अमेरिकामा म केवल एक मजदुर हुँ। कुन बेला काममा जान्छु र कहिले फर्कन्छु पत्तै हुन्न। तर यहाँ मेरो मजदुरीको उचित कदर छ।
म यहाँ गर्ने कामले मेरो हैसियत र औकात मापन हुँदैन। कुनै पनि व्यक्तिको हैसियत उसको पहिरन, उसले चढ्ने गाडी, उसले पढेको विश्वविद्यालय तथा उसको सम्पत्तीले जनाउँछ। यस्तै व्यक्तिको औकात व्यक्तिको आनीबानी र व्यहारमा भरपर्छ।
समाजमा हैसियत ठूलो भएको व्यक्तिको औकात तल्लो हुनसक्छ। यस्तै औकात ठूलो भएको व्यक्तिको हैसियत सानो पनि हुनसक्छ।
मैले पनि हैसियत ठूलो र औकात सानो भएका ‘महापुरूष’ धेरै देखेको छु। जसले मलाई सधैं विकर्षण गरे। थोरै यस्ता थिए जसलाई देखेर आदर भाव जाग्थ्यो।
जीवनमा थुप्रै प्रतिष्ठित ब्यक्तीसँग भेट गर्ने अवसर पाएँ। उनीहरूलाई मैले मनले सम्मान गरेँ जसले जसले मान्छेको हैसियत नहेरि सबैलाई समान व्यवहार गरे।
अमेरिका आएका बेला तत्कालिन कांग्रेस सभापति सुशील कोइरालाले बडो मायाले भनेका थिए,‘धेरै रक्सी नखानू है।’
नेपालमा केपी ओलीलाई भेट्ने अवसर पाएको थिएँ। उनमा पनि मानवीय पक्ष नभएको होइन। तर कुनै समय सबैका प्रिय केपी केही समययता जबर्जस्त महत्वकांक्षाले बाटो बिराएझैं देखिए।
यस्तै गिरिजाबाबु र किसुनजीसँग थुप्रै याद जुडेका छन्। शेरबहादुर देउवासँग भने अनगिन्ति पटक भेटेको छु। नेपालमा मात्र नभई देउवासँग मैले यता अमेरिकामा पनि कयौं पटक भेटेको छु। उनीसँग भेट्दा एउटा गाउँको सुगन्ध मैले सधैं पाउँछु। त्यो गाउँ हो रूवाखोला।
नेपालको मानचित्र र मेरै जीवनमा यो गाउँले निकै महत्व र अर्थ राख्छ। रूवाखोला नेपालको कुनै गाउँ भन्दा भिन्न छैन। तर यसको हैसियत र औकात उच्च छ।
केही वर्ष अगाडिको कुरा हो। शेरबहादुर देउवा अमेरिका आएका थिए, मलाई लाग्थ्यो उनी रूवाखोला लिएर आएका थिए। उनलाई भेट्न गएँ। शेरबहादुर गाउँले शैलीमा बोलिरहेका थिए। मैले अभिवादन गरेँ। उनले भने, ‘के छ ला तेरो हाल खबर?’
उनको बोलीमा मैले रूवाखोलाको न्यानोपन पाएँ। माटोको सुगन्ध पाएँ। त्यसमा रूवाखोलाका गाउँलेका दु:ख पीडा, श्रम र पसिनाको समिश्रण थियो। जो म जस्ता मजदुरले अनुभूत गर्न सक्थ्यो। त्यसैले मैले सुरूमैं भने रूवाखोलाको हैसियत र औकात उच्छ छ। रुवाखोलाको छोरा शेरबहादुरको हैसियत र औकात पनि त्यस्तै उच्च छ।
मलाई थाहा छ, देउवा सर्वत्र आलोचित छन्। शायद कतिपयले उनलाई घृणा पनि गर्लान्। तर उनीसँग मेरो पुरानो सम्बन्ध हो। हरेक मान्छेमाझैं देउवामा पनि कमजोरीविहिन छैन। उनमा कमजोरीहरू छन्। उनले थुप्रै गल्ती गरेका छन्। तर छुच्चो र कठोर देखिने शेरबहादुर देउवाको मन कोमल छ। त्यो बुझ्न रूवाखोला जानुपर्छ।
उनले आफ्नो गाउँमा गएर कथित दलितप्रति सदियौंदेखि भेदभाव भएको भन्दै कथित उपल्लो जातीले माफी माग्नुपर्ने भनेका थिए। कतिपयले उनलाई एलिट भन्छन्। तर जसले सडकमा कपडा सिलाईगरिरहेको बुढो मान्छेलाई आफ्नो लावालस्कर सुरक्षासहितको गाडीबाट उत्रिएर अंगालो हाल्छ, त्यो कसरी एलिट हुनसक्छ? ती सडकमा कपडा सिलाउने बुढो मान्छे अरू कोही नभएर मेरा आफ्नै हजुरबा हुनुहुन्थ्यो।
यो दृश्यले मलाई कुनै वादमा विश्वास नगर्नू भन्ने पाठ सिकायो सिवाय मानवतावाद। मानवतावादको यो भन्दा सुन्दर दृश्य मैले कहिल्यै देखेको थिइनँ।
सुदूरपश्चिममा एक दलितलाई चुनावमा उठाएर जिताउनसक्ने क्षमता उनी राख्छन्। उनी सबैलाई तिमी या तँ भन्छन्। मलाई त उनको तँ मा न्यानोपन लाग्छ।
उनको जति विरोध गरे पनि उनीसामू विरोधी पनि चुप रहन्छन्। उनले गरिबी, अभाव, यातना भोगेको छन्। त्यसैले कमजोर र गरिबलाई नराम्रो व्यवहार गरेको उनको इतिहास छैन।
निश्चय पनि सुदूरपश्चिम उनको सम्पती होईन। मलाई लाग्छ, शेरबहादुर भनेपछि सम्पूर्ण सुदूरपश्चिम हुरूक्क हुन्छ। यद्यपी देउवा देशका प्रिय र सबैका नेता अझै बसन्न सकेका छैनन्।
देउवा परिवारमोहमा चुर्लुम्म डुबे। सेटिङ र लेनदेनको राजनीतिलाई चुनैती दिन उनले हिम्मत गरेनन्। नेताको काम कार्यकर्ताको जस्तोसुकै माग पुरा गर्ने हो भन्ने संस्कारबाट मुक्त हुन सकेनन् कांग्रेसभित्र बिरामीहुँदै गएको विचारशीलतालाई थप मृत्युको मुखमा उनी र उनका उनका कथित सहयोगीले पुर्याइदिए।
हाम्रो नेतामा कमजोरी छ, कल्पनाशिलताको खडेरी छ, ईमान्दारी छैनन्। तर के उनीहरू हामीमध्येका एक होईन र? के हामीले उनीहरूलाई बनाएका होईनौं र? हामीले नेतामा खोट देखाउनुभन्दा पहिला आफूमा परिवर्तन ल्याउन आवश्यक छ,कस्ता मान्छेलाई हामी नेता बनाउँदैछौं।
आज तपाईं मुलुकमा पाँचौ पटक प्रधानमन्त्री बन्दा म मेरो देशको अवस्था सुध्रिन्छ भन्नेमा आशावादी छैन। घोचपेच र निन्दाका आधुनिक माध्यम बनेका ट्विटर र टिकटकमा उनीमाथि भएका टिप्पणीलाई अलग राखेर पनि यति पक्कै भन्न सकिन्छ— आममानिसले देउवालाई आशाका नजरले हेरेका छैनन्।
आफ्नो फाइदाका लागि तपाईँको समर्थक बनेकाबाहेक अरू कोही खुशी छैनन्। जनताले केपी ओलीको निरंकुश, मनपरीतन्त्रबाट राहतको सास मात्र लिएका हुन्। देउवाले यती सत्यलाई मात्र मनन गरे भने यो कार्यकाल उनका लागि अविस्मरणीय बन्नेछ।
त्यसका लागि देउवाले परिवार, भाइ छोराको मोह र कांग्रेस भित्र ब्याप्त दाजुवाद र चम्चागिरि त्याग्नुपर्छ। इतिहासले देउवालाई सुन्दर अवसर प्रदान गरेको छ। जनताको टुटेको आशालाई पुनः जिवित गर्ने मौका पाएका छन्। समयले दिएको यो ऐतिहासिक अवसरलाई लात नहानुन् देउवाले यहीँ कामना छ।
देउवाले केपीबाट सिक्नुपर्ने कुरा धेरै छन्। अब पनि जेल जीवनलाई नेपाली जनताले सत्तारोहणको सिँढी या योग्यता मान्नेछैनन्। यद्यपी देउवाले कस्तो काम गर्लान् आगामी दिनमा देखिने नै छ। देउवा अब रूवाखोलाको शेर मात्र होईन, नेपालकै शेर बन्नुपर्छ।