दोस्रो विश्व युद्धबेला डुबेको ठूलो अमेरिकी पानीजहाज ‘यूएसएस इन्डियानापोलिस’ ७२ वर्षपछि प्रशान्त महासागरमा भेटिएको छ।
१८ हजार फिट तल समुन्द्री सतहमा फेला परेको यो युद्धक पानीजहाजको इतिहास निकै स्मरणीय छ।
दोस्रो विश्वयुद्धबेला इन्डियानापोलिस गोप्य मिसनमा काम गरिरहेको थियो। उसको काम एक ठाउँबाट अर्को ठाउँसम्म परमाणु बम पुर्याउनु थियो।
यही क्रममा सन् १९४५ जुलाई ३० मा टिनियनबाट उत्तरी मरियाना टापूसम्म इन्डियानापोलिसले आफ्नो अन्तिम मिसन पूरा गरेको थियो। उसले त्यो गोप्य मिसनमा परमाणु बम पुर्याएर आएको थियो, जसमा ‘फ्याट म्यान र लिटिल ब्वाइ’ पनि थिए। तिनै बम जसले जापानको हिरोसिमा र नागासाकी ध्वस्त पारे।
आफ्नो मिसन सकेर फर्किरहेको इन्डियानापोलिसको त्यो नै अन्तिम यात्रा भयो। फिलिपिन्सको समुन्द्र नजिकै गुआम र लायतेको बीचमा इन्डियानापोलिस सदाको निम्ति रोकियो।
जापानका दुई सहर ध्वस्त बनाउने अस्त्र सुम्पेर आएको इन्डियानापोलिस जापानकै आक्रमणमा परेर ध्वस्त भयो। जापानी पनडुब्बीले समुन्द्रमा बगिरहेको इन्डियानापोलिसमाथि राति हमला गरेको थियो। उक्त हमलाको १२ मिनेटपछि नै यो पानीजहाज समुन्द्रमा डुब्यो।
यसमा करिब ११९६ जना मान्छे भए पनि ३१६ जना मात्र बचेका थिए। उनीहरु भेटिएको ठाउँमा अत्यधिक मात्रामा सार्क माछाको प्रभाव थियो। धेरैको ज्यान जानुमा यसलाई पनि कारण मानिन्छ। अमेरिकी जलसैन्य इतिहासमै यो सबैभन्दा ठूलो दुर्घटना थियो।
७२ वर्षपछि सन् २०१७ अगस्ट १८ मा यसका बाँकी पाटपूर्जा समुन्द्री सतहमा फेला परेका हुन्।
(बिबिसी र वासिङ्टन पोस्टको सहयोगमा)