डिसी, रिजउड नेपाली समाजको आयोजनामा न्यूयोर्कमा सम्पन्न महापूराणमा आँकलन गरिएको भन्दा धेरै रकमको प्रतिबद्धता आएपछि आयोजकले स्वयंसेवकको रूपमा खटिएका ब्यक्तिलाई पनि ब्यवसायिकताको नाम दिँदै रकम बाड्न थालेपछि बिवाद भएको छ।
दाताहरूबाट ठूलो रकमको प्रतिबद्धता आएपछि रिडउड नेपाली समाजले पण्डित दिनबन्धु पोखरेललाई कबोल गरेकोभन्दा धेरै रकम दिएको, स्वयंसेवकको रुपमा खटिएका संचारकर्मीलाई र अन्यलाई पनि रकम बाढिएको विषय अहिले चर्चाको शिखरमा छ।
एक संचाकरर्मीलाई घण्टाको दुई सय डलरको हिसाबले रकम दिएको विषय सार्वजनिक रुपमै छताछुल्ल भएपछि पुराण सफल बनाउन रात दिन स्वयंसेवकको रूपमा खटिएका अन्य ब्यक्ति आफूहरुले पनि रकम पाउनुपर्ने दाबी गर्न थालेका छन्। तर आयोजक तथा रिजउड नेपालीका समाजका अध्यक्ष रवि कोइरालाले भने दिनवन्धुले दक्षिणा मात्र लगेको र कुनै पनि संचारकर्मीलाइ पैसा नदिइएको दावी गरेका छन।
रिजउड नेपाली समाजले अमेरिकाको सत्यनारायण मन्दिरमा गरेको महापुराणमा १५ लाख ५० हजार ४ सय ८२ डलर २१ सेन्ट संकलन गरेको थियो। त्यसमा करिब एक लाख डलर कार्यक्रमस्थलमा नै संकलन भएको र बाँकी मन्दिर निर्माण कार्य अगाडि बढ्दै गर्दा किस्ताबन्दीमा दिने सर्तसहित रकम दान गर्ने प्रतिबद्धता आएको थियो।
संकलन भएको रकममध्ये ६० लाखभन्दा बढी पण्डित दिनबन्धु पोखरेलले लगेको र बाँकी रकम केही सञ्चारकर्मीसँगै कार्यक्रम आयोजनामा खर्च गरिएको देखिएपछि संस्थामा अहिले पूजी रकम नभएर कबोल गरिएको आउने रकम मात्र हुनु हाँस्यास्पद भएको एक सहभागिले बताए।
यसैबीच पण्डित पोखरेलले आफूलाई २० हजार दिने सहमति भए पनि उक्त रकम अझै नपाएको दाबी गरेका छन्। ‘मलाई २० हजार दिने सहमति भएको थियो तर अझै पाएको छैन,’ उनले सेतोपाटीसँग भने।
रकम दिएको विषय बिवाद भइरहँदा एक सञ्चारकर्मीले सार्वजनिक रुपमा नै भनेकी छिन्, ‘आयोजकले मलाई सुटुक्क चेक दिन थालेका थिए। तर मैले आफूले पाएको मेहनतको रकम सार्बजनिक गरिदिएँ। आयोजकसँग ६ हजार डलरको सहमति भएको थियो। त्यो भन्दा कम रकममा हामी काम गर्ने थिएनौ।’
संचारकर्मी र अन्य स्वयंसेवकलाई रकम दिने विषयमा आफूहरुलाई थाहा नभएको जनाउँदै एक सहभागिले भने, 'हामीले ती संचारकर्मीले उत्कृष्ट ढंगले स्वयंसेवकको रुपमा दिन रात खटेर काम गरेको भनेर वाह वाह गरेका थियौ। तर रकमको सहमतिमा काम गरेको थाहा पाएपछि आफूहरुले खिन्न महसुस गरेका छौ।'
इनेप्लिजबाट सच्ची मैनालीले एक भिडियो लाईभमा भनेकी छिन्,‘थोरै रकममा हामीले काम गरेका थिएनौं। पहिले नै यति दिने सहमति भएको थियो। सात दिनको महापुराणमा ६ हजार दिने सहमति भए पनि कार्यक्रममा बढी रकम उठेपछि थप एक हजार सवारी खर्च भनेर आफूलाई दिइएको’, उनले स्वीकार गरेकी छिन्।
मैनालीले भिडियोमा न्यूयोर्कबाट प्रकाशित खसोखासका किशोर पन्तीलगायत अन्य केही सञ्चारकर्मीले मन्दिरको कुनामा गएर रकम लिएको आरोप समेत लगाएकी छन्। तर, संचारकर्मी किशोर पन्थीले भने फेसबुकमा स्पष्टिकण दिँदै यो कार्यक्रममा आफ्नो कुनै उपस्थिति नरहेको बताएका छन्।
महापुराणमा आयोजक पक्षमध्येका एक जनाले सेतोपाटीसँग भने, ‘संचारकर्मीलाई यति रकम दिने भन्ने त्यस्तो सहमति भएको थाहा छैन। हामी सबैले स्वयंसेवकको रुपमा काम गरेका हौ। एउटा पुण्य काम सफल बनाउन धेरैको हात हुन्छ। ती सबैलाई सर्टिफिकेट दिन सकिन्थ्यो। पैसा दिएपछि बिवाद उत्पन्न भयो।’
न्यूयोर्क महापुराणमा उठेको सम्पूर्ण रकम पण्डितले लगिसकेका छन्। संस्थामा पैसा छैन। महापुराणको लागि नेपाली जनसम्पर्क समिति अमेरिकाले सबैभन्दा धेरै १ लाख २५ हजार ५ सय ५५ डलर दिने प्रतिबद्धता जनाएको छ। ब्यक्तिगत रुपमा भने रिजउड नेपाली समाजका पूर्व अध्यक्ष सबैभन्दा धेरै १ लाख ११ हाजर १ सय ११ डलर दिने घोषणा गरेका छन्।
महापुराणमा रिजउड नेपाली समाजका उपाध्यक्ष राजेश भट्टले ७५ हजार डलर, रिजउड नेपाली समाजका संस्थापक उपाध्यक्ष सुमन शाहले ५१ हजार १११ डलर, रिजउड नेपाली समाजका संस्थापक अध्यक्ष मोहन ज्ञवाली तथा रिना ज्ञवालीले ५० हजार ००१ डलर, बेद खरेलले ६६ हजार ६६६, रिजउड नेपाली समाजका सदस्य जनक पराजुलीले २२ हजार २२२ डलर, बरिष्ठ अधिवक्ता खगेन्द क्षेत्री ३५ हजार डलर, अधिवक्ता केशव शेडाईले ३५ हजार डलर, समाजसेवी पिताम्बर भुसालले १० हजार ९ सय, अधिवक्ता रमेश श्रेष्ठले २० हजार १ डलर सहयोगको घोषणा गरेको छन्। त्यसैगरी, प्रवासी नेपाली मञ्चले १ लाख ११ हजार १११ डलर सहयोग गरेको छ।
महापुराण सफल बनाउन विभिन्न ब्यक्तिहरुले सहयोग घोषणा गरे पनि त्यो कहिले पाउने भन्ने निक्र्यौल छैन। धेरै रकम दान गर्नेहरुको आरआरएसले पनि छानबिन गर्छ। ‘आम्दानी भन्दा बढी रकम दान गर्दा कसरी त्यो रकम आयो? भनेर आरआरएसले छानबिन गर्नसक्छ,’ एक ब्यक्तिले भने त्यसबाहेक अन्य धेरै कागजी झमेलाहरु छन्। रकम घोषणा हुँदैमा पैसा पानी सरह बाढ्नु हुँदैन थियो,’ उनले भने।
‘महापुराण सफल बनाउन ५ रूपैयाँदेखि करोड दान गर्नेहरुको सम्मान हुनुपर्छ। महापुराणलाई कसैले मागी खाने भाडो बनाउनु हुँदैन,’ एक न्युर्योक निवासी भन्छन्, ‘भनिन्छ, सेवा नै धर्म हो। सेवा गर फलको आशा नगर। तर त्यो सेवालाई नै मेवा बनाउने यस्तो परिपाटीले महापुराणजस्तो पवित्र कार्यप्रति जनमानसमा नकारात्मक भ्रम सृजना हुन्छ। यसतर्फ सबै सचेत हौ।’
यो पनि हेर्नुहोस्