भर्खरै मात्र अस्ट्रेलियाका लागि नेपाली राजदूतमा नियुक्त भएकी हुन लक्की शेर्पा। एनजिओ र राजनीतिको अनुभवले खारिएकी लक्की कुटनीतिक ब्यवहारकी पनि ध्वनी देखिएकी छिन्। नेकपा एमाले हुँदै माओवादी राजनीतिमा छलाङ मारेकी लक्की अबका केही वर्ष नेपालको कुतनीतिक मर्यादा भित्र अस्ट्रेलियामा ब्यस्त रहनेछिन्।
सपथ लिएको केही सातामै राजदूत शेर्पाले आफ्नो गतिविधिलाई तिब्रता दिइसकेकी छन्। अस्ट्रेलियामा रहेका सबैखाले नेपाली समाज र तहतप्कासँग मिलेर आफू अगाडि बढ्ने बताउँदै शेर्पाले प्रारम्भमै सकारात्मक संकेत देखाइसकेकी छिन्। औपचारिक कार्यक्रममा लक्कीले ज्ञानका खानी र शिपका शिल्पीलाई देश फर्काउन सके आफ्नो कार्यकाल सफल हुने ठहर गरेकी छिन्। शिक्षाका ज्योतिहरू र सिपका मोतिहरू यतै बस्ने हो भने देशको विकास कसरी हुन्छ, यहाँ उच्च अध्यनमा आएका नेपालीलाई देशको विकासमा फर्काउन सक्यौ भने त्यो नै सबैभन्दा ठूलो सम्पत्ति हुनेछ। उनको पछिल्ला वक्तब्यमा यस्तै खाले तर्कले ताली पाएका छन्।
लक्कीको यस्ता गहन विषयको उठान र कुटनीतिक यात्रालाई महत्वपूर्ण निर्णयका रूपमा पनि हेरिएको छ। ओहदाको प्रमाणपत्र लिन जाँदा शेर्पा पहिरनमा ठाट्टीएकी लक्कीले आफ्नो पहिचानलाई पनि कुटनीतिक क्षेत्रमा स्थापित गर्ने कामसमेत गरेकी छिन्। उनी नेपाली मात्र होइन नेपाल देशकी हिमाली भेगकी शेर्पाकी छोरी हुँ भनेरसमेत चिनाउन पछि पारिनन्। उनले प्राथमिकता दुई देश बिचको कुटनीतिक सम्बन्ध सँगसँग स्थानीय नेपाली समुदायलाई नेपालको विकासमा लगाउन केन्द्रीत रहने देखिन्छ।
यहाँका आदीवासी जनजाति मञ्चले गरेको सम्मानमा समेत राजदूत शेर्पा सहभागि भएर एउटा जनजाति चेलीको कुटनीतिक यात्राको आभास दिलाइन्।
लक्कीले एनआरएन अस्ट्रेलियाको निर्वाचन र ओहदाको कार्यक्रममा समेत सक्रिय सहभागिता जनाएर नेपाली समाजसँगको सामिप्यता जोडिसकेकी छिन्। राजनीतिक मेलो जोड्न शेर्पाले जनप्रगतीशिल मन्च अस्ट्रेलियाको भेटघाट तथा स्वागत पनि भ्याइसकेकी छिन्। उनी चतुर र जानकार पनि देखिन्छीन्। प्राविधिक र दक्ष नेपाली बिच उनको तर्क र प्रस्तुती दमदार रहने गर्छ।
उनी आएको केहि सातामै अस्ट्रेलिया र नेपालबीच दुई पक्षीय परामर्श संयन्त्र निर्माण सम्वन्धी सम्झौतामा हस्ताक्षर समेत भएको छ।
समग्रमा नेपाली राजदूतका रुपमा लक्कीको आगमनले हामी अस्ट्रेलियामा रहेका नेपालीमा फरक अनुभूति र परिवर्तनको पनि संकेत पनि गरेको छ। यो हाम्रो समाजको लागि ‘लक’ पनि हुन सक्छ।
भिसा र पासपोर्ट अनि मन्जुरीनामामै सिमित छन् हाम्रा कयैन राजदूतावासहरू। अस्ट्रेलियन दूतावासले पनि स्वदेशको उन्नती र बिदेशका समस्याका बारेमा हात पाउ चलाएको अझसम्म कुनै तथ्य पाइदैन। दूतावासले यहाँको नेपाली समाजलाई मुलुकसँग जोड्ने कुनै कार्यक्रम गरेको पनि थाहा छैन। अस्ट्रेलियामा विद्यार्थी पठाउने चौथो ठूलो देशका रुपमा रहे पनि अझसम्म राजदूतावासले विद्यार्थीको विषयमा चुँ सम्म बोलेको छैन।
विद्यार्थीका हक हित दूतावासको चासो भित्र पर्नु जरूरी छ। यहाँको स्थानीय प्रवासी समाज भन्दा पहिला उच्च अध्यनमा आएका नेपालीको समस्या टड्कारो बन्न थालेको छ। हरेक महिना एक न एक काण्डमा नेपाली विद्यार्थी फसेको समाचार हामीबिच लुकेको छैन। लागूपर्दाथ र जुवाका खालमा नेपाली विलार्थीले आफ्नो भविश्य बिगारेका कयैन दृष्टान्त पनि खुल्न थालेका छन।
यस्तो परिवेशमा लक्कीको आगमन अस्ट्रेलियाका नेपालीका लागि ‘लक्की’ बन्न नयाँ खाले कार्यक्रमको टड्कारो आवश्यकता देखिएको छ।