ग्लोबल नेपाली
डोनाल्ड ट्रम्पको शासन सुरू भएपछि अमेरिकामा धेरै कडाइ गरियो भनेर सर्वत्र चर्चा भइरहेको छ।
हरेक दिनजसो गैरकानुनी तरिकाले बसिरहेका आप्रवासीहरूलाई अध्यागमनले स्वदेश फिर्ता गरिरहेको छ।
ट्रम्पको नीतिले अमेरिकामा रहेका नेपालीलाई कति असर पर्छ होला? त्यसमा के विद्यार्थीहरू पनि प्रभावित हुन्छन्? यस्ता अनेक खालका जिज्ञासाहरू नेपालीमा छन्। हुन त झण्डै १५/२० मिलियन आप्रवासीहरू गैरकानुनी रूपमा अमेरिका बस्दै आएको बताइन्छ। त्यसमा बढीमा १५ सयदेखि ३ हजारसम्म नेपालीहरू रहेको अमेरिकाको न्यूयोर्कमा कार्यरत कानुन व्यवसायी वासु फुलाराको अनुमान छ।
उनी भन्छन्, 'यदि ट्रम्प प्रशासनले १५/२० मिलियन गैरकानूनी आप्रवासी सबैलाई पठाउन सके भने मात्र बढीमा ३ हजार नेपाली फर्किने हुन्। तर नेपालमा भने कानुनी तवरले बसेकालाई समेत फर्काइँदैछ भन्ने तरिकाले हल्ला फैलाइएको छ। जुन पूर्ण रूपमा गलत हो।'
नेपालबाट अमेरिका पढ्न गएका विद्यार्थीलाई ट्रम्प प्रशासनको कडाइले कति असर गर्छ होला? भन्ने समेत अर्को जिज्ञासा छ। अध्ययनका लागि अमेरिकामा रहेका विद्यार्थीलाई कुनै असर नपर्ने कानुन व्यवसायी फुलाराको दाबी छ। विद्यार्थीले नेपालबाट आउँदा गरेका प्रतिबद्धता पूरा गरेमा कुनै समस्या नआउने उनले बताए।
'विद्यार्थीले अमेरिका आउने बेलैमा मसँग पर्याप्त आर्थिक स्रोत छ भनेर आएका हुन्छन्। त्यसैले अमेरिकामा मेरो पहिलो काम पढ्ने हो भनेर उनीहरूले बुझ्नुपर्छ,' उनले भने, 'हप्तामा २० घण्टा काम गर्ने बाहेकको समय पढाइका लागि हो। त्यो सम्झियो भने कुनै समस्या हुँदैन।'
आफ्नो अध्ययन पूरा नहुँदासम्म विद्यार्थीले पढाइमै ध्यान केन्द्रित गर्नुपर्ने अमेरिकामा कार्यरत प्राध्यापक कैलाश घिमिरेले बताए।
'विद्यार्थीको पहिलो काम पढ्ने हो। यहाँको नियम पालना गरेर पढ्ने विद्यार्थीलाई कुनै समस्या हुँदैन,' उनले भने, 'राम्रो नतिजासहित समयमै पढाइ सक्नेहरूका लागि अवसर पनि प्रशस्त छन्।विद्यार्थीले भोलिका अवसरलाई सम्झिनु पर्छ।'
ट्रम्प प्रशासनले गैरकानुनी रूपमा बसेकाहरूलाई कडाइ गरेकाले वैधानिक तरिकाले बस्दै आएका विद्यार्थीहरू डराउन नपर्ने उनले बताए।
छात्रवृत्तिमा अमेरकामा रहेका विद्यार्थीलाई समस्या नभए पनि अधिकांश नेपाली विद्यार्थीले तोकिएको समयभन्दा धेरै काम गर्ने गर्थे। यस अघिका प्रशासनले कडाइ नगरे पनि अहिले भने कडाइ हुन थालेको छ। त्यही भएर विद्यार्थीलाई अप्ठयारो परेको भनेर भनिएको छ। अध्ययनका लागि गएका विद्यार्थीले आफ्नो पढाइ नसकुन्जेलसम्म युनिभर्सिटीभित्र (अन क्याम्पस) मात्रै काम गर्न पाउँछन्। त्यो पनि हप्तामा २० घण्टा मात्रै हो र सबैले काम गर्न पाउँछन् भन्ने पनि हुँदैन। त्यसैले आफ्नो कलेज/युनिभर्सिटी भन्दा बाहिर गएर काम गर्न त झनै पाइँदैन।
गैरआवासीय नेपाली संघ (एआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाका अध्यक्ष अर्जुन बञ्जाडे अमेरिका अध्ययनका लागि छोराछोरी पठाउँदा अभिभावकले ध्यान दिनुपर्ने बताउँछन्।
खासगरी अन्डरग्र्याजुएट विद्यार्थी पठाउँदा अभिभावकले पढाइका लागि लाग्ने खर्च आफै धान्न सक्ने हो भने मात्रै पढाउँदा सहज हुने उनको भनाइ छ। विद्यार्थीलाई कलेजभित्रको काम मात्रै गर्न पनि उनको सुझाव छ।
उनी भन्छन्, 'विद्यार्थीले कलेज बाहिर काम गर्नु अवैध हो। कलेजभित्रै काम गरौं कलेजबाहिर काम गरेर कानुन उल्लङ्घन गर्न भएन।'
अमेरिकामा अवसर भए पनि एउटा नीति र नियमभित्र रहेर मेहनत गर्नुपर्ने कानुन व्यवसायी फुलाराको सुझाव छ।
अमेरिका आएर काम गर्न, पैसा कमाउने सोच विद्यार्थीले राख्न नहुने उनले बताए।
'१० हजार डलर खल्तीमा लिएर आउने अनि सिधै काम गर्ने, काम गर्न नसके पढाइ छोडेर लुक्ने भन्ने सोच बनाउन हुँदैन। त्यस्तो सोच लिएर आउनेलाई कुनै दिन ठूलै समस्या पर्न सक्छ,' उनले भने, 'कलेजको नियम, यहाँको अध्यागमनको नीति, नियम र निर्देशन अनुसार चल्ने हो भने कुनै अप्ठ्यारो हुँदैन। किनिक ट्रम्प प्रशासनले विद्यार्थीलाई डिपोर्ट गर्ने भनेर भनेको छैन।'
विदेशी विद्यार्थीलाई अमेरिका ल्याउने नीतिमा कुनै परिवर्तन नआएको भन्दै उनले कानुन मिच्ने, अपराधमा संलग्न हुनेहरूलाई मात्र समस्या हुने बताए। नियमित कलेज जान, कलेजभित्र रहेका या कलेजसँग जोडिएका कामहरू मात्र गर्न नेपाली विद्यार्थीलाई फुलाराको सुझाव छ।
उनका अनुसार अमेरिका गएका विद्यार्थीले कलेजभित्र क्यान्टिन, क्याफे, क्लिनिङ, लाउन्ड्री, पुस्तकालय, प्रयोगशाला लगायतमा काम गर्न पाउँछन्। कतिपय ठाउँमा विद्यार्थीको विषयसँग मिल्ने समेत हुनुपर्छ। जस्तो कानुनको विद्यार्थीले एकाउन्टिङको काम गर्न पाउँदैन भने व्यवस्थापनको विद्यार्थीले प्रयोगशालामा काम गर्न पाउँदैन। कलेजमा कुनै नयाँ बिल्डिङ बन्दैछ भने कन्स्ट्रक्सनको काम समेत गर्न पाइँदैन। अर्को कुरा कलेजसँग जोडिएर क्लिनिङ गर्ने कम्पनी छ भने त्यो कम्पनी अन्तर्गत रहेर बाहिर काम गर्न पाइन्छ। तर हप्तामा २० घण्टाभन्दा धेरै काम गर्न पाइँदैन भनेर भुल्न हुँदैन।
'आफ्ना छोराछोरी अमेरिका पठाउँदै गर्दा अभिभावकले पनि धेरै कुरा बुझ्न जरूरी छ। मेरो बच्चा पढ्न गएको कमाउन होइन, त्यसैले पैसाको अपेक्षा छैन भनेर सोच्न पर्यो,' उनले भने, 'विद्यार्थीका लागि हिजोको अमेरिका र आजको अमेरिकामा कुनै फरक छैन। ट्रम्प प्रशासनले कानुनको कार्यान्वयन गरेको मात्र हो। अरू धेरै केही गरेको छैन।'
फुलाराका अनुसार कतिपय अप्ठ्यारो अवस्था आयो भने विद्यार्थीले अमेरिकामा काम गर्न पाउँछन्।
'इकोनमिक हार्डसिप' को अवस्थामा विद्यार्थीले कलेजको सिफारिस र होमल्याण्ड सेक्युरिटीको अनुमतिमा काम गर्न पाउँछन्। त्यसका लागि केही प्रावधान छन्। जस्तो: नेपालको मुद्राको अवमूल्यन भयो, देशको अर्थतन्त्र टाट पल्टियो, आफ्नै घर बाढी पहिरो, आगालागीमा पर्यो भने काम गर्ने अनुमति मिल्छ। आफूलाई खर्च पठाइदिने आमा/बुवाको मृत्यु भयो या क्यान्सर लगायतका डरलाग्दा रोग लाग्यो भने विद्यार्थीले यो सुविधा पाउँछन्,' उनले भने।
'लिगल इमिग्रेसन' लाई महत्व दिइएको विषयलाई अन्य रूपमा व्याख्या गर्न नहुने कानुन व्यवसायी फुलाराको तर्क छ।
उनले विद्यार्थीलाई बुँदागत रूपमा केही सुझाव समेत दिएका छन्।
-विद्यार्थीले कानुनको पालना गरेन भने ड्राइभिङ लाइसेन्सबिना गाडी चलायो भने डिपोर्ट हुन सक्छ।
- अन क्याम्पस (क्याम्पस भित्र) हप्तामा २० घण्टामात्र काम गर्न पाइन्छ। र सबैले काम पाउँछन् भन्ने हुँदैन। यो सुविधा मात्र हो अधिकार होइन भनेर सम्झिनु पर्छ।
-कलेजको पढाइ नसक्दासम्म विशेष परिस्थितिबाहेक बाहिर काम गर्न पाइँदैन। त्यसरी काम गरेको थाहा भयो भने कलेजले निकाल्न सक्छ अनि डिपोर्टमा पर्न सकिन्छ।
-विद्यार्थीले म्याद सकिएको राहदानी लिएर हिँडेको छ भने पनि अध्यागमनले तत्काल डिपोर्ट गर्न सक्छ। त्यसैले म्याद सकिनसाथ राहदानी बनाउनु पर्छ।
-कहिलेकाहीँ मानसिक समस्या लगायतका अप्ठ्यारा परे भने कलेजको अनुमतिमा पढाइ सार्न सकिन्छ। तर आफूखुसी केही पनि गर्न हुँदैन।
विद्यार्थीले पढाइमा राम्रो गर्न सकेमा त्यसपछि आउने अवसरहरू जति पनि रहेको उनले बताए।
'विद्यार्थीहरुले काम गर्न पाएनन भन्ने शब्दनै ठीक छैन।किनकि उनीहरूले पहिल्यै आफ्नो सीमितता बुझेका छन्,'उनले भने,'क्षमतावान विद्यार्थीलाई पढ्दा पढ्दै स्पोन्सर फेला पर्न सक्छ। पढाइ सकिएपछि ग्रिन कार्ड लगायतका सुविधा पाइन्छ। त्यसैले सुरूमै आत्तिन भएन।'