अमेरिकाका उच्च तहका स्वास्थ्य अधिकारीले पटकपटक कोरोना भाइरसका बारेमा दिइएको चेतावनीलाई बेवास्ता गरेको आरोप एक अमेरिकी वैज्ञानिक लगाएका छन्।
मंगलबार अमेरिकाको स्पेसल काउन्सेलमा दर्ता गरिएको उजुरीमा रिक ब्राइट नामका ती वैज्ञानिकले त्यहाँको स्वास्थ्य तथा मानव सेवा विभाग(एचएचएस)का उच्च तहका कर्मचारीले आफूले पिपिई तथा भारतबाट ल्याइएको हाइड्रोसकस्क्लोक्विन लगायतका औषधिको गुणस्तरका बारेमा पटकपटक दिएको सूचनालाई बेवास्ता गरेको उल्लेख गरेका छन्।
उनी त्यहाँको स्वास्थ्य तथा मानव सेवा विभाग अन्तरगत रहेको बायोमेडिकल एडभान्स्ड रिसर्च एण्ड डेभलपमेन्ट विभागका प्रमुख हुन्। उनले कोरोना भाइरसको महामारीका बारेमा एचएचएस प्रमुखलाई सिधैं महामारीविरुद्ध लड्न गर्नुपर्ने तयारी र उठाउनुपर्ने कदमका बारेमा रिपोर्ट गरेका थिए, जसलाई पूरै बेवास्ता गरिएको उनको भनाइ छ।
उजुरीमा चेतावनी दिएकै कारण ट्रम्प प्रशासनले आफूलाई पदमुक्त गरेको दाबी गरेका छन्।
उनले जनवरीमा महामारीको चेतावनी दिएका थिए।
'डाक्टर ब्राइटले महामारीको खतरालाई कम गर्न जोडतोडका साथ गरेको प्रयासलाई सेक्रेटरी अजारसहितका एचएचएस नेतृत्वबाट प्रतिरोधको सामना गर्नुपरेको', उजुरीमा उल्लेख छ।
त्यस्तै उनले कोरोनाको उपचारमा उपयोगी हुने भनेर भारत र पाकिस्तानबाट ल्याइएको मलेरियाको औषधिको उचित जाँच हुनुपर्नेमा उच्च प्रशासनलाई सचेत पारेका थिए तर उनको सो चेतावनीको सुनुवाइ भएन।
ट्रम्प प्रशासनले आपतकालिन प्रयोगका लागि भन्दै झण्डै ५ करोड युनिट मलेरियाको औषधि आयात गरेको थियो।
ब्राइटले दिएको उजुरीमा ट्रम्प प्रशासनले आफूले ती औषधिको गुणस्तर र मात्राका बारेमा पटकपटक जानकारी भएको भएपनि उनीहरूले ध्यान नदिएको आरोप लगाएका छन्।
एचएचएसले भने ब्राइटले लगाएको काम गर्न नसकेपछि पदमुक्त गरेको दाबी गर्दै आएको छ।
पछिल्लो समय अमेरिका कोरोना भाइरसबाट सर्वाधिक प्रभावित मुलुक हो। हालसम्म अमेरिकामा ११ लाख बढीमा कोरोनाको संक्रमण पुष्टि भएको छ भने ६९ हजार बढीको मृत्यु भइसकेको छ।
कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा प्रभावकारी प्रयास नगरेकोमा ट्रम्प प्रशासनको चर्को आलोचना हुँदै आएको छ।