ग्लोबल नेपाली
स्थायी घर दोलखा भएका इन्द्रप्रसाद उप्रेती क्यानडाको न्यूब्रन्सविक भन्ने ठाउँको 'द अलगन क्वीन रिसोर्ट' मा एक्जुकेटिभ पेस्ट्री एन्ड बेकरी सेफका रूपमा कार्यरत छन्।
यो पाँचतारे रिसोर्टमा उनले काम गर्न थालेको ६ महिना भयो।
पेस्ट्री सेफले क्यान्डी, चकलेट, केक, कुकिज, कपकेक, पाई, ब्रेड र अन्य विभिन्न प्रकारका बेकरी परिकार बनाउँछ। इन्द्रको काम पनि यही हो।
'कम लागतमा गुणस्तरीय बेकरी बनाउनुपर्छ। ग्राहक र व्यवस्थापक दुवैलाई खुसी बनाउनुपर्छ,' उनले भने।
इन्द्र काम गर्ने रिसोर्टका मुख्य ग्राहक स्थानीयवासीहरू नै हुन्। अमेरिकी, युरोपेली र एसियाली ग्राहकहरू पनि आउँछन्।
'यहाँ धेरै देशका ग्राहक आउँछन् तर नेपालीहरू भने देखेको छैन,' उनले भने।
यो रिसोर्टमा पाँच जना नेपाली काम गर्छन्। तीमध्ये तीन जना विद्यार्थी हुन् जो पार्ट–टाइम काम गर्छन्।
'म र अर्को एक जना साथी भने फुल–टाइम काम गर्छौं,' इन्द्रले भने।
इन्द्रले १० कक्षासम्मको पढाइ गाउँकै स्कूलबाट पूरा गरे। उच्च शिक्षाका लागि २०५८ सालमा गाउँकै एक जना दाइको साथ लागेर काठमाडौं आए। उनका लागि काठमाडौं यात्रा पहिलो थियो।
काठमाडौंमा काम गरेर कमाउँदै पढ्ने उनको सोच थियो। काम नपाउन्जेल तिनै दाइको डेरामा बसे।
केही दिनमा कालिमाटीको एउटा मिठाइ पसलमा काम पाए। खानेबस्ने सुविधा काम गर्ने ठाउँमै थियो। मासिक ७५० रूपैयाँ पारिश्रमिक पाउँथे। ग्राहकको टेबलमा परिकार पुर्याउनु उनको मुख्य काम थियो।
मिठाइ पसलमा एक महिना काम गरेपछि उनी एउटा दोहोरी साँझमा पुगे। त्यहाँ उनले सरसफाइको काम गर्नुपर्थ्यो।
दोहोरी साँझको काम बेलुका हुन्थ्यो। दिउँसो कलेज जान्थे। होटल म्यानेजमेन्ट विषयमा भर्ना भएका थिए।

दोहोरी साँझमा एक वर्ष काम गरे।
दोहोरी साँझ छोडेलगत्तै नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) मा पेस्ट्री–बेकरी तालिम लिने अवसर पाए। तालिमसँगै एउटा लाउन्जमा पनि काम सुरू गरे। त्यहाँ पनि खानाका परिकार ग्राहकको टेबलमा पुर्याउनु नै उनको मुख्य काम थियो।
नाथमले उनलाई इन्टर्नसिपका लागि ह्यात होटलमा पठायो। लाउन्ज छाडेर ह्यात पुगे। त्यहीँबाट उनको वैदेशिक यात्रा तय भयो।
एक जना साथीले होटलमा काम गर्न विदेश जाने भए अन्तर्वार्ता चलिरहेको छ भनेर सुनाए। ती साथी पनि विदेश जाने सुरसारमा रहेछन्।
इन्द्र अन्तर्वार्ता हुने ठाउँमा पुगेर जानकारी लिए। युएई (संयुक्त अरब इमिरेट्स) को ठूलो सहर दुबईको पाँचतारे स्तरको एउटा होटलमा कामदार चाहिएको रहेछ। उनी अन्तर्वार्तामा सामेल भए। उनको प्रयास सफल भयो। सन् २००७ मा दुबई पुगे।
उनी जुनियर कुक कमी–२ तहमा ७५० युएई दिराम पारिश्रमिक पाउने गरी गएका थिए।
उनको काम पेस्ट्री तथा बेकरीमा विभागमा थियो। नाथममा तालिम लिएकै थिए, काम गर्न गाह्रो भएन। उनले होटलमा चकलेट, आइसक्रिम, पाउरोटी, कुकिज र अन्य केही परिकार पनि बनाउन सिके।
त्यो होटलमा मुख्य सेफ फ्रान्सेली थिए, जो निकै सहयोगी स्वभावका थिए।
'उनीबाट मैले धेरै काम सिकेँ। उनी काम सिकाउन चाहने स्वभावका थिए, म काम सिक्न चाहने स्वभावको थिएँ,' उनले भने।
त्यो होटलमा दुई वर्ष काम गरेपछि इन्द्र दुबईकै अर्को पाँचतारे होटलमा कुक कमी–१ पदमा गए। मासिक पारिश्रमिक १४ सय युएई दिराम पाउने भए। त्यहाँ डेढ वर्ष काम गरेपछि पाँचतारे रिसोर्टमा डेमी–सेफ भएर काम गर्ने अवसर पाए। त्यहाँ दुई वर्ष काम गर्दा सेफ–द–पार्टी (सिडिपी) पदमा बढुवा भए।
त्यतिन्जेलमा इन्द्र अनुभवी सेफ भइसकेका थिए। उनलाई दुबईकै बुर्जअल अरब होटलबाट कामको प्रस्ताव आयो। उनी त्यो होटलमा काम गर्न चाहन्थे। उतैबाट प्रस्ताव आएपछि खुसी भए।
उनका अनुसार बुर्जअल अरब होटल औपचारिक रूपमा पाँचतारे नै हो तर चलचल्तीमा साततारे होटल भनेर चिनिन्छ। उनले त्यो होटलमा शू–सेफ भएर दुई वर्ष काम गरे।
'बुर्जअल अरब होटलमा काम गर्ने सपना धेरैको हुन्छ। मेरो पनि सपना थियो, पूरा भयो,' इन्द्रले भने।
त्यहाँ काम गर्दागर्दै ओमानको पाँचतारे होटलबाट प्रस्ताव आयो। उनी सन् २०१६ मा ओमान पुगे।

काम राम्रो चलिरहेको थियो। कोरोना महामारी फैलिएपछि भने होटलको सेवा बन्द हुने भयो। उनी सन् २०२० मार्चमा नेपाल आए।
विदेशका पाँचतारे होटलमा पेस्ट्री सेफ भएर काम गरेका इन्द्रलाई नेपालमा काम पाउन गाह्रो भएन। नेपाल आएको केही दिनमै सोल्टी होटलमा एक्जुकेटिभ सेफ स्तरको काम पाए।
होटलको कामसँगै होटल म्यानेजमेन्ट कलेजमा पनि पढाउन थाले।
देशको राम्रो होटलमा उच्चस्तरको जागिर र कलेजमा शिक्षण; तैपनि उनको मन रमाएन। केही नपुगेजस्तो भयो।
करिब १० महिना काम गरेपछि सन् २०२१ जनवरीमा उनी साउदी अरब गए। त्यहाँ कुलिङ हस्पिटालिटी ग्रुपमा एक्जुकेटिभ पेस्ट्री एन्ड बेकरी सेफ भएर काम थाले।
उनका अनुसार यो ग्रुप अन्तर्गत २२ वटा रेस्टुरेन्ट छन्। ती सबै रेस्टुरेन्टमा खपत हुने पेस्ट्री र बेकरी तयार गर्ने मुख्य जिम्मेवारी उनकै थियो।
ठूलो समूहमा काम गर्दा उनले व्यवस्थापकीय पक्ष पनि सिक्न पाए। त्यहाँ डेढ वर्ष काम गरेपछि उनी सन् २०२४ डिसेम्बरमा क्यानडा गए।
त्यसयता उनी न्यूब्रन्सविकको द अलगनक्वीन रिसोर्टमा एक्जकेटिभ पेस्ट्री एन्ड बेकरी सेफका रूपमा कार्यरत छन्।
इन्द्रले यो क्षेत्रमा काम गरेको २० वर्ष भयो। अन्य सेफको तुलनामा पेस्ट्री सेफको काम चुनौतीपूर्ण हुने उनको अनुभव छ।
'धेरैजसो पेस्ट्री–बेकरी आइटम खानापछि डिजर्टका रूपमा लिने चलन छ। अघाएको व्यक्तिले खाने भएकाले गुणस्तर र स्वादमा धेरै ध्यान पुर्याउनुपर्छ,' उनले भने।
पेस्ट्री–बेकरी ठूला होटलमा मात्र होइन घरमा पनि खाने चलन छ। उनले नेपालमा पनि यसको निकै राम्रो सम्भावना देखेका छन्। उनी भविष्यमा पेस्ट्री–बेकरी व्यवसाय गर्ने सोचमा छन्।
(सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- [email protected]