ग्लोबल नेपाली
महोत्तरीका सन्तोष साह अमेरिका गएको पन्ध्र वर्ष भयो। उनी क्यालिफोर्नियामा बस्छन्।
तीन वर्षयता उनी कर दाखिला व्यवसायमा जमेका छन्। उनको कम्पनीको नाम हो 'एस स्क्वायर इंक' जसले करसम्बन्धी परामर्श र कर दाखिला सेवा दिन्छ।
परामर्शमा आम्दानी अनुसार करको रकम, कानुनी रूपमा कम कर तिर्ने उपाय लगायतको सेवा पर्छ।
कर दाखिला गर्नु भनेको कर अधिकारीसमक्ष आवश्यक वित्तीय कागजात र जानकारी पेस गर्ने प्रक्रिया हो। यसमा आय, कर रकम र कुनै किसिमको कटौती वा क्रेडिटको विवरण समावेश हुन्छ।
'यो प्रक्रियाले कानुन अनुसार व्यक्ति वा व्यवसायले सरकारलाई तिर्नुपर्ने करको रकम ठीक मूल्यांकन गर्न सहयोग पुर्याउँछ,' सन्तोषले भने।
सन्तोषले महोत्तरीमा आफ्नै गाउँको स्कुलबाट ६ कक्षासम्म पढे। त्यसपछि जनकपुरको एक स्कुलबाट सन् २००४ मा एसएलसी उत्तीर्ण गरे। उनी व्यवस्थापन संकायमा ११ कक्षामा भर्ना भए। बिहान पढ्न जान्थे, दिउँसो एउटा स्कुलमा पढाउँथे। तलब महिनाको १५ सय रूपैयाँ थियो। यसरी उनले दुई वर्ष बिताए।
त्यसपछि उच्च शिक्षाका लागि भारतको दिल्ली गए। त्यहाँ उनी चार्टर्ड एकाउन्टेन्सी (सिए) कोर्समा भर्ना भए। कोर्स पाँच वर्षको थियो। तीन वर्ष पढेपछि अमेरिका जाने अवसर पाए।
'धेरै आफन्तहरू पहिल्यैदेखि नै अमेरिकामा थिए। उनीहरू मार्फत फ्यामिली भिसा प्राप्त भयो,' उनले भने।
उनी सिए कोर्स पूरा नगरी आमाबुबाका साथ सन् २०१० मा क्यालिफोर्निया पुगे।
त्यहाँ पनि पढ्नु त थियो नै। उनी बिजनेस एड्मिनिस्ट्रेसन कोर्स लिएर स्नातक तहमा भर्ना भए। कोर्स चार वर्षको थियो। पढाइ चल्दै गर्दा उनले एउटा कम्पनीमा अकाउन्टेन्टको रूपमा काम गर्ने अवसर पाए। प्रतिघण्टा ८ डलर पारिश्रमिक पाउँथे। त्यो आम्दानीले खर्च चलाउन मद्दत भयो।
भारतमा पढ्दा उनले १८ महिना एउटा सिए कम्पनीमा इन्टर्नसिप गरेका थिए। त्यहाँको अनुभवले उनलाई अमेरिकामा काम गर्न सजिलो भयो।
सन् २०१६ मा स्नातक तहको पढाइ पूरा गरे। लगत्तै अकाउन्टेन्ट जागिर पनि छाडे। त्यसपछि एउटा सिपिए कम्पनीमा काम पाए। अन्य देशमा सिए (चार्टर्ड अकाउन्टेन्ट) भन्नु र अमेरिकामा सिपिए (सर्टिफाइड पब्लिक एकाउन्टेन्ट) भन्नु समान हो।
'त्यहाँ मेरो मुख्य काम कर दाखिला सम्बन्धी थियो। दुई वर्ष काम गरेँ। कर दाखिलाको व्यावहारिक ज्ञान र अनुभव त्यही कम्पनीमा हासिल गरेँ,' उनले भने।
अनुभवले बलियो भएका सन्तोषलाई अमेरिकाको सरकारी कम्पनीबाट जागिरको प्रस्ताव आयो। निकै राम्रो तलब, सुविधा पाउने निश्चित भएपछि एकाउन्टेन्ट भएर काम सुरू गरे।
निजी कम्पनीमा दुई वर्ष बिताएका सन्तोषले सरकारी कम्पनीको कार्यशैली थाहा पाउने अवसर पाए। उस्तै प्रकृतिका काम गर्ने निजी र सरकार कम्पनीमा निकै ठूलो फरक अनुभव गरे।
उनको जागिर स्थायी भयो तर त्यहाँ ६ महिना मात्र काम गरे। उनी त सरकारी कम्पनीको स्थायी जागिर छाडेर फेरि निजी कम्पनीमा गए।
'त्यो राम्रो कम्पनी थियो। त्यहाँ ठूल्ठूला कारोबार गर्ने व्यवसायी र व्यक्तिहरू ग्राहक थिए। नयाँ कुरा सिक्न पाइन्छ भनेर सरकारी जागिर छाडेर निजीमा गएँ,' सन्तोषले भने।
उनले त्यो कम्पनीमा करिब तीन वर्ष काम गरे। यस अवधिमा आफ्नै व्यवसाय चलाउने योजना बनाए। योजना अनुसार एउटा अठोट गरे अनि सन् २०२२ मा आफ्नै व्यावसायिक कम्पनी सुरू गरे। उनले अमेरिकी संघीय सरकारबाट इए (इनरोल एजेन्ट) को लाइसेन्स लिएका छन्।
'करमा मात्रै केन्द्रित भएर काम गर्न इए लाइसेन्स लिएको हुँ। सिपिएले अडिट, कर लगायत धेरै काम गर्न पाउँछ। इएले करसम्बन्धी मात्रै काम गर्न पाउँछ,' उनले भने।
केही वर्षदेखि करकै क्षेत्रमा काम गरेकाले व्यवसाय गर्ने आँट आएको उनले बताए।
'कोर्स पूरा नगरे पनि मैले तीन वर्ष सिए पढेँ। अमेरिका आएर कर कम्पनीमा काम गरेँ। काम गर्ने तरिका थाहा पाएँ। यहाँको कर नीतिले पनि व्यवसाय गर्न आँट दियो,' उनले भने।

उनका अनुसार अमेरिकामा व्यक्तिले कमाउन सुरू गरेपछि मृत्युपछिको अवस्थामा पनि कर तिर्नुपर्छ। व्यक्तिको सम्पत्ति सरकारले तोकेको सीमाभन्दा बढी रहेछ भने ४० प्रतिशत कर तिर्नुपर्छ। बुबाआमाको सम्पत्ति भनेर छोराछोरीले सबै पाउने हुँदैन।
कर दाखिलाको काम व्यक्ति आफैले पनि गर्न मिल्छ तर निर्धारित प्रक्रिया पूरा गर्न सबैले जानेको हुँदैन। सजिलोका लागि व्यावसायिक कम्पनीको सहयोग लिन्छन्।
कर दाखिला फारममा मागिएका सूचना ठीकसँग दिनुपर्छ। कर रकमको ठीक मूल्यांकन भएको रहेनछ भने जरिवाना लाग्छ। यस्तो अवस्था हुन नदिन पनि व्यावसायिक कम्पनीको सहयोग आवश्यक पर्छ।
अमेरिकामा स्थायी बसोवासी र अस्थायी बसोवासीलाई कर सम्बन्धी नियम फरक छ। स्थायी बसोवासीका लागि कर दाखिला गर्नुपर्ने आम्दानीको सीमा तोकिएको छ। निर्धारित सीमाभन्दा बढी आम्दानी छ भने कर दाखिला गर्नुपर्छ। दाखिला नगरे सरकारले जरिवाना तिराउँछ।
तोकिएको सीमाभन्दा कम आम्दानी छ भने कर दाखिला अनिवार्य छैन। यस्तो व्यक्तिले पनि कर दाखिला गर्दा सरकारबाट 'ट्याक्स क्रेडिट' सुविधा पाउने भएकाले आम्दानी जति भए पनि कर तिर्ने चलन छ।
'कर दाखिला गर्दा ट्याक्स क्रेडिट (कर कट्टी) सुविधा पाइन्छ। चाइल्ड ट्याक्स क्रेडिट अन्तर्गत बालबालिकाका लागि मासिक रूपमा पैसा आउँछ। अर्नड इनकम ट्याक्स क्रेडिट अन्तर्गत परिवारको आम्दानी न्यून छ भने पनि पैसा आउँछ,' उनले भने।
यस्तो सुविधा स्थायी बसोवासीका लागि मात्र हो। तर अमेरिकासँग 'कर सम्झौता' भएका मुलुकका अस्थायी बसोवासीले पनि यो सुविधा पाउने उनले बताए।
नेपाल र अमेरिकी सरकारबीच त्यस किसिमको कर सम्झौता नभएको हुनाले अस्थायी बसोवासी नेपालीले यो सुविधा पाउँदैन। आम्दानी जति भए पनि निर्धारित कर तिर्नै पर्छ।
आफ्नो कम्पनीबाट वार्षिक कम्तीमा पाँच सय जनाले सेवा लिने गरेको उनको भनाइ छ। ग्राहकले सेवाशुल्क तिर्नुपर्छ।
उनले सन् २०२४ मा सिटी (संघ) र काउन्टी (जिल्लास्तरीय) बाट 'वेस्ट ट्याक्स कम्पनी अवार्ड' पनि पाएका थिए।
'यहाँ कर सम्बन्धी व्यवसाय गर्ने कम्पनी धेरै छन्। कम्पनी खुलेको दुई वर्षमै अवार्ड पाउँदा जिम्मेवारी बढेको अनुभूति भएको छ,' उनले भने।
कर व्यवसायमा गोपनीयता कायम गर्नुपर्ने हुन्छ। यस कारण ग्राहकलाई विश्वास दिलाउन चुनौती हुने उनको अनुभव छ। निजी कुरा जानकारी दिनुपर्ने भएकाले ग्राहकले विश्वसनीयता खोजी गर्छ। ग्राहकलाई विश्वास दिलाउन सकियो भने यो व्यवसायमा सफल हुने उनको भनाइ छ।
व्यवसायमा आफूलाई दक्ष बनाउन र क्षमता बढाउन बेलाबखत उनी तालिम लिन्छन्। कर सम्बन्धी प्रावधान र नियमहरू संशोधन भएको समयमा तालिम आवश्यक पर्छ।
उनले अमेरिकामा रहेका नेपाली विद्यार्थी र ६५ वर्ष उमेर पूरा भएका नेपाली ज्येष्ठ नागरिकलाई निःशुल्क कर दाखिला सेवा दिने गरेका छन्।
'यहाँ विद्यार्थीलाई धेरै गाह्रो छ। थोरै आम्दानी भए पनि कर दाखिला गर्नुपर्छ। कर सुविधा केही पनि छैन। नेपाली विद्यार्थीको खर्च नहोओस् भनेर निःशुल्क काम गरिदिन्छौं,' उनले भने।
अमेरिकामा जनवरीदेखि अप्रिल १५ सम्ममा कर तिरिसक्नुपर्ने नियम छ। यो अवधिमा नेपाली विद्यार्थीका लागि कर दाखिला गर्न छुट्टै कर्मचारी राख्ने गरेको उनले बताए।
उनको कम्पनीमा दुई जना नेपाली र तीन अमेरिकी काम गर्छन्।
'आगामी दिनमा आफूलाई अमेरिकाको करविज्ञका रूपमा स्थापित गर्ने लक्ष्य छ,' सन्तोषले भने।
(सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- [email protected]