ग्लोबल नेपाली
इन्जिनियरिङ विषयमा स्नातक तहको पढाइ पूरा गरेपछि प्रकाश मानन्धरले सफ्टवेयर तथा हार्डवेयरमा काम गरे। चार वर्ष काम गरेपछि थप पढाइका लागि अमेरिका गए।
अमेरिकाको युनिभर्सिटी अफ म्यासाचुसेट्समा सफ्ट रोबोटिक्स र म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीमा (एमआइटी) इन्जिनियरिङ टिमवर्क विषय पढे।
उनले मुटुमा राख्ने पेसमेकर र सर्जरीको प्रविधिबारे अध्ययन गरे। मास्टर्स (स्नातकोत्तर) र पिएचडी (विद्यावारिधि) पूरा गरे।
उनका अनुसार सामान्यतया रोबोटहरू धेरै गह्रौं हुन्छन्। उचाल्नु पर्दा तीन जनासम्म चाहिन्छ। रोबोर्टको कुनै अंगले शरीरमा लाग्यो भने घाइते बनाउँछ।
प्रकाशले स्वास्थ्य उपचारका लागि आवश्यक पर्ने ससाना रोबोट बनाउने विषय पढे। त्यसपछि उनले नरम खालका रोबोट बनाउन अनेक अनुसन्धान गरेका छन्।
उनी संलग्न एउटा टिमले छालामा हुने सेन्सरबारे अध्ययन गरेको थियो। टोलीले शरीरमा कुनै सेन्सर पठाउनेसम्बन्धी अनुसन्धान गर्यो।
उनले भने, ‘अल्ट्रा साउन्डमार्फत् घाँटीबाट मुटुमा नसा पठाउने अनि मोटर प्रयोग गरेर मुटुको अल्ट्रासाउन्ड लिने, यो प्रविधिबाट कुनै ब्लकेज छ कि छैन भन्ने पत्ता लगाउन सकिन्छ।’
अल्ट्रा साउन्डको माध्यमबाट ब्रेनको ट्युमर पगाल्ने प्रविधि अलिक पहिलेदेखि नै थियो। ट्युमर पगाल्ने डिभाइस एक किलो तौलको थियो। सामान्यतया एउटा ट्युमर पगाल्न सात घण्टासम्म लाग्थ्यो।
प्रकाश संलग्न टिमले सय ग्रामको डिभाइस बनायो। त्यो डिभाइस तयार हुन ६ वर्ष लाग्यो। सन् २०१५ मा तयार भएको उक्त डिभाइसले सर्जरी (शल्यक्रिया) मा नयाँ सफलता हासिल भएको उनको भनाइ छ।
त्यो डिभाइसको सहयोगले मस्तिष्क, पाठेघर, कलेजो लगायतका अंगको उपचारमा सहज भयो।
त्यसपछि पनि प्रकाश विभिन्न डिभाइस बनाउने काममा संलग्न भए। एआई (आर्टिफिसल इन्टेलिजेन्स) मार्फत मार्केटिङ गर्ने क्षेत्रमा पनि काम गरे।
कामको निकै लामो अनुभवपछि दुई वर्षअघि उनीसहित सात जनाको टिमले ‘रेनसन्स एआई’ नामको कम्पनी स्थापना गरेको छ।
प्रकाश नै कम्पनीको सिइओ (प्रमुख कार्यकारी अधिकृत) रहेका छन्।
उनका अनुसार रेनसन्स एआईले एआई इन्जिनिरिङमा काम गर्छ।
‘अहिले सफ्टवेयर इन्जिनियरलाई सहज भएको छ। अब अरू इन्जिनियरका लागि पनि काम गर्दैछौं,’ उनी भन्छन्, ‘एआईले कुनै लेखको सारांश दिन सक्छ तर कुनै नक्सा दिन सक्दैन।हामी मुख्यतः पूर्वाधारको क्षेत्रमा छौं। हामी नयाँ खालका रोबोट डिजाइन गरिरहेका छौं।’
कुनै सडकको डिपिआर चाहिएमा तत्कालै हुन सक्ने गरी काम भइरहेको उनले बताए। उनका अनुसार यसले विकास–निर्माणको क्षेत्रमा जनशक्ति र खर्च घटाउनेछ।
‘नयाँ काम गर्दा सुरूमा ठूलो टिम चाहिन्छ। अब बिस्तारै सानो टिमले पनि काम गर्न सक्ने भएका छौं,’ उनी भन्छन्, ‘आगामी दिनमा अझै सानो टिमबाट काम गर्न सक्छौं। हामी स्वास्थ्य उपचारका लागि चाहिने रोबोट पनि बनाउन सक्छौं।’
नेपालका अस्पतालमा सर्जरीका लागि रोबोट चाहिएमा आफूले टोली बनाई बनाउन सक्ने उनको भनाइ छ।
‘मेरो जानकारीमा भएअनुसार नेपालमा सर्जरीका लागि रोबोट प्रयोग भएको छैन। सरकारी तहबाट अफर आयो भने म बनाउन सक्छु,’ प्रकाश भन्छन्, ‘यो काममा लगानी आवश्यक पर्छ। लगानी उपलब्ध हुने हो भने सर्जरीका लागि रोबोट बनाउन सक्छु।’
यसरी प्रकाश स्वास्थ्य उपचारमा रोबोटिक्स र एआई प्रविधि प्रयोग विस्तारका लागि आत्मविश्वासका साथ अघि बढेका छन्।