यदि कुनै पनि कोभिड बिरामीमा अक्सिजन लेभल ९५% भन्दा तल झर्दैछ, तर ८५ % भन्दा माथि नै छ भने कति लिटरको अक्सिजन कन्सन्ट्रेटर प्रयोग गर्ने होला त? यस्ता कुराको निर्धारण गर्न चिकित्सक, इन्जिनियर र वैज्ञानिक अन्वेषकको हातेमालो आवश्यक हुन्छ।
कोभिड सम्बन्धी यस क्षेत्रमा अनुसन्धान नभएको बेला आपत्कालिन अवस्थामा अक्सिजन अभाव कम गर्न अक्सिजन कन्सन्ट्रेटरको प्रयोग भारतबाट सुरु भयो।
वास्तवमा अक्सिजन कन्सन्ट्रेटर अन्य बिमारीमा हल्का अक्सिजन अल्पताको पूर्ति गर्न उपयोग हुने उपकरण हो। कोभिड बिरामीको हकमा कस्तो स्थितिमा अक्सिजन कन्सन्ट्रेटरको प्रयोग गर्ने र कति मात्रामा अक्सिजन दिने भन्ने ठोस जानकारी कतिपय स्वास्थ्यकर्मीलाईसमेत जानकारी नहुँदा भारतमा कयौँको ज्यान गएको छ।
आउनुहोस् एउटा विशेष परिस्थिति हेरौं, बिरामीले सिलिन्डरबाट ९६% शुद्ध अक्सिजन पाईरहेको छ र उसको अक्सिजनको मात्रा ९३% भन्दा बढीमा स्थिर छ। अब यदि त्यो बिरामीलाई सिलिन्डरबाट हटाई कन्सन्ट्रेटरमा राख्ने हो भने कम्तीमा कति लिटर क्षमताको कन्सन्ट्रेटरमा राख्ने हो त?
यसको उत्तर सरल छैन। यस्ता संवेदनशील कुराको निर्धारण गर्न निकै वैज्ञानिक शोधमा आधारित ज्ञान र उपलब्ध प्रविधि दुवैको संयोजन गर्न सक्ने जनशक्ति आवश्यक पर्छ।
श्वास-प्रश्वास चिकित्सा सम्बन्धी केही भरपर्दा जर्नलमा प्रकाशित शोधपत्र पढेर प्रमाणिक तथ्यहरू सङ्कलन गर्दा हाम्रो श्वास-प्रश्वास प्रणालीले एक श्वास-प्रश्वासको चक्रमा ५% जति अक्सिजन सोस्ने रहेछ। यानि २०% जति अक्सिजन सन्तृप्त प्राकृतिक श्वास लिएर १५% अक्सिजन प्रश्वासबाट बाहिर फाल्नेरहेछौं।
सामान्य अवस्थामा फोक्सोले ६ लिटर जति वायु धारण गर्नसक्ने रहेछ। अर्थात् ६ लिटरको ५% यानि ३०० मिलीलिटर अक्सिजनको उपभोग हुनेरहेछ। बिरामीले बिस्तारै श्वास फेरे पनि १ मिनेटमा कम्तीमा १५ चोटि श्वास फेर्नेरहेछौं। यसरी गुणा गर्दा १ मिनेटमा ३०० मिलीक्स १५ = ४.५ लिटर चाहिने रहेछ।
अब, यदि फोक्सोले ६ लिटर जति वायु धारण गर्नसक्छ भने, एक मिनेटमा ९० लिटर वायुको आवागमनको क्षमता राख्छ। सामान्यतया वायुमा ७८% जति नाइट्रोजन, २१ % जति अक्सिजन र अन्य ग्यास १ % भन्दा कम हुन्छ। प्राकृतिक वायु भन्दा यानि २१ % मात्रै शुद्ध अक्सिजन उत्पादन गर्न सक्नेकन्सन्ट्रेटरले पनि केही मद्दत त गर्ने नै रहेछ।
यदि खरिद गर्दा मेसिनको गुणस्तर परीक्षण गरेर ९० % शुद्ध अक्सिजन दिने क्षमता कन्सन्ट्रेटरले ल्याइएको मान्ने हो भने, अनि, फोक्सोले एक मिनेटमा ९० लिटर वायुको आवागमनको क्षमता राख्छ भने कम प्रतिशत नै अक्सिजन उत्पादन गर्ने भए पनि प्रतिमिनेट बढी लिटर संश्लेषण गर्नेकन्सन्ट्रेटर नै उपयुक्त रहेछ।
श्वास लिन अप्ठ्यारो भईरहेको बेलामा अलि धेरै मात्रामा हावाको फोक्सोमा सञ्चार भयो भने फोक्सो फैलन मद्दत हुन्छ। फोक्सोको आयतन बढ्दा निमोनोसाइट र अल्वेओलि (श्वास-प्रश्वास कोशिका र तन्तुहरू) को सतहको क्षेत्रफल बढ्छ र वायुबाट अक्सिजनको विनिमयको गति बढ्न जान्छ नै!
त्यसैले बजारमा सहज रूपमा उपलब्ध ५ र १० लिटर लिटर प्रतिमिनेट अक्सिजन प्रदान गर्ने कन्सन्ट्रेटरमध्ये कोभिडको लागि १० लिटर लिटर प्रतिमिनेट प्रदान गर्ने किन्दा नै बढी उपयोगी हुने देखियो।
यो त केवल कागजी हिसाब भयो तर बिरामी माथि वास्तविक प्रयोग गर्न दक्ष चिकित्सकको सल्लाहमा बिरामीको अवस्था हेरेर मात्रै कुन यन्त्रलेकति अक्सिजन दिने भन्ने निर्णय लिनुपर्ने हुन्छ।
यस्ता कुराको निर्धारण गर्न वैज्ञानिक, इन्जिनियर र चिकित्सक सबैले हातेमालो गरी अघि बढ्न जरूरी छ। विकसित देशमा चिकित्सा शास्त्रका साथै विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (स्टेम्) विधालाई विशेष प्राथमिकता दिइएको हुन्छ। विपदमा यी सबै मिलेर काम गर्ने वातावरण बन्न सके समस्याको समाधान सहज हुन जान्छ।
नेपालमा महावीर पुनजीको नेतृत्वमा पनि राष्ट्रिय आविष्कार केन्द्रमा यी सबै विधाको हातेमालो भई विपद् अनुसन्धान व्यवस्थापन तर्फ केन्द्रित हुन सुरू हुनु सकारात्मक पक्ष हो। राष्ट्रिय आविष्कार केन्द्रमा अहिले अक्सिजन कन्सन्ट्रेटरलाई शृङ्खलामा राखी सिलिन्डर भर्ने जस्ता समय सापेक्ष विज्ञान र प्रविधिको व्यवहारिक प्रयोग हुँदैछन्। यस्ता माटो सुहाउँदो प्रविधिको प्रयोगले मानव जीवनको रक्षासँगै देशलाई समृद्ध बनाउन मद्दत गर्छ।
केही महिनाअघि राष्ट्रिय आविष्कार केन्द्रको सहकार्यमा केही कलेजका विद्यार्थीले रकेट उडाउँदा केही ‘विज्ञले’ त्यो प्रयासलाई नै यो कस्तो रकेट उडान हो भनेर सामाजिक सञ्जालमा उडाएको पनि देखियो! वैज्ञानिक आविष्कारले सधैँ रकेट मात्रै उडाउँदैन कहिले काहीँ बिमारीको ज्यान पनि बचाउँछ! अस्पतालका शैय्या र आकस्मिक कक्षहरू भरिँदै जाँदा बिरामीको सेवामा अहोरात्र खटिएका चिकित्सक र स्वास्थ्यकर्मीको त्यागको जतिकदर गरे पनि कम हुन्छ।
वैज्ञानिक र स्वास्थ्यकर्मी देशका विभूति हुन्। विपदमा स्वास्थ्यकर्मीलाई सुरक्षित र निर्धक्क भई काम गर्ने वातावरण मिलाउन सके रोगनियन्त्रणका प्रयास चाँडो सफल हुनेछन्। महामारीमा डाक्टर मोटा भया राष्ट्र बलियो हुन्या छ। सबैलाई चेतना भया !
लेखक जोशी विद्यावारिधि (रसायन शास्त्र) युनिभर्सिटी अफ म्यासाचुसेट्स, अमेरिका हुन्।