हिजबुल्लाहका नेता हसन नसरल्लाहले इसराइलले पेजर र वाकी-टकी विस्फोट गराएर गरेको आक्रमणको कडा जबाफ दिने चेतावनी दिएको केही घण्टापछि इसराइलले लेबननमा भीषण बमबारी गरेको छ।
लेबनन र सिरियाका केही ठाउँहरूमा मंगलबार हिजबुल्लाह समूहका सदस्यले बोकेका हजारौं पेजरहरू एकसाथ विस्फोट हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको थियो भने लगभग तीन हजार घाइते भएका थिए।
त्यसको भोलिपल्ट त्यसरी नै लेबननमा हिजबुल्लाह सदस्यले बोकेका वाकी-टकी अचानक विस्फोट हुँदा कम्तीमा २५ जनाको मृत्यु र अरू ४०० जनाभन्दा बढी घाइते भएका थिए।
मंगलबारको आक्रमणमा मारिएका केहीको सामूहिक अन्तिम संस्कार भइरहेको ठाउँमा समेत बुधबार वाकी-टकी विस्फोट भएर केही हताहत भएका थिए। त्यसकारण बुधबार मारिएका लागि बिहीबार सामूहिक अन्तिम संस्कार नगरिएको भनेर विभिन्न सञ्चार माध्यमले जनाएका छन्।
अहिलेसम्म ती घटनाको कसैले पनि जिम्मेवारी लिएको छैन। तर हिजबुल्लाहले इसराइललाई दोष लगाउँदै यसको बदला लिने बताएको छ।
लेबनन सरकारले समेत इसराइललाई दोष दिएको छ। संयुक्त राष्ट्र संघको सुरक्षा परिषदलाई बिहीबार चिठी लेख्दै लेबननी मिसनले ती उपकरण विस्फोट गराउन इसराइल जिम्मेवार रहेको भन्दै लेबनन आइनपुगी तिनमा इसराइलले विस्फोटक पदार्थ हालेको जनाएको छ।
इसराइलले यो घटनाबारे आधिकारिक रूपमा केही पनि बोलेको छैन। तर पनि यो आक्रमण इसराइलले गरेको मानिन्छ। देशबाहिर आफूले गर्ने खुफिया कारबाही र हत्याबारे इसराइल अरू बेला पनि बोल्दैन।
मंगलबार र बुधबारको आक्रमणपछि पहिलो पटक बोल्दै नसरल्लाहले बुधबार सो आक्रमणलाई आफूविरूद्धको युद्ध भन्दै कडा जबाफ दिने बताएका थिए। साथै गत अक्टोबर ७ मा हमासले इसराइलमाथि गरेको हमलाको बदलामा इसराइलले सैन्य कारबाही थाले यता हिजबुल्लाहले इसराइलमा गरिरहेको रकेट प्रहार जारी राख्ने पनि बताएका थिए।
तर उनको भाषण टेलिभिजनमा प्रसारण भइरहेको बेला बेरूतको आकाशमा कानै थुनिने गरी आवाज निकालेर इसराइली लडाकु विमान उडिरहेका थिए।
अनि साँझ परेपछि राति इसराइलले लेबननमा भारी बमबारी गर्यो। लेबननको सरकारी समाचार संस्थाका अनुसार गत एक वर्षको सबैभन्दा भीषण आक्रमणमा इसराइलले ५२ ठाउँमा प्रहार गरेको थियो। इसराइलले पनि हिजबुल्लाहका करिब १०० वटा रकेट लन्चर र अन्य ठाउँमा हमला गरेको जनाएको छ।
इसराइलले हिजबुल्लाह सदस्यले बोकेका पेजर र वाकी-टकी विस्फोट गराएपछि इसराइल र हमासबीच अहिले युद्धविराम हुने झिनो आशा पनि सकिएको छ। इसराइलले हमासविरूद्ध गजामा गरिएको कारबाहीका बेला हमासको समर्थनमा हिजबुल्लाहले इसराइलमाथि लगातार प्रहार गरिरहेको छ। हिजबुल्लाहको आक्रमण रोक्न कूटनीतिक प्रयास भइरहे पनि उसले गजामा इसराइली हमला नरोकिएसम्म आफ्नो आक्रमण जारी रहने बताएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले इसराइल र हमासबीच युद्धविराम गराउन लगातार प्रयास गरिरहेको भए पनि पछिल्लो घटनाक्रमले त्यो सम्भावना अहिलेलाई सकिएको छ।
नोभेम्बरमा अमेरिकामा हुने राष्ट्रपतीय चुनावअघि नै इसराइल-हमासको युद्धविराम गराएर आफ्नो विरासत अझ राम्रो बनाउन सोचिरहेका बाइडेनको प्रयासलाई इसराइलको पछिल्ला कदमले असफल पारेको छ।
मंगलबार हिजबुल्लाह सदस्यले बोकेका पेजर विस्फोट गराउँदै गर्दा नै इसराइलले लेबननको सीमातर्फ ठूलो संख्यामा सैनिक परिचालन गरेको थियो। रक्षा अधिकारीहरूले युद्धको अबको केन्द्रविन्दु गजा नभएर लेबननसँगको सीमा हुने बताएका थिए। इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले समेत हिजबुल्लाहको लगातारको हमलाका कारण लेबननसँगको सीमा क्षेत्रबाट विस्थापित भएका इसराइली नागरिकलाई घर फर्कने वातावरण बनाउनु उनको प्रमुख उद्देश्य भएको बताएका छन्।
बुधबार दिउँसो वाकी-टकी विस्फोट र राति भारी बमबारी गरेपछि इसराइलले लेबननभित्रै सेना पठाएर हिजबुल्लाहमाथि आक्रमण गर्ने खतरा बढेको छ। त्यसो नभए पनि तत्कालका लागि इसराइल र हमासबीच युद्धविराम हुने सम्भावना टरेको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)