अमेरिकाले आफूमाथि नयाँ प्रतिबन्ध लगाउन जारी राखे उसले ठूलो समस्याको सामना गर्नुपर्ने चेतावनी उत्तर कोरियाले दिएको छ।
संयुक्त राष्ट्र संघको चेतावनी र अन्तर्राष्ट्रिय समुदायको आग्रह वेवास्ता गर्दै उत्तर कोरियाले बारम्बर क्षेप्यास्त्र परीक्षण गरिरहेको भन्दै अमेरिकाले ऊमाथि थप कडाइका साथ नाकाबन्दी लगाउने भएपछि उत्तरले यस्तो प्रतिक्रिया दिएको हो।
दी गार्डियनमा उल्लेख भएअनुसार अमेरिकाले संयुक्त राष्ट्र सुरक्षा परिषदलाई नाकाबन्दीबारे मस्यौदा पेश गरेको छ। उक्त मस्यौदामा अमेरिकाले उत्तर कोरियामा तेल निर्यात बन्द गर्न आग्रह गरेको खुलासा भएको छ।
सुरक्षा परिषद्सँग सोमबार बस्ने वैठकमा अमेरिकाले उत्तर कोरियालाई वैदेशिक रोजगारीमा प्रतिबन्ध लगाउने र त्यहाँबाट कपडा आयात बन्द गर्ने विषयमा छलफल गर्नेछ।
यता उत्तर कोरियाले भने अमेरिकाले नाकाबन्दीबारे थप काम अघि बढाए उसले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ।
गतसाता उत्तरले हाइड्रोजन बम भएको दाबी गर्दै क्षेप्यास्त्र परीक्षण गरेपछि विश्वव्यापीरुपमा आलोचना भइरहेको छ।
अमेरिकाले नाकाबन्दीमा जोड दिइरहेका बेला युरोपियन युनियनले पनि उत्तरमाथि नाकाबन्दी लगाउने तयारी गरेको छ।