राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार संयुक्त राज्य अमेरिकामा स्थायी रुपमा बस्न चाहनेहरूलाई केही समयका लागि रोक्ने एक आदेशमा हस्ताक्षर गरेका छन्।
ट्रम्पले कोरोना भाइरसको महामारीका समय अमेरिकी नागरिकहरुको रोजगारीको रक्षा गर्न लागि यो आदेश दिनुपरेको बताएका छन्।
यो हस्ताक्षर ६० दिनसम्मलागु हुनेछ। त्यसपछि पुनः यसमाथि समीक्षा गरिनेछ। त्यसपछि पनि यो बढ्ने अनुमान गरिएको छ।
केही आलोचकहरूले कोरोना भाइरस संकटको फाइदा उठाउँदै ट्रम्पले आफ्नो लामो समयदेखिको योजना लागु गरेको बताएका छन्।
ट्रम्पले यो कदम नोभेम्बर ३ मा हुने राष्ट्रपति चुनाव अघि देशमाआउने आप्रवासीलाई रोक्न चालेको कदम भएको भनेका छन्।
'महान अमेरिकी कामदारहरुको संरक्षण गर्नका लागि मैले भर्खरै अमेरिकाको आप्रवासनमा रोक लगाउने कार्यकारी आदेश दिएको छु। यसले अर्थतन्त्र खुलेपछि सबै जागिरमा बेरोजगार अमेरिकीहरूलाई जागिरको पहिलो रेखामा उभ्याउनेछ', ट्रम्पले आफ्नो नियमित समाचार कन्फ्रेन्समा भने।
यो सँगै उनले कोरोना प्रभावित नागरिकहरूका लागि देश स्वास्थ्य श्रोतहरू सुरक्षित गरिने बताए।
ट्रम्पको यो निर्णयले प्रतिमहिना २० हजार भन्दा बढी मानिसहरूलाई ग्रीन कार्ड प्राप्त गर्नबाट रोक्नेछ।
यो निर्णयले रोजगारी र पारिवारिक भिषामा आउन चाहनेहरुलाई रोक्ने छ तर कृषि मजदुरहरू र एच -१ बी कामदारहरूलाई भने यसले असर गर्नेछैन।
यसले भाइरस विरुद्ध लडिरहेका आप्रवासी डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मीको हकमा पनि यो लागु हुनेछैन।
इबी-५ भिसा कार्यक्रमको लागि आवेदन दिन चाहेका आप्रवासीहरूलाई पनि ट्रम्पको निर्णयमा समावेश गरिएको छैन।
अमेरिकी नागरिकका आफन्तहरूको पारिवारिक सम्बन्ध मार्फत स्थायी बसोबास गर्न चाहनेलाई भने निर्णय अनुसार रोक लगाइने छ। तर यसले अमेरिकी नागरिकका पति / पत्नी र २१ बर्ष मुनिका अविवाहित बच्चाहरूको सन्दर्भमा भने छुट दिनेछ।
अमेरिकी नागरिक स्वतन्त्रता संघको आप्रवासीहरू अधिकार परियोजनाका निर्देशक ओमर जादवतले भनेका छन्, 'यो आदेश एक दायराभित्र सीमित छ। यसले देशभरका थुप्रै परिवार र रोजगारदातालाई पीडा दिनेछ।'