कोरोना भाइरससँग सम्बन्धित मानिएको नयाँ रोगका कारण न्यू योर्क राज्यमा ३ बालबालिकाको मृत्यु हुनुका साथै अन्य ७३ जना विरामी परेका छन्।
त्यहाँका गभर्नर एन्ड्रिउ एम कुमोले शनिबार यसै साता पत्ता लागेको यो नयाँ रोगमा चिन्ताजनक वृद्धि देखिएको जानकारी दिएको द न्यू योर्क टाइम्सले जनाएको छ।
उनीहरूमा रहस्यमय लक्षणहरू देखिने गरेको छ।
यो रोग लागेका विरामीको छाला, आँखा, रक्तनली र मुटुमा विषाक्त झट्का जस्तो जलन हुने गरेको छ। यसले बालाबालिकालाई गम्भीर विरामी गराउने र केहीलाई त भेन्टिलेटरको समेत आवश्यक्ता पर्ने दि न्यू योर्क टाइम्सले जनाएको छ।
यसका थुप्रै लक्षणहरू बाल्य अवस्थामा लाग्ने 'कावासाकी' नामक अत्यन्त दुर्लभ रोगसँग मिल्दोजुल्दो रहेको छ। कावासाकी रोग लागेका बालबालिकामा यसले रक्तनली र विशेषगरी मुटुको धमनीमा जलन गराउने गर्छ।
'यो रोगले ३ जना बालबालिकाको ज्यान लिएको छ', गभर्नरले म्यानह्याटनमा भएको आफ्नो नियमित व्रिफिङमा भने, 'यो नयाँ हो। यो विकाश हुँदैछ।'
कोरोना भाइरसबाट बालबालिका उतिधेरै प्रभावित नभइरहेको यो समयमा नयाँ रोगका कारण यसै साता एक पाँच वर्षिय बालकको मृत्युले अभिभावकहरूलाई चिन्ता थप्ने देखाएको छ।
चिकित्सकहरूले यस रोगको लक्षणलाई बालबालिकामा हुने 'मल्टीसिस्टम इन्फ्लेमेटरी सिन्ड्रोम' भनेका छन्।
न्यू योर्कका अलावा लुसियाना, मिसिसिपी र क्लालिफोर्निया राज्यमा यस किसिमको लक्षण भएका विरामी फेला परेको दि न्यू योर्क टाइम्सले जनाएको छ।
यस्तै ५० वटा केस बेलायत, फ्रान्स, स्वीटजरल्याण्ड, स्पेन तथा इटाली लगायतका मुलुकमा रिपोर्ट भएको समाचारमा उल्लेख छ।
त्यसैगरी गभर्नर कुमोले अस्पताल आएका धेरै विरामी बच्चाले कोरोना भाइरससँग सम्बन्धि श्वासप्रश्वासका लक्षण नदेखाएपनि परीक्षणका क्रममा उनीहरू सबैमा कोभिड-१९ पोजेटिभ वा सोको इन्टीबडी देखिने गरेको जानकारी दिए।
'यो अझै पनि विकास भइरहेको अवस्था हो तर यो गम्भीर छ', उनले भने।
उनले यो रोग के कारणले लाग्यो भन्ने जान्नका लागि न्यू योर्क जेनेमी सेन्टर र रकफेलर विश्वविद्यालयसँग मिलेर काम गर्ने बताएका छन्। उनले यो साँच्चै एउटा गडबड भएको बताए।
उनले मृतक अन्य दुई बालबालिकाको मृत्युका बारेमा भने विस्तृतमा खुलाएनन्।
कुमोले अभिभावकहरूलाई बालबालिकामा लामो समयसम्म ज्वरो आउने, धेरै पेट दुख्ने, छालाको रंग परिवर्तन हुने, मुटुको धड्कन छिटोछिटो हुने र छाती दुख्ने समस्या आएमा चनाखो हुन भनेका छन्।
सोमबार न्यू योर्कको स्वास्थ्य विभागले एक बुलेटिन जारी गर्दै चिकित्सकहरूलाई सो रहस्यमयी रोगका लक्षणहरू भेटिएमा जानकारी दिन भनेको छ।
स्वास्थ्य अधिकारीहरूले यस अवधिमा २ देखि १५ वर्ष उमेर समूहमा १५ वटा त्यस्ता रोगका विरामी भेटिएको जनाएको छ। ती विरामीहरूलाई अप्रिल १७ देखि आसियूमा राखिएको न्यू योर्क टाइम्सको समाचारमा उल्लेख छ।