ग्लोबल नेपाली
करिब ९९ प्रतिशत काम पूरा भएपछि २०७८ असार र साउनमा मेलम्ची खानेपानी परियोजनाको बाँध भेमाथानको बाढीले पुरिदियो। परियोजनाको बाँधक्षेत्र एकाएक बगरमा परिणत भयो।
त्यो क्षतिपछि दातृ संस्था एसियाली विकास बैंक (एडिबी) को सहयोगमा विज्ञहरूको टोलीले ठूलो पहिरो, भेल, गेग्रान जस्ता विपद प्रतिरोधी संरचना बनाउने सम्बन्धमा अध्ययन गर्यो। अध्ययन टोलीले तत्कालको बाँधक्षेत्र एक किलोमिटर माथि सार्न सुझाव दियो। सोही अनुसार सरकारले निर्णय गरिसकेको छ।
यसबारे अध्ययन गरेर सुझाव दिनेमध्येका एक हुन् भूगर्भ इञ्जिनियर केशव शर्मा।
उनले टिमसँग मिलेर यो आयोजनाको मुहान क्षेत्रमा आएको भेलबाढीका कारण उत्पन्न भौगोलिक परिवर्तन अध्ययन गरे। नयाँ मुहानको अवधारणा, डिजाइन र स्थानान्तरणका लागि उपयुक्त स्थान छनोटको काममा पनि प्रत्यक्ष संलग्न भए।
'हामीले पालमा बसेर दुई वर्ष अध्ययन गर्यौं। हेड–वर्क्स (बाँधक्षेत्र) भएको ठाउँ ठीक देखिएन। अलिक माथि सार्नुपर्छ भनेर हाम्रो कन्सल्टिङ कम्पनीले सुझाव दिएको हो,' उनले भने।
शर्मा क्यानडाको 'बिजिसी इञ्जिनियरिङ' कम्पनीमा वरिष्ठ माटो यान्त्रिकी विशेषज्ञका रूपमा कार्यरत छन्। उनका अनुसार यो अनुसन्धानमा आधारित ग्लोबल कन्सल्टिङ कम्पनी हो। यसले संसारभरका ठूल्ठूला संरचनाहरूमा काम गर्छ।
यो कम्पनीले ठूला बाँध, सुरूङ र भूमिगत संरचना डिजाइनको काम गर्छ। ठूल्ठूला बाढीपहिरो गएको ठाउँमा विपद प्रतिरोधी संरचना निर्माण गर्न जमिन र भूविज्ञान सम्बन्धी काम गर्छ। कम्पनीमा संसारभरिका उत्कृष्ट युनिभर्सिटीका एक हजार हाराहारी इञ्जिनियर र वैज्ञानिकहरू कार्यरत रहेको उनले बताए।
शर्मा हाल बाँध निर्माणका लागि काम गरिरहेका छन्। उनी सम्बन्धित ठाउँको माटोमा स्थिर तरलीकरण हुने सम्भावना परीक्षण तथा विश्लेषण गर्ने काममा संलग्न छन्। त्यसका आधारमा डिजाइन र निर्माण विश्लेषण तयार गर्छन्।
स्यान्टियागो, चिलीमा भूकम्पीय सुदृढता अध्ययन क्रममा'दुई वर्षयता डोमिनिकन गणराज्यमा सुन र अन्य बहुमूल्य धातुका खानीबाट निस्कने वेस्ट मेटिरियल (काम नलाग्ने वस्तु), थन्क्याउन ठूलो बाँध बनाउने काममा लागेको छु,' शर्माले भने।
उनका अनुसार खानीबाट सुन र अन्य बहुमूल्य पदार्थ निकाल्दा एक किसिमको तरल पदार्थ (लेदो) पनि निस्कन्छ। काम नलाग्ने यस्तो पदार्थ निकै विषालु हुन्छ। त्यस्तो तरल पदार्थ सोझै खोलामा वा अन्यत्र मिल्काउन पाइँदैन। त्यसलाई भण्डारण गरेर सयौं वर्ष राख्नुपर्छ। ठूला खनिज कम्पनीले त्यस्तो पदार्थ भण्डारण गर्न बाँध बनाउँछन्।
शर्मा त्यस्ता ठूला बाँध डिजाइन गर्छन्। यस्ता बाँध हाम्रो फेवातालको भन्दा कयौं गुणा ठूला हुन्छन्। बाँध बनाएर लेदो राखेपछि थिग्रिँदै जान्छ, पानी र लेदो छुट्टिँदै जान्छ। त्यहाँबाट निस्किने पानी प्रशोधन गरेर खोल्सा र खोलाहरूमा पठाउन सकिन्छ।
पानी बगेपछि लेदो बिस्तारै सुक्दै जान्छ र केही वर्षपछि त्यहाँ खानी थियो भन्ने समेत थाहा नहुने गरी रूख रोपिन्छ। जमिन जथाभावी खनेर छाड्दा प्राकृतिक विपद आइलाग्ने हुन्छ। त्यस किसिमले हुने क्षति न्यूनीकरणका लागि डोमिनिकमा काम हुँदैछ।
गत असोजमा काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाको रोशी खोलामा आएको बाढीले पुर्याएको क्षति यस किसिमको प्राकृतिक विपद भएको उनले बताए।
शर्मा केही वर्षदेखि एडिबीको जलवायु परिवर्तनसँग सम्बन्धित 'बिल्डिङ एडप्सन एन्ड रेजिलेन्सी इन द हिन्दु कुस हिमालयज्' परियोजनामा भूगर्भ विशेषज्ञका रूपमा नेपाल र भूटानमा पनि काम गर्दैछन्।
'म त्रिभुवन विश्वविद्यालय, इञ्जिनियरिङ अध्ययन संस्थान र नेपाल सरकारका सम्बन्धित निकायसँग समन्वय गरेर अनुसन्धानका काम गर्दैछु। कामको सिलसिलामा हरेक वर्ष नेपाल आइरहेको हुन्छु,' उनले भने।
उनी नेपालसँगै विश्वका विभिन्न मुलुकका योजना भूविपद जोखिमबाट जोगाउने उपायबारे काम गर्दैछन्। नेपालका महत्त्वपूर्ण आयोजनाहरू भूविपद जोखिमबाट जोगाउने विषयमा पनि आफू निरन्तर अध्ययन र परामर्शमा रहेको उनले बताए।
'अध्ययन, अनुसन्धान, प्रस्तुति, रोजगारी, तालिम र व्याख्यानका सिलसिलामा अहिलेसम्म म २५ भन्दा बढी देशमा पुगिसकेको छु,' उनले भने।
मेलम्चीमा गेग्रानको अध्ययनका क्रममा भेमाथान क्षेत्रको करिब चार हजार मिटर उचाइमागत वर्ष सोलुखुम्बू जिल्लाको थामे क्षेत्रमा गाउँ नै बगाउने गरी बाढी आयो। हिमताल फुटेर निम्तिएको त्यो हिमबाढीले पुर्याएको क्षतिको अध्ययन गर्न पनि शर्मा गएका थिए।
त्यस सिलसिलामा उनी करिब चार हजार ८०० मिटर उचाइमा पुगे। उनको टोलीले अध्ययनको मस्यौदा प्रतिवेदन राष्ट्रिय विपद प्राधिकरणलाई बुझाएको छ।
'पृथ्वीको बढ्दो तापक्रमका कारण हिमताल पग्लिँदैछ,' उनले भने, 'हिमताल वरपरको माटो खुकुलो हुन्छ तर पानी जम्ने हुँदा माटो चट्टानजस्तो कडा भएको हुन्छ। तापक्रम बढेर हिउँ पग्लिन थालेपछि माटो खुकुलो हुन्छ र पहिरो जान्छ।'
थामेको पहिरो यस्तै किसिमको घटना हो। यस्तो समस्या क्षेत्रीय अथवा राष्ट्रियस्तरको प्रयासले मात्र रोक्न सकिँदैन। ग्लोबल वार्मिङका विषयमा सबै देश संवेदनशील हुन आवश्यक रहेको उनी बताउँछन्।
यस किसिमका प्राकृतिक घटना तुरून्तै रोकथाम गर्न सम्भव हुँदैन। प्रविधि प्रयोग गरेर हिउँ पग्लिँदै गरेको ठाउँ, जमिन कमजोर भएको ठाउँ र जोखिमका हिमतालको जानकारी राख्न सकिन्छ। पूर्वजानकारी दिन सके त्यसले क्षति पुग्ने ठाउँ वरपरका बस्तीहरू सार्न सकिने उनले बताए।
उनका अनुसार जलवायु परिवर्तन र मौसमी घटनाका कारण हुने क्षति न्यूनीकरणका लागि प्रतिरोधी संरचना निर्माण गर्न सकिन्छ। पहिले पुल बनाउँदा होचो बनाइन्थ्यो। पानीको सामान्य बहाब मात्र हिसाब हुन्थ्यो।
'तर अब अग्लो बनाउनुपर्छ भन्ने देखिएको छ। किनभने, माथिबाट ठूल्ठूला चट्टान र रूख पनि बगेर आउँछन्,' उनले भने।
हाल उनी एडिबीका जलविद्युत आयोजनाहरू भूविपद प्रतिरोधी बनाउने सम्बन्धमा पनि काम गरिरहेका छन्।
शर्मा नेपालमा सिभिल इञ्जिनियरिङ विषयमा स्नातक तह पूरा गरेर थप पढाइका पहिले जापान र त्यसपछि क्यानडा गएका थिए। क्यानडा जानुअघि इञ्जिनियरिङ कन्सल्टेन्सी चलाएका थिए। केही समय कलेजमा पढाए। लोक सेवा आयोगमार्फत सिँचाइ विभागमा नियुक्ति पाएर केही समय काम पनि गरे।
नेपालमा छँदा उनी झोलुंगे पुल, सडक, खानेपानी, साना जलविद्युत आयोजना सर्वेक्षण र डिजाइनको काम गर्थे। घरको नक्सा पनि बनाउँथे। यस्ता कामको सिलसिलामा उनी देशका धेरै ठाउँ पुगे। देशको भौगोलिक कठिनाइ र प्राविधिक चुनौतीहरू थाहा पाए।
त्यसपछि थप पढाइका लागि एडिबीको छात्रवृत्तिमा जापान गए। टोकियो विश्वविद्यालयबाट 'जियोटेक्निकल इञ्जिनियरिङ' मा स्नातकोत्तर तहको पढाइ पूरा गरे। जापानमा भूकम्प प्रतिरोधी संरचना, भूस्खलन र जमिन सम्बन्धी अध्ययन गर्ने मौका पाए।
ताइवानमा भूकम्पले निम्त्याएको पहिरोको अध्ययन क्रममाउनी जापानमै छँदा सन् २०११ मा सेन्दाइ सहर नजिक केन्द्रबिन्दु भएर ९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो। भूकम्पले एउटा आणविक ऊर्जा केन्द्रमा गम्भीर क्षति भएर ठूलो हलचल उत्पन्न भयो।
'मैले प्रोफेसर र विद्यार्थीहरूको समूहमा रहेर प्रभावित क्षेत्रहरूमा क्षतिको विस्तृत अध्ययन गर्ने अवसर पाएको थिएँ,' शर्माले भने।
त्यो अध्ययन उनका लागि निकै महत्त्वपूर्ण रह्यो। भूकम्पको क्षति र संरचनाहरूको प्रदर्शन अध्ययनमा अनुभव हासिल भयो। उनले नेपालको २०७२ सालको भूकम्पबाट भएको क्षति र संरचनात्मक प्रदर्शन पनि अध्ययन गरे। चिली, ताइवान र अन्य केही देशमा पनि भूकम्पछिको क्षति अध्ययन गरेका छन्।
शर्मा जापानमा स्नातकोत्तर तहको पढाइ पूरा नेपाल फर्किए। केही समय पुल्चोक इञ्जिनियरिङ क्याम्पसमा पढाए। सेभ द चिल्ड्रेन संस्थामा पनि काम गरे। उनी विद्यावारिधि गर्न फेरि जापान जाने योजनामा थिए। त्यही समय क्यानडाको अल्बर्टा विश्वविद्यालयबाट छात्रवृत्तिसहितको प्रस्ताव आयो। उनले क्यानडा रोजे।
विद्यावारिधि अध्ययन क्रममा उनले भूकम्पीय जोखिमयुक्त क्षेत्रमा बनेका पुल वा घरमा सुरक्षित स्यालो फाउन्डेसन (कम गहिराइको जग) डिजाइनबारे अनुसन्धान गरे।
'मैले आफ्नो विषयसँग सम्बन्धित रहेर प्रमुख लेखकका रूपमा १० वटाभन्दा बढी अनुसन्धानपत्र उच्चस्तरका अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित गरेँ,' उनले भने, 'आफ्नो अध्ययनबाट नयाँ विधि प्रस्ताव गरेँ।'
शर्माका अनुसार इञ्जिनियरका लागि क्यानडा अवसर र चुनौतीको दुवैको देश हो।
अनुसन्धानको अवसर र वातावरण, कार्यस्थलको संस्कृति, सेवासुविधा र जीवनस्तर निकै सकारात्मक छ। तर अन्य विकसित देशहरूको तुलनामा क्यानडामा इञ्जिनियरका लागि प्रत्यक्ष अवसर सीमित छन्। धेरै आप्रवासी इञ्जिनियरहरू आफूले अध्ययन गरेको र अनुभव भएको क्षेत्रबाहिरको काम गर्न बाध्य हुने उनले बताए।
क्यानडाली विश्वविद्यालयको उच्च डिग्री, प्रभावकारी सञ्चार क्षमता तथा विषयसँग सम्बन्धित गहिरो ज्ञान र फराकिलो नेटवर्किङ छ भने इञ्जिनियरिङ सम्बन्धी रोजगारी पाउन सजिलो हुन्छ।
क्यानडामा नेपाली इञ्जिनियरहरूले राम्रो काम गरिरहेको पनि उनले बताए। कतिपय इञ्जिनियर ठूला र चुनौतीपूर्ण परियोजना काम गर्छन्। कोही सरकारी निकायमा छन्।
'व्यावसायिक रूपमा दक्ष र प्रतिस्पर्धी इञ्जिनियरले क्यानडामा राम्रो गर्न सक्छन्। नेपालै बसेर पनि उत्कृष्ट इञ्जिनियरिङ काम र अनुसन्धान सम्भव छ,' शर्मा भन्छन्, 'तर विश्वस्तरमा प्रतिस्पर्धा गर्न प्राविधिक ज्ञान मात्र पर्याप्त हुँदैन। प्रभावकारी संवाद क्षमता, अनुसन्धानमा गहिरो रूचि, अन्तर्राष्ट्रिय स्तरमा काम गर्ने आत्मबल, नवीन सोच र निरन्तर सिकाइमा रूचि चाहिन्छ।'
(सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- [email protected]