शक्तिशाली आँधी इर्माको असर नसेलाउँदै क्यारेबियन क्षेत्रमा अर्को आँधी आएको छ। मारिया नाम दिइएको उक्त आँधी लगभग इर्माकै बाटोमा हिँडिरहेको र यसले भयावह सामुद्रिक आँधीको रुप लिन सक्ने अनुमान गरिएको छ।
बिबिसीमा उल्लेख भएअनुसार मारियाले डोमिनिका क्षेत्र नराम्ररी प्रभावित पारेको त्यहाँका प्रधानमन्त्री रुजवेल्ट स्केर्रिटले जनाएका छन्। ‘पैसाले किन्न सक्ने सबै कुरा हामीले गुमायौं,’ उनले फेसबुकमा लेखेका छन्।
श्रेणी पाँच मानिएको मारिया आँधीको अधिक गति २५० किलोमिटर प्रतिघण्टा मापन गरिएको छ। हाल भने केही कम हुँदै श्रेणी चारमा पुगेको अमेरिकी राष्ट्रिय आँधी केन्द्रले जनाएको छ। तर, मारिया पुर्तो रिको र भर्जिन टापूतिर जाँदा फेरि तीव्र हुने अनुमान छ।
यही क्षेत्रमा केही दिन आएको आँधी इर्माले ३५ जनाभन्दा बढीको ज्यान लिएको थियो भने अर्बौंको क्षति गराएको थियो। इर्माबाट लर्खराएका स्थानीय सम्हालिन नपाउँदै आएको मारियाले त्यहाँको जनजीवन दुखद् हुनेछ।
अमेरिकी राष्ट्रिय आँधी केन्द्रले जीवन रक्षा र भौतिक संरचनाको क्षति कम गर्न लागि पर्नुपर्ने बताउँदै सचेत रहन आग्रह गरेको छ।