उच्च तहका एक अमेरिकी सैनिक जनरलले कोरोना भाइरसको उत्पति वुहानको भाइरोलोजी प्रयोगशालाबाट भए-नभएको आफूहरूलाई थाहा नभएको बताएका छन्।
मंगलबार उनले भाइरस मासु बजारबाट सुरु भएको हो वा प्रयोगशालाबाट हो वा अन्य कुनै स्थानबाट आएको भन्ने बारेमा थाहा नभएको बताएका हुन्।
उनले यो सम्भवतः मानव निर्मित नभएको बताए।
'के यो वुहानको भाइरोलोजी प्रयोगशालाबाट आयो? के हो वुहानको मासु बजारबाट आयो? के यो अन्यत्र कतैबाट आयो? यसको उत्तर हो- हामीलाई थाहा छैन', सैन्य जनरल मार्क मिलेले पत्रकार सम्मेलनमा भने।
उनी जोइन्ट चिफ अफ स्टाफका प्रमुख हुन्। उनले यसबारेमा अमेरिकी सरकारले खोजी गरिरहेको जानकारी दिए।
उनको यो भनाइ विदेश मन्त्री माइक पोम्पेले आइतबार दिएको अभिव्यक्ति भन्दा फरक छ। पोम्पेले आइतबार कोरोना भाइरस वुहानको प्रयोगशालाबाट लिक भएको दाबी गरेका थिए।
राष्ट्रपति ट्रम्पले पनि यस्तै किसिमको दाबी गर्दै आइरहेका छन्।
चीनले भने यस भनाइको खण्डन गर्दै आएको छ।