कोभिड महामारीको दोस्रो लहरले विश्व आक्रान्त भएको बेला मेरो देश सत्ता टिकाउने र प्राप्त गर्ने दाउ-पेचमा मग्न थियो। यस्तो लाग्छ, नेपाली नेताको लागि कोभिड र जनताको कुनै अस्तित्व छैन।
जनतालाई उनीहरूले धेरै पहिले भुलिसके। कोरोना महामारीको पनि सायद गत वर्षको पहिलो लहरसँगै अन्त्यष्टी गरेका थिए। यस वर्ष, अर्काले निःशुल्क दिएको भ्याक्सिनमा पनि राजनीति र भ्रष्टाचार गरेको सुन्दा कस्तो हुन्छ होला।
भारतमा कोरोनाको नयाँ लहरले दैनिक लाखौं मानिस संक्रमित भइरहेका थिए। हरदिन हजारौंले ज्यान गुमाइरहेका छन्। अस्पतालमा बेड, अक्सिजन, भेन्टिलेटर, औषधि र जनशक्तिको चरम अभाव हुन थालेको थियो। मान्छेहरू यसरी हताहत हुन थाले कि, शव जलाउन पनि टोकन लिनुपर्ने बाध्यता हुन लागेको थियो। यस्तो हृदयविदारक दृश्य सायद यसअघि कसैले पनि देखेको थिएन होला। हरेक दिन भारतको दृश्य भयानक बन्दैं गयो।
भारतको वर्तमान स्थितिले ‘स्वास्थ्य टुरिजम्’ को केन्द्र बन्ने उसको चाहना छताछुल्ल भयो। कोरोनाले विश्वको सबैभन्दा ठूलो लोकतन्त्रको स्वास्थ्य प्रणाली कति जिर्ण रहेछ भनेर खुलस्त पारिदियो। भारतको मौजुदा सरकारप्रतिको जनआक्रोश जताततै देख्न सकिन्छ। गान्धीको यो देश गलत नीति, गलत नियत, गलत आचरण र ब्यक्ति केन्द्रीत राजनीतिको चपेटामा पर्यो। जनताको जीवन रक्षा गर्न नसक्नु नै भारतको सबैभन्दा ठूलो कमजोरी रह्यो।
कोभिडको लहर द्रूत गतिमा फैलिरहेको बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही राज्यमा चुनाव गराए, केही चुनावी सभामा हजारौं जनसहभागीतामा सम्बोधनसमेत गरे। उनले कोरोनालाई ठाडै चुनौती दिइरहेका थिए। मोदीको शैली अरूले पनि पछ्याए।
यसपछि हरिद्वारमा कुम्भमेला सुरू भयो। यसमा पनि कुनै रोकावट भएन। जताततै गेरूवा बस्त्रधारी देखेर उनी आत्मरतीमा रमाए। तर यो महामारीले सबैलाई निर्बस्त्र पारिदियो। मोदीसँग लाज छोप्ने विकल्प रहेन। भारत अहिले निसास्सीरहेको छ, तड्पिरहेको छ।
यता नेपालमा प्रधानमन्त्री केपी शर्मा ओली पनि मोदीकै अनुशरण गर्दै आएका थिए। लामो समयदेखि चलिरहेको राजनीतिक खिचातानीमा उनि लागिरहे। कोरोना महामारीको दोस्रो लहरले क्रमशः नेपाललाई पनि गाँज्दै थियो। तर उनलाई कुनै सरोकार थिएन। आफैं नियम बनाउँदै आफैं उल्लंघन गर्दै हिँडे। विभिन्न सभामा सम्बोधन र उद्घाटनमा रमाइरहे। सयौं मान्छेको भिड जम्मा गरेर निर्माणाधीन धरहराको उद्घघाटन गरे।
यो बेलासम्म कोरोना गाउँगाउँ पुगिसकेको थियो। निषेधाज्ञाको घोषणा गरियो। कतिपय गाउँ फर्किए, कति अलपत्रमा परे। अस्पतालहरू भरिन थाले। भेन्टिलेटर, अक्सिजन र औषधि अभावका खबर छ्याप्छ्याप्ति भए। मानिसहरु उपचार नपाएर हार-गुहार गरिरहेका खबर बाहिरिए।
यसैबीच अल्पमतमा परेका प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिने तयारी गरेका छन्। ओलीको कदमलाई सफल हुन नदिन अरू राजनीतिक दल लागिपरेका छन्।
नेताहरूको लाचारीपन र गैर जिम्मेबार हर्कतले आजित भएका जनता आफू र आफ्नो परिवारको जीवन जोगाउन संघर्षरत छन्। कोरोनासँग युद्व लडिरहेका छन्।
आफ्नो देशमा राजनीतिको यस्तो घिनौना खेल भइरहँदा सात समुद्रपारी रहेको मलाई पिरोलिरहन्थ्यो। बैराग लागेर आउँथ्यो। काममा जान्थे, फर्कन्थेँ कुनै जोश जाँगर थिएन। मुलुकको यस्तो चरम निराशालाई पार लगाउन कोही न कोहीले त हिम्मत देओस् भन्ने लागिरहन्थ्यो। सायद म मात्र होइन, परदेसिएका लाखौं नेपालीको यस्तै चाहना थियो होला।
यसैबीच वैशाख २३ गते गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधनको खबर आयो। प्रधानमन्त्री केपी ओलीदेखि, विभिन्न दलका नेता, अभिनेता, चिकित्सक, विद्यार्थी, सुरक्षाकर्मीदेखि अधिकांशले दिएका श्रद्धञ्जलीका शव्दले सामाजिक सञ्जाल रंगिए। सबैसँग आफ्नै पीडा थियो। आफ्नै जीवन प्रतिको अनिश्चितता थियो। तर पनि हरेकले प्रेमध्वजलाई सम्झिरहेका थिए। पीडामा पनि सबैको भावना एक थियो। पीडामा गीत गाउनु अभुतपूर्व ‘फेनोमेना’ हो। प्रेमध्वजको गायकी शक्तिको मलाई आभास भयो।
म स्तब्ध भएँ। अनायसै गुनगुनाउन थालेँ, ‘हाँस्ने रहरहरू आँशुमा डुबे, सुन्दर सपना सिसा झै टुटे....’। सबैका रहर डुबिरहेका थिए, सपनाहरू टुटिरहेका थिए। तर चेतना, अर्धचेतनामा भए पनि प्रेमध्वज प्रधानको मृत्युमा पुरा देश एक भयो।
मैले प्रेमध्वज प्रधानका हरेक गीत दोहोर्याई, तेहर्याई सुनेँ। सबै गीतमा मानव र विषेश गरी नेपाली भित्रका अन्तद्वन्द्व भेटेँ। उथल्पुथल भेटेँ। उनीहरूका इच्छा र रहरको प्रतिबिम्ब भेटेँ। प्रेमध्वज प्रधानको स्वर लय, ताल र शब्दको निश्चलता नेपाली समाजमा यसरी भिजेको रहेछ आज उनको मृत्युले सबै बताइदियो।
प्रेमध्वज प्रधानको भौतिक अवशानमा पुरा देश एक भयो। शोकमा पनि संगीतमय बन्यो नेपाल। यो थियो प्रेमध्वजको जादु, उनको गायनको, संगीतको गहिराइ।
देशको राजनीतिलाई प्रेमध्वजको स्वर, लय, ताल र निश्चलताको आवश्यकता छ। राजनीतिले सायद उनलाई ओझेलमा पार्ला तर नेपाली जनताले उनलाई अमर बनाइसकेका छन्। जादाजाँदै उनले भनेका छन्- अब हाँस्ने रहरहरू आँशुमा डुब्नु हुँदैन...