क्यानडामा नेपाली विद्यार्थीको सन्दर्भ दुई तरिकाले हेर्न सकिन्छ।
पहिलो – नेपालबाट क्यानडा आउन चाहने विद्यार्थी।
दोस्रो– अहिले क्यानडामा अध्ययनरत विद्यार्थी।
क्यानडा आउन चाहनेका हकमा सहजता कम हुँदै गएको छ। क्यानडा सरकारले भिसामा कडाइ गरेको छ, फाइनान्सियल (आर्थिक) मापदण्ड निकै अप्ठ्यारो बनाएको छ।
क्यानडाले डिप्लोमा पढ्न चाहनेको तुलनामा ब्याचलर र मास्टर्स पढ्न चाहनेलाई भिसामा प्राथमिकता दिन्छ। डिप्लोमा पढ्नेका लागि निकै कडाइ गरेको छ।
यो पृष्ठभूमिमा १२ कक्षा पूरा गरेर नेपालबाट क्यानडा आउन चाहनेले चार वर्षको ब्याचलरका लागि आवेदन गर्नुपर्छ। अब दुई वर्षको डिप्लोमाका लागि भिसा पाउन निकै गाह्रो छ।
क्यानडामा एक वर्ष काम गरेको व्यक्ति स्थायी आवास अनुमतिपत्र (पिआर) का लागि आवेदन गर्न योग्य हुन्छ। पिआर दिन भने आवेदकको काम, पढाइ, उमेर लगायतका पक्ष मापदण्डमा राखिएका छन्।
क्यानडा सरकारले पिआरको कोटा घटाएको छ, मापदण्डमा पनि कडाइ गरेको छ।
दक्ष जनशक्तिका लागि भने अझै पनि सहज नै छ। स्वास्थ्य क्षेत्रको जनशक्ति, फ्रेन्च भाषामा दक्ष व्यक्ति, शिक्षक र मन्टेसरीमा काम गर्नेले पिआरमा प्राथमिकता पाउँछन्।
बिजनेस र अफिस म्यानेजमेन्ट जस्ता विषय पढ्नेका लागि पिआर पाउनु कठिन हुँदै गएको छ। क्यानडाले आफ्नो प्राथमिकताको क्षेत्रमा परेकाहरूलाई मात्र पिआर दिन्छ।
क्यानडामा नेपाली विद्यार्थीको संख्या निकै ठूलो छ। यस कारण पिआरमा नेपालीमाथि कडाइ छ। हाल भिसामा पनि नियन्त्रण गरेको छ। यसरी दुवै कोणबाट नेपाली विद्यार्थी कडाइमा परेका छन्; यता पिआरमा, उता भिसामा।
क्यानडामा विद्यार्थीले हप्तामा २४ घण्टासम्म काम गर्न पाउँछ। सबैले सजिलै काम पाउने निश्चित हुँदैन तर ढिलोचाँडो सबैलाई कामको अवसर प्राप्त हुन्छ।
यति बेला १२ कक्षा पढेर क्यानडा आएका विद्यार्थी बढी दबाबमा परेका छन्। यसो हुनुका केही कारणहरू छन्।
पहिलो – १८ वर्षकै उमेरमा आउने भएकाले उनीहरूले काम जानेका हुँदैनन्, हातमा सीप हुँदैन। भर्खरै अभिभावक छाडेर आएका हुन्छन्। खाना र आवासका लागि पैसा पुर्याउने र कलेजको शुल्क तिर्ने दबाब हुन्छ। घरबाट समेत कमाइको अपेक्षा भएको हुन सक्छ।
दोस्रो – यो उमेर समूहका व्यक्तिले काम पाउन पनि कठिन हुन्छ। रोजगारीदाताले अपरिपक्व ठान्छ, काम दिँदैन। स्नातक तहको र डिप्लोमा तहको विद्यार्थी एक साथ एकै ठाउँमा काम खोज्न गएका छन् भने स्नातकवालाले काम पाउँछ।
क्यानडामा काम पाए पनि नेपालको जस्तो एकै ठाउँमा नहुन सक्छ। यहाँ कतिपय काम सात दिनको, १५ दिनको, एक महिनाको मात्र पाइन्छ। एक ठाउँमा काम सकिएपछि अर्को ठाउँमा खोज्नुपर्ने हुन्छ।
हप्तामा २४ घण्टा मात्र काम पाइन्छ। कामको पारिश्रमिक प्रतिघण्टा १७–१८ क्यानेडियन डलर हुन्छ। यो आम्दानीले खानबस्न मात्र पुग्छ। तोकिएको भन्दा बढी समय काम गर्नु अवैध मानिन्छ। अवैध भएपछि त्यसको असर अन्य प्रक्रियामा पर्न सक्छ।
एउटा सेमेस्टर सकिएर अर्को सेमेस्टर सुरू हुँदासम्मको खाली समयमा भने जति पनि काम गर्न पाइन्छ। अहिलेको परिस्थितिमा १२ कक्षाको पढाइ पूरा गर्नासाथ होइन, नेपालमा स्नातक तह पूरा गरेर मात्र क्यानडा आउन मेरो सुझाव छ। यस्तोमा भिसा पाउने सम्भावना पनि बलियो हुन्छ।
यहाँ आएर काम पाउन र त्यसपछि पिआरको प्रक्रिया समेत सहज हुन्छ। उमेरले परिपक्व हुँदा समस्यासँग जुध्न सक्ने क्षमता पनि धेरै हुन्छ।
कन्सल्टेन्सीका सञ्चालकहरूले सुझाव दिँदैमा सबैले मान्छन् र स्नातक तह पूरा गरेर मात्र क्यानडामा पढ्न आवेदन गर्छन् भन्ने हुँदैन।
कन्सलटेन्सीमा आएपछि प्रक्रिया अघि बढाइदिन अस्वीकार गर्न पनि मिल्दैन। एउटा कन्सल्टेन्सीले नगरे अर्कोले गर्छ।
यो पक्ष विद्यार्थी र अभिभावकले सोच्नुपर्छ। कतिपय विद्यार्थी भाइबहिनीहरू आफ्ना साथी र आफ्नो उमेर समूहका अन्य व्यक्ति विदेश गइसके, म मात्र बाँकी छु भन्ने दबाबमा हुँदा रहेछन्।
मेरो पहिलो सुझाव छ – सकेसम्म स्नातक तह पूरा गरेर मात्र क्यानडा आउनुहोला। यसअघि नै आउने हो भने पनि दुई वर्षको डिप्लोमाका लागि होइन, चार वर्षको कोर्समा आउनुहोला।
दोस्रो सुझाव – कामको सीप सिकेर आउनु राम्रो हुन्छ। हेयर कटिङ, प्लम्बिङ, कार्पेटिङ, इलेक्ट्रिकल वायरिङ जस्ता सीपमूलक कामको तालिम लिनु राम्रो हुन्छ। कुक तालिम लिँदा पनि उपयोगी हुन्छ।
यसमा काम पाउन सजिलो हुन्छ। जुनसुकै उमेर समूहको भए पनि सीपमूलक तालिम लिएर मात्र विदेश जानु राम्रो हुन्छ।
सामान्यतया क्यानडामा वार्षिक १८ लाखदेखि २५ लाख नेपाली रूपैयाँ कलेज शुल्क बुझाउनुपर्ने हुन्छ। घरभाडा चार सयदेखि पाँच सय क्यानेडिन डलर लाग्छ। खाना र यातायातमा सरदर दुई सय क्यानेडियन डलर खर्च हुन्छ।
यसरी कलेज शुल्क बाहेक न्यूनतम मासिक सात सय क्यानेडियन डलर खर्च हुन्छ। कम्तीमा ६ महिना काम नपाउन सक्छु भन्ने सोचेर त्यस अनुसार खर्च धान्ने प्रबन्ध मिलाउनु राम्रो हुन्छ।
सन् २०२२/२३ तिरको आँकडामा क्यानडाका लागि आवेदन गर्नेमध्ये करिब ८५ प्रतिशतले भिसा पाएको देखिन्छ। हाल मुस्किलले २० प्रतिशतको भिसा लागेको छ। भिसा आवेदकको संख्या पनि घटेको देखिएको छ।
भिसा प्राप्तिको दर कम भएपछि विद्यार्थीको आकर्षण घटेको हो। आवेदनका लागि प्रक्रिया समेत झन्झटिलो भएको छ।
पिआरमा गरिएको कडाइका कारणले पनि क्यानडामा भिसा आवेदकको संख्या घटेको हो। पिआर पाउन कठिन हुने भएपछि पढाइका लागि क्यानडा आउने चाहना पनि घटेको देखिएको छ।
क्यानडाले अहिले डिपेन्डेन्ट भिसामा समेत कडाइ गरेको छ। पहिला जुनसुकै कोर्स पढ्न आउनेले पनि डिपेन्डेन्टमा आफ्नो श्रीमान/श्रीमती ल्याउन पाउने सुविधा थियो। उनीहरूले काम गरेर कमाउन सक्थे। अहिले मास्टर्स तहको पढाइमा आउनेले मात्र डिपेन्डेन्टको सुविधा पाउँछ।
(अशोक पौडेल क्यानडाका रजिस्टर्ड माइग्रेसन एजेन्ट हुन्)