अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा जारी कोरोना भाइरस महामारीले दोश्रो विश्वयुद्धताका पर्ल हार्बर आक्रमण र सेप्टेम्बर ११ को आतंकवादी हमलाले भन्दा बढी क्षति पुर्याएको बताएका छन्।
'यो पर्ल हार्बर भन्दा पनि खत्तम छ। यो वर्ल्ड ट्रेड सेन्टरमा भएको हमला भन्दा पनि खराब छ। यो कहिल्यै नभएको भए हुन्थ्यो', बुधबार संवाददाताहरूसँग ह्वाइट हाउसमा उनले भने।
सन् १९४१ मा जापानले पर्ल हार्बरमा आश्चर्यजनक ढंगले गरेको आक्रमणपछि अमेरिका दोश्रो विश्व युद्धमा होमिन बाध्य भएको थियो।
यसैगरी सन् २००१ को सेप्टेम्बर ११ मा भएको आतंकवादी हमलामा झण्डै ३ हजार मानिसहरूले ज्यान गुमाएका थिए।
ज्यान गुमाउनेमा धेरैजसो न्यू योर्कको जुम्ल्याहा भवनमा रहेका मानिसहरू थिए। घटनामा २५ हजार बढी घाइते बनेका थिए। घटनाले करिब १० बिलियन अमेरिकी डलर बराबरको क्षति गरेको थियो।
ओसामा बिन लादेनको नेतृत्वमा रहेको तालिवान आतंकारीहरूले ती जुम्ल्याहा भवनमा अपहरण गरेका विमान ठोक्काएका थिए।
त्यसपछि अमेरिका अफगानिस्तान, इराक लगायतका अन्य मुलुकमा आतंकवाद विरोधी अभियानमा दुई दशकका लागि धकेलिन पुगेको थियो।
कोरोना भाइरसको महामारीले अमेरिका विश्वमा सबैभन्दा प्रभावित मुलुक हो।
त्यहाँ हालसम्म १२ लाख बढीमा कोरोनाको संक्रमण पुष्टि भएको छ भने ७१ हजार बढीको ज्यान गइसकेको छ।