मलाई थाह छैन म आज यो किन लेख्दैछु। मेरा करिब ३० वर्षे जिन्दगीमा घटेका कैयौं घटनामध्येको सबैभन्दा भयावह घटना म आज लेख्दैछु।
धेरै बिर्सन कोसिस गरेँ, अहँ मन मस्तिष्कबाट कहिल्यै हटेन, सायद कहिल्यै हट्दैन पनि। बिर्सन भरमग्दुर प्रयास गर्छू, मरिगए सक्दिनँ।
हरेक पाइलामा याद आउँछ, मैले फेर्ने हरेक सासमा झलझली सम्झन्छु, मुटुमा धड्किने हरेक धड्कनमा त्यहीँ कुरा ढुकढुक भइरहन्छ। मनमा गुम्सिएका कुरा अक्षरमा उतारियो भने मनलाई केही हल्का हुन्छ भन्ने अरूबाट सुनेको थिएँ, ल्यापटप अगाडि राखेर आज मन 'हल्का' हुने असफल प्रयास गर्दैछु।
मेरो विवाह भएको करिब ५ वर्ष हुन लाग्यो। प्रेम विवाह। अझ भनौं प्रेमपछिको मागी विवाह।
दुई वर्ष कसैलाई थाहै नदिई प्रेम गरियो, अनि तेस्रो वर्षमा समाजसँग जसोतसो लुकाएको प्रेमलाई सार्थतका दिइयो तर, परिवारको रजामन्दीमा।
म कम्युनिष्ट पृष्ठभूमिमा हुर्किएको मान्छे। मेरो शरीरमा बग्ने रगतमा सन् १८४८ मा जर्मनीका दार्शनिक कार्ल मार्क्सले लेखेको कम्युनिष्ट घोषणापत्रका हरफसँगै बगेको छ। सायद त्यसैको असर हुनुपर्छ, विवाह भनेको जनवादी हुनुपर्छ भन्ने मेरो माग थियो।
तर श्रीमतीको, आधुनिक समाजमा झकिझकाउका साथ गरिने खालको हुनुपर्छ भन्ने मान्यता।
विपरित वैचारिक धार बोकेका हामी, दुबै पक्षको वर्गसंघर्षलाई न्याय गर्दै मन्दिरमा सिन्दुर लगाएर विवाह गर्ने सहमति भयो। मेरो दृष्टिकोणमा हाम्रो विवाह भयंकर भयो भने उनको नजरमा सामान्य।
विवाह जसरीसुकै होस, तर हामी कहिल्यै नछुट्टिने सामाजिक घेरामा बाँधियौं, सधैंका लागि। हाम्रो जीवन एक अर्कामा पूर्णता भएको पाउथ्यौं हामीले। एक अर्काले रोजेको जीवनसाथी पाउँदा हामी असाध्यै खुशी थियौं।
विवाह भएपछिको अर्को दिनमा नै मानव जन्मको प्रक्रियामा हामीले वैधानितका पाएको महसुस परिवार तथा समाजले गरायो।
‘अर्को दशैंमा तीन जनालाई टिका जमरा लाउन पाउँ,' विवाहपछि मनाएको पहिलो दशैंमा पाएको आशिर्वाद थियो यो।
परिवार तथा समाजले भनेको कुरालाई सुनेको नसुनेझैं गर्थ्यौं हामी।
मातापिता बन्ने रहर हामीमा नभएको त होइन, तर पहिला 'आफू' बनेपछि मात्र भनेर आफैंलाई मनमनै चित्त बुझाउँथ्यौं।
'आफू' बन्ने सिलसिलामा आफ्नो जन्मभूमि त्यागेर अष्ट्रेलिया आयौं। नयाँ ठाउँ, नयाँ परिवेशमा घुलमिल हुन हामीलाई धेरै समय लाग्यो।
जसोतसो काम सुरु भयो, केही वर्षमा अष्ट्रेलिया आउँदा लागेको ऋण तिरियो। ‘आफू’ बन्ने नबन्ने अनश्चित प्रकृयामा जीवनले एकपछि अर्को पाइला टेक्दै थियो।
'बुढा म पिरियड हुनुपर्ने तीन दिन भयो अझै भएको छैन,' अचानक बुढीले एकाबिहानै वाथरूमबाट चिच्याई।
अघिल्लो दिनको कामले थाकेर शिथिल भएको म, उनले भनेको सुनेको नसुनेझैं गरी कोल्टो फर्केर सुतेँ।
करिब आधा घण्टापछि वाथरूमतिरबाट आएको सुक्क सुक्क आवाजले एक्कासी व्युझिएँ। बुढी घोप्टो परेर आँखाभरी आँसु लिएर रूँदै थिइ।
'के भयो,' निद्राको तालमा मैले सोधेँ, उसले केही नभनीकन मलाई प्रेग्नेन्सी टेस्ट किट देखाई। किटमा दुई वटा धर्का थिए।
मतलब म बुबा बन्दै छु भन्ने कुरा ती दुई वटा धर्काले अपुष्ट जानकारी दियो।
थोरै डर, धेरै खुशी अनि अझै धेरै उत्सुकताकासाथ बुढीलाई च्याप्प अँगालो हालेँ।
यति दुई वटा धर्काले म बाट हामी हुँदै आँफू बन्ने प्रकृयामा विदेशी भूमिमा आएको हामीलाई अझ ठूलो जिम्मेवारीवोध भएको महसुस भयो। अझ अर्को वाक्यमा भन्नुपर्दा, एउटा किटमा देखिएको दुई वटा धर्काले हाम्रो जीवनको तात्विक अर्थलाई परिभाषा गर्ने तरिका नितान्त बदलिदियो।
किटमा देखिएको दुई वटा धर्काले मात्र हामी बाबुआमा बन्ने कुरा पूर्ण रूपमा निश्चित थिएन। अर्को दिन रगत जाँच गर्न गयौं, केही दिनमै नतिजा आयो, पोजिटिभ। अब यकिन भयो साँच्चिकै हामी बुवा आमा बन्दैछौं, पहिलोपटक।
अब बल्ल हामी दुबैलाई महसुस भयो, विवाह गर्ने वित्तिकै समाजले र परिवारले मानव जन्मको प्रकृयामा हामीलाई वैधानिकता दिएको क्षण।
विवाह गरेको तीन वर्षसम्म पनि हामी दुईबाट तीन नहुँदा मलाई समाजले भिराएको 'नामर्द' को विशेषण गलत भएकोप्रति गर्वले होला सायद, छाति एकदम चौडा भयो।
बिना कुनै योजना, न कुनै तयारी, हामी दुबैजना बुवाआमा बन्ने जस्तो गहन जिम्मेवारी एक्कासी पाएका हामीले सम्पूर्ण स्वास्थ्यगत प्रकृया पुरा गर्दै नयाँ सन्तानको भौतिक आगमनको व्यग्र प्रतिक्षामा थियौं।
दिन बित्दै गयो, महिना बित्दै गयो। जुन १९, अर्थात म जन्मिएको दिन छोराको रूपमा नयाँ सदस्यको आगमन हुने डाक्टरले बताए। म जन्मिएकै दिन मेरो आफ्नै सन्तानको जन्म हुने कुराले म व्यक्तिगत रूपमा अझै खुशी भएँ।
सबै चेक गरियो। बच्चाको बनावट, बच्चाको स्वास्थ्य, बच्चाको पेटभित्रको अवस्थितिका बारेमा सबै राम्रो भएको डाक्टरहरुले बताए।
नेपालमा रहनुभएका परिवारका अन्य सदस्यसँग कुरा गर्दा पनि हामी बाउछोरा एकैदिन जन्मिने भनेर जिस्किन्थें। हामी सबैमा खुशीको सीमा थिएन।
प्रेग्नेन्सी फोटो सुट गराएर, बेबी सावर गरेर विभिन्न समाजिक सञ्जालमार्फत परिचित/अपरिचति मित्रलाई समेत हामी दुईबाट तीन बन्ने जानकारी दिइसकेका थियौं।
समय बित्दै गयो। डाक्टरले हामीलाई औपचारिक रूपमा बुवा आमा बन्ने भनेको दिन पनि आयो।
मनमा अनेक कुरा खेलाउँदै नयाँ सदस्यसँगै मेरो आफ्नो जन्मदिन मनाउने खुशीका साथ हामी हस्पिटल गयौं। यतिबेलासम्म श्रीमतिलाई प्रसव पीडा भएको थिएन।
जुन १९ मा नयाँ सन्तानको आगमन हुने बताएका डाक्टरले केही दिन पछाडि धकेलिने भयो भन्दा मनमा कताकता चस्स पोल्यो। तापनि एक दुई दिनको कुरा त होभन्दै हामीले आँफूलाई चित्त बुझायौं।
एक दुई दिन भन्दै यसैगरी एक हप्ता बित्यो। जन्मिने दिन तोकिएको एक हप्तापछि जाँदा पनि आमा तयार नहुँदै बच्चा जन्मिन गाह्रो हुन्छ भन्दै फर्काइयो। अर्को डेट लिएर हामी घर आयौं।
अर्को पटक पनि डाक्टरले दिएको डेटमै हामी हस्पिटल गयौं। गर्भ बसेको ४१ हप्ता भइसकेको थियो। बढिमा ४० हप्तासम्ममा बच्चा जन्सिक्नुपर्ने हो। पहिलो पटकमा एकहप्ता तलमाथि हुनसक्छ भन्ने कुरालाई हामीले सामान्य ढंगले लियौं।
अस्ट्रेलिया जस्तो विकसित ठाउँमा डाक्टर स्वास्थ्यजस्तो कुरामा अलि बढि नै सचेत होलान् भन्ने कुरामा पूर्ण विश्वास थियो।
नयाँ सन्तानलाई यो दुनियाँमा स्वागत गर्ने कुरामा हामीमा छुट्टै खुशी थियो। हामी दुबैजना पहिलो सन्तानको व्यग्र प्रतीक्षामा थियौं। पालो आएपछि डाक्टरले बोलायो अनि चेक गर्यो।
'बच्चा पेटमा कतिबेलासम्म चलेको ख्याल गरेका थियौं,' भावुक हुँदै डाक्टरले श्रीमतिलाई सोध्यो। डाक्टरको प्रश्नले खङ्यांङ्ग भएका हामी एक अर्कालाई हेर्यौं, 'अघि भर्खरसम्म त चलेको जस्तो महसुस भएको थियो,' श्रीमतिले डराउँदै जवाफ दिइन्।
मनमा कता कता डर लाग्यो, कतै केही अप्रिय खबर त सुन्न पर्ने होइन ?
'के भयो,' डाक्टरलाई सोधेँ।
डाक्टरले हस्याँङफस्याँङ हुँदै पेटभित्रको बच्चाको हर्टबिट चेक गर्यो। हर्टबिट चेक गरेको डाक्टरले अर्को डाक्टरलाई बोलायो। सायद ठूलै डाक्टर होला ऊ। उसले पनि चेक गर्यो अनि एकछिन पछि मधुरो स्वरमा भन्यो, 'वी आर सरी, द बेबी इज नो मोर।'
कुनै फिल्मी कथा जस्तो लाग्ने डाक्टरको यो वाक्यले एक्कासी टाउकोमा कसैले ठूलो ढुंगाले बजारे जस्तो भान भयो, मुटुमा कुनै धारिलो हतियारले कोपे जस्तो भयो।
श्रीमति धरधरी रून थालिन्, यता मलाई के गरौं र कसो गरौं भयो। श्रीमतिको आँखामा भेलसरी आँशु बग्न थाल्यो, मेरो शरीरमा पसिना।
नातिलाई काखमा बोकेर घर फर्कने रहरका साथ सँगै हस्पिटल जानुभएको मेरो सासुआमाको त्यो सपनामा तुषारो पर्ला भन्ने कसले सोचेको थियो र ?
एकछिन त केही सोच्नै सकिनँ। केही उपायले पेटभित्रको सन्तान बचाउन सकिन्छ कि भनेर हार गुहार गर्यौं, अहँ केही सीप लागेन। छोरो खेलाउँदै घर जाने सपना त्यहीँ तुहिएर गयो।
एकछिन अघिसम्म लात्ती हानेको पेटभित्रको बच्चा कतिबेला ढुंगा बनेछ पत्तै भएन।
मनमा पीडा लुकाउँदै आमासँग गयौं। हाम्रो अनुहारमा झल्केको भावले होला आमालाई अप्रिय घटना भएको थाहा पाउन समय लागेन। हामी दुबैलाई एक्कासी अँगालो हालेर रूनु भयो। हामी तीन जना सँगै रोयौं।
हामीसँग अब चित्त बुझाउने भन्दा अरू विकल्प थिएन। जे जस्तो भयो भयो, अप्रेसन गरेर भए पनि जीवन नभएको बच्चा छिटो निकालिदिन आग्रह गर्यौं। तर डाक्टरले अप्रेसनबाट नभई नर्मल डेलिभरिबाट बच्चा जन्माउने सल्लाह दिए।
श्वास नभएको सन्तानलाई पेटभित्र लिएर तीन दिनसम्म नर्मल डेलिभरि गराउने भन्दै हस्पिटल बस्यौं। तर अहँ, जीवन भएको बच्चाले पो भित्रबाट बाहिर निस्कन 'पुस' गर्ला, ढुंगाले के गर्थ्यो।
म पुरुष थिएँ, मैले पेटमा बच्चा बोक्न परेन। मैले अन्य सामान्य मानिसले झै दिनचर्या गर्न पाउँथे। मलाई शारीरिक पीडा महसुस भएन। तर शारीरिक र मानसिक दुबै पीडाको प्रत्यक्ष भागेदार मेरी श्रीमतिलाई झन् कति गाह्रो भयो होला? अहिले सम्झिदाँ मुटु थरथरी काँप्छ, शरीरका रौं ठाडा हुन्छन्।
हस्पिटल बसेको करिब तीन दिनपछि श्रीमतिको शरीर काटेर बच्चा निकालियो। बच्चालाई हातमा समाउँदै मेरो बाबु भन्दै मुई खाने कति ठूलो सपना थियो, च्याँ पनि सुन्न पाइएन। कति अभागी हामी।
हामीलाई हातमा दिनुको सट्टा बच्चा सिधै फ्रिजरमा लगेर राखियो। सोध्न त सोधेको थियो, बच्चा हातमा लिने भनेर, कसरी सक्नु? हामीलाई आँट नै आएन।
आफ्नो शरीरबाट काटेर निकालिएको अभिन्न अंगलाई कहिल्यै पनि हेर्न र छुन नमिल्ने गरी हामीबाट टाढा लगियो। हाम्रा लागि जिन्दगीको सबैभन्दा नमिठो क्षण यहीँ थियो।
बच्चा पेटबाट निस्कने बित्तिकै च्याँ च्याँ गरेर कराएको सुनेपछि शारीरिक र मानसिक सबै पीडा बिर्सिन्छ भन्ने सुनेको, अहँ, हाम्रो भाग्यमा त्यो रहेनछ। विपरीत, अझ पीडा थपिएर गयो।
बच्चा जन्मने बित्तिकै काखमा खेलाउने रहर कसको हुँदैन र? तर पहिलोपटक त्यो मौका हामिले गुमायौं। ९ महिनासम्म मेरी श्रीमतिले पेटमा हुर्काएको हाम्रो आफ्नै सन्तानको अनुहार कस्तो थियो भनेर पनि हेर्न नपाई करिब के चौथो दिनमा रित्तो हात घर फर्कियौं।
के कारणले त्यस्तो भयो, कहिले त्यस्तो भयो भन्ने अनुत्तरित प्रश्नहरुले हरेक पलमा घोचिरहन्छ।
यो घटना घटेको करिब दुई वर्ष हुन लाग्यो। अहिले आएर आँफैसँग मनन गर्छु। जीवन कति अनिश्चित रहेछ। जिन्दगीमा आइपर्ने कुनै एक क्षणलाई आधार बनाएर गरिने परिभाषाबाट जिन्दगीको पूर्ण व्याख्या सम्भव रहेनछ। एक धर्को सिन्दुरबाट सुरु भएको हाम्रो जिन्दगी, किटको दुई धर्का हुँदै रित्तो हातसम्म पुग्दा जिन्दगीबारे अनेक व्याख्या गरियो। हरेक घटना परिघटना पिच्छे बदलिएको जीवनको परिभाषा अहिले आएर अझै फेरिँदै छ। हेरौं, अझ कहिलेसम्म फेरिइराख्ने हो।
जिन्दगीमा घटेको यी नमिठो घटना कुनै रहरले पाठकसामू ल्याएको होइन, न कुनै सहानूभूतिका लागि। योग्य डाक्टर र अत्याधुनिक यन्त्रहरुले भरिपूर्ण यत्रो विकसित राष्ट्रको हस्पिटलमा पनि के कारणले त्यस्तो अप्रिय भयो भनेर केही उत्तर पाउन सकिएन। मैले कसैलाई दोष दिन चाहान्नँ। कसको गल्ती हो या यो हुनुमा को जिम्मेमार छ, म केही जान्न चाहन्नँ, तर जीन्दगीमा जस्तोसुकै परिस्थिति सामना गर्न तम्तयार भएर बस्नुपर्ने रहेछ। म सबै कुरा बिर्सन चाहन्छु त्यत्ति हो, मेरो जस्तो घटना अरु कसैलाई नहोस् भन्दै सचेत गराउने उद्देश्यले मात्र पाठकसमक्ष ल्याएको हुँ। गल्ती भए क्षमाप्रार्थी छु।