शुक्रबार प्रस्तुत गरिएको तथ्यांकले 'ग्रेट डिप्रेसन' यता अमेरिकाम ठूलो संख्यामा जागिर गुमेको देखाएको छ। यी जागिरहरू एकमहिनाको अवधिमा गुमेका हुन्।
योसँगै अमेरिकी उपराष्ट्रपति माइक पेन्सकी प्रेस सचिव केटी मिलरलाई कोरोना भाइरसको संक्रमण भएको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्। एकदिन अगाडि मात्र ट्रम्पको एक व्यक्तिगत सहयोगीलाई कोरोना संक्रमण पुष्टि भएको थियो।
यी घटनाले राष्ट्रपति भवनमा उच्च तहका कर्मचारीको सुरक्षामाथि प्रश्न उठाएको छ।
'हामीले राष्ट्रपतिलाई जोगाउन प्रत्येक सावधानी अपनाएका छौ,' ह्वाइट हाउसका प्रवक्ता कायलिग म्याकइनानीले पत्रकारसँग भनिन्।
यस्तै त्यहाँको श्रम विभागले गत महिना अमेरिकी बेरोजगारीदर बढेर १४.७ प्रतिशतले वृद्धि भएको बताएपछि त्यसले ह्वाइट हाउसको संक्रमण नियन्त्रणको चिन्ता बढाइदिएको छ।
फरवरीमा भने बेरोजगारीदर वृद्धि ३.५ प्रतिशत थियो।
कोरोना नियन्त्रणका लागि अपनाइएको उपायले अमेरिकी अर्थव्यवस्था धरापमा परेको छ र अझै यसबारेमा खराब समाचारहरू आउनै बाँकी रहेको छ।
ह्वाइट हाउसका आर्थिक सल्लाहकार केभिन ह्यासेटेले बेरोजगारी दर यो महिना अझै बढेर २० प्रतिशत पुग्नसक्ने सम्भावना व्यक्त गरेका छन्।
अप्रिलको तथ्यांकले नयाँ बेरोजगारीदरले दोस्रो विश्वयुद्धपछि सन् १९८२ नोभेम्बरमा तोडिएको कीर्तिमानलाई तोड्ने देखाएको छ।
रोयटर्सको पछिल्लो तथ्यांक अनुसार ७७ हजार भन्दा बढी अमेरिकीले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् भने १.२८ मिलियन बढीमा संक्रमण पुष्टि भएको छ।