धेरैले भन्छन्–‘विपी कोईरालाको साहित्यमा ‘कन्टेम्प्ररी पोलिटिक्स’ समकालीन राजनीतिको, अझ भनौं राजनीतिको नै प्रभाव शुन्यप्रायः थियो।
मलाई भने यसो लाग्दैन। उनको साहित्यले नै मेरो राजनीतिक चेत निर्माण गरेको थियो। उनको साहित्यको राजनीतिसँग अदृश्य सम्बन्ध थियो। उनका रचनामा राजनीति सतहमा देख्न सकिन्न तर समाजको सोच निर्माण गर्न उन्मुख भएको आभास हुन्छ। राजनीतिलाई स्वच्छ बनाउने शक्ति भएको प्रतित हुन्छ।
यसैले विपीको साहित्यमा राजनीतिको आदर्श भेटिन्छ भन्नु अनुचित नहोला। शासन र सोच बदल्नसक्ने तागत उनको साहित्यमा थियो। एक प्रकारले राजनीति नै थियो।
विपी एक राजनीतिक प्राणी थिए। उनको राजनीतिको मुख्य आधार जनता थियो। उनले ३ चैत २०३७ सालमा नेपालगन्जको सभामा भनेका थिए, ‘देश भन्नोस् चाहे राष्ट्र भन्नोस्- त्यो भुगोल होईन, त्यो यथार्थमा जनता हो। जुन कुराले जनताको हित हुन्छ त्यहीँ कुरो देशको हित हो। जनताको अधिकार हनन् देशको हनन् हो।’
विपीको सिद्धान्त र दर्शनको बारेमा धेरै बोल्न चाहन्नँ। सिद्धान्त र दर्शन सर्वकालिक युनिभर्सल हुन्छन् भन्ने मलाई लाग्दैन। समयकाल अनुसार परिमार्जन आवश्यक हुन्छ।
यो नै अकाट्य हो भन्नु जड्सुत्रवाद हो। तर केही आदर्श हुन्छन जो अकाट्य हुन्छ। जस्तै, गान्धीको अहिंशाको आदर्श मानव सभ्यताको जग हो-बुनियाद। गान्धीको यो जीवन दर्शन उनको राजनीतिको आधार बन्न गयो। यसैमा मानव सभ्यता अस्तित्व पनि टिकेको छ। सबै सिद्धान्त र आदर्श यस्ता हुँदैनन्।
तर राजनीतिक दर्शनले मात्र समाज, देश र संसार बदिलने भए मार्क्स, लेनिन, माओलगायत थुप्रैको दर्शनका कारण विश्वको रूप अर्कै हुन्थ्यो। सुन्दा अनौठो लाग्ला। मलाई विपीको विराट साहित्यिक छबीले उनको राजनीतिक विचारधारासँग पारिचित गराएको हो। मैले एकपछि अर्को गर्दै उनका अधिकांश कृति पढेको छु।
यसको सुरूआत ‘दोषी चश्मा’ बाट भएको हो। दोषी चश्मा तत्कालीन नेपालको मात्र नभएर वर्तमान नेपालको तस्बिर हो। यसले हामीलाई ऐना देखाउँछ। हाम्रो समाज, मानसिकताबारे स्पष्ट पार्छ। ‘हामीलाई मालिक चाहिन्छ, जसलाई हामी आजकालको भाषामा ‘देशको अभिभावक’ भन्ने गर्छौं। हामीलाई संरक्षण चाहिन्छ। हाम्रो हुर्काइ नै यस प्रकारको हुन्छ। यस प्रकारको ‘अपब्रिङइङ’ या परवरिसले ‘मालिक–दास’ सोच भएको समाज निर्माण गर्छ।
त्यसलाई जस्तोसुकै ‘इजम’ ले धुन सक्दैन। त्यसैले होला विपीले सिंहदरबारमा किसानको फोटो टाँस्नु भनेका थिए। यो भन्दा ठूलो राजनीतिक विवेक र मानव चेतना जगाउने कथा अर्को हुन सक्थ्यो र? यो कथा थिएन मनोक्रान्ति थियो, जसलाई न ठीकसँग पढाइयो, न पढियो। यो कथा मनन् गर्ने हो भने, नेपाली समाजको मुहार अर्कै हुन्थ्यो।
सिग्मण्ड फ्रायडको मनोविज्ञानद्वारा विपी आफ्ना पात्रलाई हेर्थे। अहिलेको नेपालको समस्या भनेको सोच हो। मनोविज्ञान हो। रोगी मनोविज्ञानले स्वस्थ्य राजनीति र स्वस्थ्य समाजको कल्पना ब्यर्थ हुन्छ।
विपीले त्यहीँ भएर राजनीतिक कर्मका साथमा सामाजिक मनोवैज्ञानिक परिवर्तनका लागि कलम चलाउँदै गए। दुःखको कुरा, केहीले पढे तर केवल मनोरन्जनका लागि। केहीले बुझेनन्, धेरैले बुझ्नै चाहेनन्। केहीले पढ्नै चाहेनन्। म पढ्दै गएँ। हिट्लर र यहूँदी, नरेन्द्र दाई, सुम्निमा, बाबु, आमा र छोरा। मेरो सोचको दायरा फराकिलो हुँदै गयो।
मेरो क्षितिज फैलँदै गयो। म लोकतन्त्रको सिपाही बनिसकेको थिएँ। सुम्निमाले मलाई किराँत सभ्यताप्रति सम्मान र आदर जगायो, शिक्षित बनायो। समाजमा भएका कुरीति, अन्याय, अत्याचारलाई राजनीतिक चेतनाले मात्र बादल्न सक्दोरहेनछ भन्ने ज्ञान पाएँ। त्यसका लागि कला, साहित्य संगीत त्यत्तिकै अपरिहार्य हुँदोरहेछ।
मैले मोदी आइन् पढेँ। यो युगान्तकारी थियो। यो यस्ती महिलाको कथा थियो जसले युद्वमा पति गुमाएकी थिइन्। यस्ता थुप्रै महिलाको वेदना भेटिन्छ। मोदी आइनमा महाभारतलाई महिलाको दृष्टिकोणले हेरेका छन् विपीले। यो कोही जमीनसँग जोडिएको विचारकले मात्र गर्न सक्थ्यो। विपीले एक विधवाको लागि युद्व कस्तो हुन्छ भनेर शब्दद्वारा चित्र कोरे। जो कोहीले पढ्छ, युद्वको ‘वैदिक दर्शन’ लाई मात्र नभई भाग्यवादलाई पनि चुनौती दिन्छ।
युद्व कुनै रूपमा न्यायोचित हुन सक्दैन, कथाले भन्छ। लैङ्गिक अवधारणा बुझाउने अलौकिक कृति हो मोदी आइन्, जसले नारी बेदना बुझ्नसक्छ त्यसले जगत बुझ्नसक्छ। विपीले साहित्यद्वारा प्राकृतिक तवरले समाज परिवर्तन होस् भन्न चाहेको थिए।
विडम्बना ! विपीको नाम लिएर राजनीति गर्नेले विपीलाई सही अर्थमा चिनेझैँ लाग्दैन। उनकै पारेटीका नेतामा विपीको जीवन र राजनीतिक आदर्शको कुनै छायाँ देखिदैन। जो द्वैध जीवन बाच्छन् जो, जसका लागि राजनीति कमाउधन्दा हो, तिनले विपीको समाजवाद भनेको सुन्दा विपीलाई गाली गरेकोझैं लाग्छ।
अब काङ्ग्रेसले आफ्नो कोर्स करेक्सन गर्न चाहन्छ भने विपीको समाजवाद र उनको साहित्य पढेर आफ्नो र समाजको मनोविज्ञान बदल्न अग्रसर हुनुपर्नेछ।
काङ्ग्रेसले गरिब कमजोर र जरूरतमन्द सबैका लागि काम गर्नुपर्नेछ। यसले समाजमा न्याय स्थापित गरेर मेलमिलाप ल्याउनेछ। साँचो भन्नुपर्दा विपीकै एक लेखको शीर्षक काङ्ग्रेसलाई मार्गदर्शक हुनसक्छ। काङ्रेसको आशन्न महधिवेशनले यहीँ प्रत्येक कांग्रेसीजनको सोचमा क्रान्ति ल्याउन सक्नुपर्छ। काङ्ग्रेसभित्र ‘क्रान्ति एक अनिवार्यता’ भएको छ।
राजनीति बुझ्नु पहिले विपीलाई बुझ्नुपर्छ। महाधिवेशनले विपीको जीवनशैली सिकाउन सक्नुपर्छ। कांग्रेसीजनले विपीको अन्तिम अन्तर्वार्ता पढे पुग्छ। उनले भनेका थिए, ‘जब म मान्छेले सस्तो सफलता प्राप्त गरेको देख्छु, त्यसबाट उनीहरूले आत्मीक सन्तोष प्राप्त गरे होलान् जस्तो लाग्दैन।’
असफल नै भए पनि सत्कार्यका लागि प्रयत्न गरिरहँदा एक प्रकारको आत्मिय आनन्द हुन्छ। सस्तो सफलता नै जीवन होईन।
मरूभूमीझै बन्दै गएको नेपालको राजनीतिलाई विपीको जीवनदर्शन राजनीतिक शैली र आदर्शले महाधिवेशनबाटै सिञ्चित गर्नसके विपी कांग्रेसको पार्टीको भित्ताबाट नेपालको माटोमा एक नयाँ जागरणका रुपमा पुनर्जिवित हुनेछन्। कोही सस्तो सफलताको चाहना राख्नेछैन। राजनीति साँचो अर्थमा राजनीति हुनेछ। देश देश हुनेछ।