यतिखेर सारा विश्व कोरोना महामारीबाट आक्रान्त छ। यसबाट नेपाल पनि अछुतो छैन। सबैको एउटै पीडा छ कसरी ज्यान जोगाउने र जीवनलाई कसरी फेरि सही बाटोमा ल्याउने?
भनिन्छ पीडाको सम्बन्ध मजबुत हुन्छ। यसले मानवहरूलाई नजिक ल्याउँछ। तर गत जेठ १० गते रुकुम जिल्लामा जे भयो त्यसले माथिको कथनलाई गलत साबित गरिदियो।
लज्जाले टाउको झुक्यो। सामजिक न्यायमा विश्वास गर्ने सबैलाई आक्रोसित बनायो।
जाजरकोट भेरी नगरपालिका ४ राना गाउँका नवराज विक र सोही नपाका टीका सुनारको कथित उपल्ला जातीद्वरा हत्या गरियो र अन्य ४ जनालाई बेपत्ता पारियो। तीमध्ये ५ जनाको शव फेला परिसकेको छ। नवराजको एउटै गल्ती थियो-उनले रुकुम चौरजहारी नगरपालिका - ८ की सुष्मा मल्लसँग प्रेम गरेका थिए।
प्रेमलाई विवाहमा रुपान्तरण गर्न उनी जाजरकोटबाट केही साथीसहित रुकुम पुगेका थिए। जुन सपना लिएर उनी रुकुम पुगेका थिए। ती सपना उनीसँगै भेरीमा विलिन हुन पुगे। उनी सधैंका लागि यस संसारबाट बिदा लिए। यो बिदाइ विभत्स र क्रुर थियो।
अन्तरजातीय विवाह र प्रेम सम्बन्धका कारण ज्यान गुमाउने पहिलो व्यक्ति भने होइनन् नवराज विक।
अन्तरजातीय विवाहका कारण गाउँ, घरबाट विस्थापित हुनेहरू र ज्यान गुमाउनेहरूको थुप्रै दृष्टान्त पाइन्छ नेपाली समाजमा।
अधिकांश जातीय विभेदका घटनामा पीडकलाई राजनीतिक संरक्षण प्राप्त हुन्छ। प्रहरीमाथि दवाब हुन्छ। प्रहरीको मध्यस्ततामा मेलमिलाप गरिन्छ।
पीडितको पक्षमा आवाज उठाउने संघसंस्था पनि केही समयपछि थाक्छन्। र न्याय मर्दछ।अनि रुकुम जस्ता घटनाको पुनरावृत्ति भइरहन्छ।
अन्तरजातीय विवाहमा गरिने विभेद जातीय विभेदको एउटा स्वरूप मात्र हो। यो विभेदको सबभन्दा कुरूप स्वरूपभित्र पर्छ।
आखिर किन अन्तरजातीय विवाहलाई स्वीकारिन्न? यसका निम्न कारण छन्:
पहिलो, अन्तरजातीय विवाहले जाति प्रथाको जगमाथि प्रहार गर्छ। जाति प्रथा आफूभन्दा तल्लोलाई आफू सरह हुन नदिने र आफू उच्च रहिरहने सोचमा आधारित हुन्छ।
दोस्रो, अन्तरजातीय विवाहले रक्त मिस्रणलाई बढावा दिन्छ। युगौंदेखि समुदायबीच ‘सोसल डिस्ट्यान्सिङ’ अर्थात् सामजिक दूरी पालन गर्दै आएको समाज रक्त मिस्रणबाट त्रसित हुन्छ। अन्तर्घुलनको नामबाट डराउँछ। यही कारणले अन्तरजातीय विवाहले प्रतिकार र हिंसा भोग्नुपर्छ।
नेपालले विगत डेढ दशकमा ठूला राजनीतिक परिवर्तन देखेको छ। तर यी राजनीतिक परिवर्तनले सामाजिक न्याय भने सुनिश्चित गर्न सकेको छैन। यसको प्रमुख कारण हाम्रो सोचमा परिवर्तन नआउनु हो। सोच ठीक भए व्यवहार ठीक हुन्छ। व्यवहार ठीक भए संसार ठीक हुन्छ। कानुन बनाउँदैमा सोच परिवर्तन हुँदैन। कानुनको प्रभावकारी कार्यान्व्यन हुनुपर्छ। जातीय विभेद जस्तो अपराधमा शून्य सहिष्णुता अपनाइनु पर्छ। तर बिडम्बना यसो हुन सकेको छैन।
रुकुमको घटना एउटा प्रतिनिधि घटना मात्र हो। दिनहुँ कैयन् प्रेमी जोडीले विभेद सहनुपर्छ र केहीले नवराज विकको जस्तो नियति भोग्नु पर्छ।
रुकुम घटनाको उद्धेश्य नै एउटा सन्देश दिनु थियो। अन्तरजातीय विवाह गर्नेहरूले नवराज विक र उनका साथीहरूको जस्तो अवस्था भोग्नुपर्छ भन्ने निर्मम सन्देश।
यो सन्देशको एउटै जवाफ हुन सक्छ दोषीहरूलाई कडाभन्दा कडा सजाय। दलित समुदायलाई विश्वास छ कानुनले काम गर्नेछ। दोषीहरूले उन्मुक्ति पाउने छैनन्। तर सबैले बुझ्नु पर्ने के छ भने अन्यायको पनि ‘थ्रेस होल्ड’ हुन्छ। जब अन्यायले परकाष्ठा नाघ्छ पीडितले आफैं न्याय गर्न थाल्छ।
यसको परिणाम भयानक हुन्छ। रुकुमको विभत्स हत्या काण्ड अन्यायको ‘थ्रेस होल्ड’ सावित नहोस् । सबैको यसमा भलाइ छ।