गोल इनोज न्यौपानेले मध्यान्तर अगाडि गरेका थिए। स्ट्राइकर पारसले फेवाको डी बक्ससम्म लगेको बल फेवाका रक्षापंक्तिका खेलाडीले क्लीयर गर्न नसक्दा इनोजले सजिलै बललाई जाली चुमाएका थिए।
मध्यान्तर अगाडि गोल गर्ने आधा दर्जन अवसर पाएको दि राइजिङ गोर्खाजेले दोस्रो हाफमा भने फेवाको दबाब झेल्नु पर्यो। फस्ट हाफमा दुई वटा प्रहार पोष्टमा ठोक्किनु र केही राम्रा मौका सदुपयोग हुन नसक्दा राइजिङले उपाधिको लागि मिहिनेत गर्नु परेको थियो। आफ्ना तीन नियमित खेलाडी बिना नै मैदानमा उत्रेको राइजिङले सुमिन भट्टराइको कप्तानीमा उत्कृष्ट खेल खेले पनि फेवाका गोलरक्षक गोकुल छन्त्यालले उनीहरुको प्रयासलाई असफल बनाएका थिए।
दोस्रो हाफमा घाइते स्ट्राइकर सुनिल भण्डारी मैदानमा उत्रे पनि राइजिङले जितको अन्तर बढाउन सकेन।
दोस्रो हाफमा फेवाले गोल गर्ने अवसर प्राप्त नगरेको होइन तर बिपक्षीको डी बक्सभित्र आपसी तालमेल हुन नसक्दा फेवाले खेल बराबरी गर्ने अवसर चुकाएको थियो।
"हामीले पहिलो हाफमा राम्रो फुटबल खेल्यौ, राम्रा केही अवसरहरु चुक्दा गोलको अन्तर बढ्न सकेन। जसको दबाब हामीले दोस्रो हाफमा खेप्नु पर्यो। केही नियमित खेलाडी घाइते हुनु हाम्रो लागि कठिन बनेको थियो तर अरु खेलाडीले निकै राम्रो फुटबल खेले। जित्नु हाम्रो उद्देश्य थियो, त्यो पुरा भएको छ।", दि राइजिङ गोर्खाजका व्यवस्थापक जोन सिटौलाले बताए।
यता प्रतियोगिताका विजेता क्लबका प्रायोजक राइट एन्ड एशोसियट्सका निर्देशक बालचन्द्र भट्टराइले अस्ट्रेलियामा नेपाली समुदायबीच आपसी भाइचारा बढाउन यस्ता प्रतियोगिताहरु महत्त्वपुर्ण रहने बताए। अर्का निर्देशक परशुराम अधिकारीले भने प्रतियोगितामा हार र जित भन्दा पनि अस्ट्रेलियाका युवा समुदायलाई खेलको माध्यमवाट एकताको सूत्रमा बाध्नु नवाजको महत्वपुर्ण पाटो भएको बताए।
प्रतियोगिताका म्यान अफ दि सिरिज फेवा फुटबल क्लबका अभिषेक गुरुङ, म्यान अफ दि म्याच राइजिङ गोर्खाजका कप्तान सुमिन कुमार भट्टराई, बेष्ट गोलरक्षक टीआरजीका समिप गौचन घोषित भए। सेन्ट जोर्ज फ्रेन्ड्स सिम्रीक क्लबका आशिष श्रेष्ठ १० गोल गरेर सर्वाधिक गोलकर्ता बने। वेस्ट डिफेन्डर पनि सोही क्लबका अनिष माथेमा चुनिए।
करिब तीन महिना लामो प्रतियोगिताको भेट्रानतर्फको उपाधि भने सेन्ट जोर्ज नेप्लीज क्लबले जितेको छ। उसले टाइब्रेकरमा प्रतिस्पर्धी हिमालयन युथ क्लबलाई सडेन डेथमा हराएको थियो। सडेन डेथमा भेट्रान फुटबलर राजु मानन्धरले सेन्ट जोर्जका लागि निर्णायक पेनाल्टी गोल गरेका थिए।
प्रतियोगिताका विजेताहरुलाई अस्ट्रेलियन नेप्लीज वेलफेयरका अध्यक्ष विनोद शर्मा, पर्यटनदूत बद्री अर्याल, एनआरएनका उपाध्यक्ष नन्द गुरुङ, पूर्वउपाध्यक्ष दिनेश पोखरेल, सामाजिक अभियन्ता नारायण प्रधान, एनआरएनका सचिव देव गुरुङ, प्रतियोगिताका प्राविधिक निर्देशक राजु मानन्धर, सेन्टजोर्ज बैंकका विश्वास भट्टराई, सिड्नी मेट्रो कलेजकी सुजाता चालिसे लगायतले विजेता खेलाडी तथा टिमलाई ट्रफी तथा प्रमाणपत्र वितरण गरेका थिए।
प्रतियोगितामा अस्ट्रेलियामा रहेका १७ वटा फुटबल क्लबले सहभागिता जनाएको कुरा अध्यक्ष विनोद शर्माले बताए।