दाङका श्रीधर पौडेल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट एमबिबिएस उत्तीर्ण गरेपछि सन् २००८ मा अमेरिका गए। उनी एमडी (चिकित्सा शिक्षामा स्नातकोत्तर) पढ्ने योजनाले गएका थिए। तर 'पब्लिक हेल्थ' विषयमा स्नातकोत्तर पढे।
पछि सन् २०१३ मा उनले साइकायट्री (मनोचिकित्सा) मा एमडी तहको पढाइ सुरू गरे। सन् २०१७ मा पढाइ पूरा भयो।
त्यसपछि उनले म्यासाच्युसेट्स राज्यस्थित हार्वर्ड मेडिकल स्कुल हस्पिटलमा एक वर्ष काम गरे। छात्रवृत्तिमा पढेर स्किजोफ्रेनिया रोगको उपचारमा विशेषज्ञता हासिल गरे। सन् २०१८ देखि श्रीधर त्यही अस्पतालको विभागीय सदस्यका रूपमा कार्यरत छन्। बिरामी हेर्ने र पढाउने दुवै काम गर्छन्।
उनी दुई फरक क्लिनिकमा काम गर्छन्। एउटामा स्किजोफ्रेनियाका बिरामी हेर्छन्। अर्कोमा अन्य किसिमका मानसिक रोग भएका बिरामी हेर्छन्। एमडी तहका विद्यार्थीलाई पढाउँछन् पनि।
'सुरूमा यहाँको काम गराइबाट मलाई अचम्म लागेको थियो। नेपालमा डाक्टरले बिरामी जाँचेर भ्याइनभ्याइको अवस्था भोगेर आएको थिएँ,' उनले भने, 'यहाँ दिनमा ८ देखि १२ जनासम्म मात्र बिरामी हेर्नु पर्दा अचम्मै लाग्यो।'
उनी काम गर्ने अस्पतालमा साइकायाट्रिस्ट (मनोचिकित्सक) पहिलो पटक आएको एक जना बिरामीलाई कम्तीमा एक घण्टा समय दिनुपर्छ। फलोअपमा आएकालाई ३० मिनेटदेखि ४५ मिनेट समय दिनुपर्छ।
श्रीधरका अनुसार स्किजोफ्रेनिया कडा किसिमको मानसिक रोग हो। यस्तो बिरामीको सोचाइ, भावना र व्यवहारमा तालमेल हुँदैन। बिरामीको दिमागमा गम्भीर भ्रम उत्पन्न हुन्छ जसले आफ्ना अगाडि अनुपस्थित व्यक्तिलाई पनि उपस्थित देख्छ। भ्रामक विश्वास हुन्छ। नभएको आवाज सुन्छ।
दिमागमा गम्भीर भ्रम सिर्जना हुने यस्तै अन्य समस्याहरू देखा पर्छन्।
'स्किजोफ्रेनिया निकै गम्भीर प्रकृतिको मानसिक रोग भएकाले बिरामीलाई औषधि र काउन्सिलिङ दुवै एकसाथ आवश्यक पर्छ,' उनले भने।
अमेरिकामा यस्ता बिरामीको उपचारपछि पुनर्स्थापनाका लागि सरकारले सेवा उपलब्ध गराउँछ। साधारण किनमेल र व्यक्तिगत सरसफाइ जस्ता सामान्य काम गर्न नसक्नेका लागि घरमा 'सोसल वर्कर' ले हेरचाह गर्छन्, काम सघाउँछन्।
अर्को क्लिनिकमा आउने बिरामी डिप्रेसन, एन्जाइटी, पोस्ट–ट्रमाटिक स्ट्रेस डिसअर्डर (कुनै दर्दनाक घटना देखेर वा भोगेर हुने मानसिक रोग) जस्ता समस्या भएका हुन्छन्।
डा. श्रीधर हार्वर्डमा मात्र सीमित छैनन्। उनी नेपालमा पनि 'हेल्थ फाउन्डेसन नेपाल' नामको गैरसरकारी संस्थामार्फत स्वयंसेवकका रूपमा सेवा पुर्याउँदै छन्। उनी यो संस्थाका अध्यक्ष हुन्।
उनी अमेरिकामा पढाइ पूरा गरेपछि नै स्वदेश फर्केर काम गर्न चाहन्थे। सोचेअनुसार भएन। हार्वर्डबाट विशेषज्ञता हासिल गरेपछि उतै रोकिए। हार्वर्डमा काम गरेकैले आफूलाई नेपालमा सामाजिक काम गर्न सजिलो भएको उनको भनाइ छ।
'म आफ्नै देशमा काम गर्न चाहन्थेँ। अहिले पनि मेरो तन मात्र अमेरिकामा छ, मन नेपालमै छ। मैले अमेरिकाबाटै पनि नेपालका लागि काम गर्दैछु,' उनले भने, 'हामी हेल्थ फाउन्डेसन नेपालमार्फत समुदायमा रहेर मानसिक स्वास्थ्यका लागि काम गरिरहेका छौं।'
यो फाउन्डेसनले हाल 'स्माइल मदर' कार्यक्रम चलाइरहेको छ। यस कार्यक्रम अन्तर्गत गर्भवती र सुत्केरीको मानसिक अवस्था पत्ता लगाउने र आवश्यकता अनुसार घरमै गएर परामर्श दिने गरिएको छ। अर्को 'स्माइल बाआमा' कार्यक्रम पनि छ। यसमा ६० वर्षमाथिका बाआमालाई लक्षित गरेर मानसिक स्वास्थ्य सेवा दिइन्छ।
अमेरिकाको चिकित्सा लाइसेन्सले नेपालमा काम गर्न नपाउने भएकाले डा. श्रीधर उपचारमा सोझै संलग्न हुँदैनन्। उनी नेपालमा रहेका संस्थाका सदस्य चिकित्सक तथा स्वास्थ्यकर्मीले दिएको रिपोर्टका आधारमा सल्लाह दिन्छन्, उपचार सेवाको गाइडलाइन दिन्छन्।
फाउन्डेसनले दाङको कुइरेपानीमा गम्भीर मानसिक स्वास्थ्य समस्या भएका बिरामीको उपचार गर्ने क्लिनिक चलाएको छ। यसमा डा. श्रीधर सहयोग गर्छन्।
'मैले हरेक हप्ता मंगलबार केही समय नेपालका लागि छुट्ट्याएको छ। क्लिनिकका चिकित्सकले मलाई रिपोर्ट देखाउनुहुन्छ। त्यहाँ तत्काल मानसिक रोग विशेषज्ञ लैजान सक्ने अवस्था छैन। मेडिकल अफिसरलाई मैले दिएको गाइडलाइनका आधारमा उपचार हुन्छ,' उनले भने।
फाउन्डेसनको कार्यक्रम हाल दाङ र चितवनमा केन्द्रित रहेको उनले बताए। विशेष अवस्थामा चिकित्सकहरू अरू ठाउँमा पनि पुग्छन्।
मानसिक स्वास्थ्यसेवा सम्बन्धमा स्थानीय, प्रदेश र संघीय सरकारलाई केही सुझाव समेत दिइएको उनले बताए।
नेपाल र अमेरिकामा डिप्रेसन, एन्जाइटी लगायतका मानसिक समस्या भएका बिरामीको स्वभाव एउटै भए पनि जनेचतनामा ठूलो अन्तर भएको श्रीधर बताउँछन्।
'अमेरिकामा मलाई गाह्रो भयो, औषधि खान पर्यो भनेर बिरामीहरू आफै आउँछन्। नेपालमा मानसिक स्वास्थ्यबारे जनचेतना कमजोर छ। रोग लुकाएर बस्ने बानी छ,' उनले भने, 'हामी मानसिक स्वास्थ्यबारे वकालत गर्ने, जनचेतना फैलाउने, अनुसन्धान गर्ने, क्षमता अभिवृद्धि गर्ने बिरामीको हेरचाह गर्ने लगायत काम गर्दैछौं।'
उनले आफ्नो प्रयासमा चितवनको भरतपुर अस्पतालमा बृहत् सुविधा सहितको 'मानसिक स्वास्थ्य उपचार केन्द्र स्थापना' हुने तयारी भएको पनि बताए।
(सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- [email protected]