सामान्य चिनजानका आधारमा भेट्न बोलाएर अष्ट्रेलियन युवतीलाई फेसबकमा म्यासेज पठाउँदै 'भेटन नआए सिड्नीको ओपेरा हाउसमा आइएसआइएसद्वारा आक्रमण गराउने धम्की दिने नेपाली विद्यार्थी पक्राउ परेका छन्।
गएको फेब्रुअरी महिनाका अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटीमा अध्ययनका लागि आएका काठमाडौंका २० वर्षिय सन्देश बिकलाई सिड्नी प्रहरीले पक्राउ गरेको हो।
आफ्नो कलेजमा भेटीएकी २१ वर्षिया युवतीलाई इन्सटाग्राममार्फत सम्पर्क बढाउँदै लागेका बिकले फेसबुकमासमेत सम्पर्क गर्न खोजेका थिए। सामान्य परिचयपछि सिड्नीको ओपेरा हाउसमा भिभिद उत्सवमा भेट्न आउन आग्रह गर्दै निरन्तर म्यासेज पठाइरहेका बिकलाई युवतीले भेट्न इन्कार गरेको प्रहरीले बताएको छ। 'भेटन नआए सिड्नीको सोही उत्सवका दिन आइएस आइएसद्वारा बम आक्रमण गराउने' धम्की दिएको भन्दै युवतीले स्थानीय प्रहरीलाई उजुरी गरेपछि उनलाई पक्राउ गरिएको थियो।
बिकले प्रहरी समक्ष आफूले यस्तो सन्देश पठाएको कबुल गर्दै 'जोकको रुपमा मात्र यस्तो गरेको' बताएका छन्।
सिड्नीको डाउनिङ सेन्ट्रल लोकल आदालतले बिकलाई ६ महिनाको आचरण सुधार सर्तमा धरौटीसहित रिहा गरेको स्थानिय समाचार माध्यमहरुले जनाएका छन्। बिकका वकिलले भने बिकको आइएस आइएसँग कुनै सम्वन्ध नरहेको बताएका छन्।