चार पूर्वअध्यक्षलाई समेट्दै अस्ट्रेलियामा गैरआवासीय नेपाली संघ (एनआरएनए) गठन भएको छ।
केन्द्रीय विवादको असरस्वरुप अस्ट्रेलियामा जुलाई १८ तारिकमा नयाँ एनआरएन दर्ता भएको हो। दर्ता नम्बर ६८९२०००९३ रहेको संस्थाको नाम द नन् रेसिडेन्ट नेपाली एशोसिएशन (एनआरएनए) अस्ट्रेलिया लिमिटेड राखिएको छ।
संस्थाले विवेक थापाको संयोजकत्वमा ३५ सदस्यीय तदर्थ समिति गठन गरेको छ।
समितिमा ८ जना सल्लाहकार छन्।
जसमा अस्ट्रेलियाका ४ जना असन्तुष्ट पूर्वअध्यक्षहरु गणेश केसी, केशव कँडेल, नन्द गुरूङ र सुरेन्द्र सिग्देल छन्। यस्तै शेषमणि शर्मा, प्रेम सापकोटा, निरज श्रेष्ठ र कञ्चन पोखरेल सल्लाहाकार छन्।
यस्तै ३४ सदस्यहरूमध्ये एनएसडब्लुबाट अमि कार्की, बिक्रम दाहाल, छविलाल सापकोटा, डिला खरेल, राजु गिरी, इथान शाक्य सहित १५ जना, भिक्टोरियाबाट ६ जना, क्विन्सल्याण्ड, साउथ अस्ट्रेलिया र एसिटी ३-३ जना, नर्दन टेरिटोरीबाट २ र तास्मानियाबाट १ जना छन्।
सिड्नीमा पत्रकार सम्मेलनको आयोजना गर्दै थापाले आफूहरूले रहरले नभएर बाध्यताले यस्तो कदम चाल्नु परेको स्पष्ट पारे।
'हामीले संस्थालाई एक बनाउनका लागि हदैसम्मको लचकता अपनाउँदा पनि कुरा नमिलेपछि यस्तो कदम चालिएको हो,' उनले भने,'हामीले यहाँसम्मकी आसन्न निर्वाचनमा हामीले धेरै संख्यामा सदस्य छुटेको भन्दै दुई साताका लागि सदस्यता थप गर्न आग्रह गर्दा पनि उहाँहरूले मान्नुभएन। यसरी उहाँहरू एक पक्षीय रूपमा अगाडि बढ्नाले हामीले बाध्यत्माक स्थितिमा यस्तो निर्णय लिएका हौं।'
आगामी २६ तारिकमा हुने एनआरएन अस्ट्रेलिया विषयमा आफूहरूले कुनै अवरोध नगर्ने स्पस्ट पारे।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनए अस्ट्रेलियाका पूर्वअध्यक्ष नन्द गुरूङले एनआरएनको तालुकदार निकाय परराष्ट्र मन्त्रालय र नेपालको सर्वोच्च अदालतले दिएको अधिकारअनुसार आधिकारिक एनआरएन महेश श्रेष्ठ नेतृत्वमा रहेको एनआरएन रहेको दाबी गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएन अस्ट्रेलियाका अभियन्ता डिला खरेल आफू सत्य र आधिकारिकताको पक्षमा रहेको बताए।
एमआइएस प्रणालीबाट सदस्यता लिन नपाएका तथा छुटेका हजारौं एनआरएनलाई समेटेर एकता महाधिवेशन गराउने जिम्मा थापालाई दिइएको ओसिनिया क्षेत्रीय संयोजक इर्साद अहमदले बताए।
'हामीले सदस्यता लिन नपाएका झन्डै १५ हजारभन्दा बढी नेपालीहरूका लागि चाँडै सदस्यता प्रक्रिया पुनः सुरू गर्दैछौं,' संयोजक अहमदले बताए।