ग्लोबल नेपाली
म सन् २००८ मा अमेरिका गएकी भए पनि कामका लागि बाहिर निस्किन निकै लामो समय लाग्यो। म डिपेन्डेन्ट भिसामा गएकाले सुरूमै काम गर्न मिलेन। सन् २०१२ मा मात्रै नियमित तरिकाले काम थालेँ।
मैले सुरूमा ब्युटी पार्लरमा काम गरेँ। ब्युटिसियनको तालिम लिएपछि आफ्नै काम थालेँ। मैले अमेरिकाको न्यासभिलमा भएका विभिन्न सौन्दर्य प्रतियोगिताका लागि पनि काम गर्ने मौका पाएँ।
ब्युटिसियनको कोर्स पढिसकेर, लाइसेन्स लिएर आफ्नै काम सुरू गरेकी हुँ। तर कामले सन्तुष्टि दिएन। एकातिर बच्चा हुर्काउने जिम्मेवारी, अर्कातिर एकै ठाउँमा बसेर खट्नुपर्ने काम, त्यस्तो व्यवसायमा रमाउन सकिनँ।
त्यसैले मैले काम फेरेँ। पाँच वर्षयता रियल–इस्टेटको क्षेत्रमा कार्यरत छु।
आर्थिक रूपमा स्वतन्त्र र बलियो हुन सकिन्छ भन्ने विश्वासले म रियल्टर बनेकी हुँ। कस्मेटिक क्षेत्रमा पनि कमाइ नहुने त होइन तर मलाई फरक क्षेत्रमा काम गर्न मन लागेर यता आएँ।
महिलाले कस्मेटिक क्षेत्रमै काम गर्नुपर्छ भन्ने सोच चिर्न पनि मलाई रियल–इस्टेट व्यवसाय गर्न मन लाग्यो। महिलाहरू रियल्टर बन्न सक्दैनन् भन्ने सोच अमेरिकामा पनि छ। म त्यस्तो सोच गलत साबित गर्न चाहन्थेँ।
अहिले पनि पुरूष र महिला रियल्टर एकै ठाउँमा छन् भने पुरूषकै कुरा सुन्ने प्रवृत्ति हाबी छ। पुरूषसँग कारोबार गर्न सहज हुन्छ भन्ने सोच छ। यस्तो सोच पुरूषहरूमा अझ धेरै छ। तर सबैको धारणा यस्तै छ भन्ने पनि होइन।
हामी घर भाडामा लगाउने र घरजग्गा किनबेच गर्ने काम गर्छौं। मेरा करिब ८५ प्रतिशत ग्राहक भारतीय मूलका छन्।
अमेरिकामा घर किन्न त्यहाँको स्थायी बासिन्दा हुनुपर्छ। आर्थिक स्थिति पनि बलियो हुनुपर्छ। घर किन्न बैंकले ऋण दिन्छ तर व्यक्तिको कमाइको आधारमा ऋण तय हुन्छ।
मेरो कारोबार रहेको ह्विल्सन काउन्टीको बसोबास क्षेत्रमा सामान्यतया एउटा घर किन्न पाँच लाखदेखि साढे पाँच लाख डलरसम्म तिर्नुपर्छ। टाउन हाउसमा साढे तीन लाखदेखि चार लाख डलरसम्ममा पाइन्छ।

राज्य र काउन्टी अनुसार घरको मूल्य फरक पर्न सक्छ। स्कुलनजिक रहेको क्षेत्रमा घरको मूल्य बढी पर्छ। एउटै काउन्टीमा पनि ठाउँ अनुसार मूल्य फरक हुन सक्छ।
घर किन्ने बेलामा जसलाई पनि अन्योल हुन्छ। सबै कुरा राम्ररी जानकारी लिएर घर किन्न विश्वासिलो एजेन्ट खोज्नुपर्छ। घर किन्ने भनेको ग्रोसरी गएर सामान किनेजस्तो होइन। धेरै प्रक्रिया पूरा गर्नुपर्छ। यस कारण पनि एजेन्टको सहयोग चाहिन्छ।
मलाई अहिले पनि कतिपय साथीहरू ब्युटी पार्लर चलाउन र रियल्टर हुनुमा कुन काम सहज रहेछ भनेर सोध्छन्।
सर्सर्ती हेर्दा त ब्युटी पार्लरमा तनाव कम हुन्थ्यो। एउटा तालिकामा एकोहोरो काम हुन्थ्यो। रियल–इस्टेटमा धेरै पक्ष विचार गरेर योजनाबद्ध काम गर्नुपर्छ। मलाई भने रियल–इस्टेट व्यवसाय नै मन परेको छ। कहिलेकाहीँ त यो व्यवसाय गर्न किन ढिलो गरेछु जस्तो पनि लाग्छ।
दुई छोराको हेरचाह गर्दै रियल–इस्टेट व्यवसाय गर्नु चुनौतीपूर्ण पनि छ। तर मैले अवसरका रूपमा लिएकी छु। समय मिलाएर काम गर्दैछु। मेरा लागि यो समय फेरि फर्केर आउँदैन।
मेरा श्रीमान आइटी कम्पनीमा जागिरे हुनुहुन्छ।
महिलाहरूलाई घरबाट निस्किन, समाजमा पनि उत्तिकै चुनौती छ। अझै पनि कतिपय मानिस महिलालाई विश्वास गर्न गाह्रो मान्छन्। हामीले कुनै राम्रो र ठूलो काम पायौं भने पनि अनेक शंका–उपशंका गर्नेहरू हुन्छन्।
म यस्ता सबै चुनौतीसँग भिड्दै अघि बढेकी छु। रियल्टर भएर काम गर्दा सन्तुष्ट छु।