अमेरिकाको टेक्सासस्थित ड्यालस शहर पछिल्लो समय नेपालीहरूका लागि आकर्षक गन्तव्य हुँदै गएको छ। नेपाली समुदाय बाक्लिदै जादा यहाँ नेपालीहरूको सामाजिक, सांस्कृतिक लगायतका गतिविधि पनि बढ्दै छ भने विभिन्न क्षेत्रमा नेपालीहरुले लगानी गरेर लगानीकर्ता पनि बन्ने क्रम बाक्लिदै छ।
अमेरिकामा क्रमश: नेपालीहरु कामदारबाट व्यवसायको मालिक भएर अरुलाई रोजगार दिनेहरुको संख्या पनि दिन प्रतिदिन बढ्दो छ। फेरि टेक्सासलाई अन्य राज्यको तुलनामा लगानीका लागि सबैभन्दा सुरक्षित अनि सहज क्षेत्र पनि मानिन्छ।
टेक्सासमा प्राय नेपालीहरुले ग्याँस स्टेशन, रेष्टुरेन्ट, गेम हाउस, रियल स्टेट, आईटीलगायतका क्षेत्रहरूमा लगानी गरिरहेको पाईन्छ। तर पछिल्लो समय ५ जना नेपालीहरुको साझेदारीको लगानी भने यो भन्दा भिन्न ठाँउमा गरिएको छ। डालस नजिकै रहेको आर्लिङ्ग्टन सहरमा करिब ५० लाख अमेरिकन डलरको लागतमा बिगत ६ महिना देखि सञ्चालनमा आएको रेंजर्स होलसेल व्यापारको हिजो देखि भने औपचारिक शुरुवात भएकोछ।
आर्लिण्टन सिटिको च्याबर्स अफ कमर्सको मान्यता प्राप्त यस होलसेलमा अधिकांश नेपाली सहित अहिले २० जनाले रोजगारी पाएका छन्। यस होलसेलमा व्यवसायीहरू कपिल अधिकारी ,भुवन आचार्य,बासु भण्डारी, नरेश पाण्डे र उमेश प्रधान साझेदारीमा उक्त ब्यसवाय सुरु गरिएको हो।
रेंजर्स होलसेलको स्थापना संगै विशेषत नेपालीमुलका स्टोर धनिहरु अन्य समुदायको होलसेलमा धाउनु पर्ने बाध्यता टरेको छ। नेपालीहरूको व्यवसायिक यो फडकोलाई गर्वको रूपमा मान्छन पत्रकार अमित अभय अधिकार 'नेपाली समुदायलाई पनि लक्षित गरेर सामानहरू पनि पाउने भए अझै उत्तम' उनी भन्छन। अपरेसनल ब्यबस्थापक भुवन आचार्यले सेतोपाटीसँग नेपाली स्टोर व्यवसायीहरू र नेपालीहरूको डिमाण्ड आएमा आफूहरूले गुणस्तरीय नेपाली सामानहरू उपलब्ध गराउने बताउँछन्।
'गरे त हुने रैछ। हामीले छोटो समयमै पाएको सफलताले यस्तै संकेत गरेको छ।' प्रमुख कार्यकारी ब्यबस्थापक कपिल अधिकारी बताउँछन्। नेपालीहरुले थालेको यस्तो ठूलो ब्यवसायले नेपाली डायस्पोराका सदस्यहरूलाई प्रेरणा दिने काम गरेको बताउँछन नेपाली समाज टेक्ससका अध्यक्ष कृष्ण लामिछाने। 'सधै कामदारको रुपमा काम गरिरहनु भन्दा व्यवसायी भएर काम गर्दा नेपाली समुदायको आर्थिक हैसियत र सामाजिक प्रतिष्ठा बढछ।'