अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीलाई अमेरिका आउन लगाएको रोक ६० दिनसम्म जारी हुने बताएका छन्।
उनले यो अमेरिकामा स्थायी बसोबास गर्न चाहनेहरूको हकमा मात्र लागु हुने बताए।
सोमबार ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले कोरोना महामारीपछि अमेरिकी नागरिकको जागिर जोगाउन आप्रवासीलाई अस्थायी रूपमा अमेरिका प्रवेशमा रोक लगाउने निर्णय बताएका थिए।
बिबिसीले जनाए अनुसार यसले विशेष भिसामा मजदूरी गर्ने र हाईटेक कर्मचारीहरूलाई भने प्रभावित पार्ने छैन।
आलोचकहरुले यसलाई ट्रम्पको कोरोना भाइरसप्रतिको आफ्नो कदमबाट ध्यान हटाउने कोशिस भएको आरोप लगाएका छन्।
अमेरिकामा मात्र संक्रमणका कारण हालसम्म ४५ हजार बढीको ज्यान गइसकेको छ।
ह्वाइट हाउसको नियमित कोरोना भाइरस ब्रिफ्रिङमा ट्रम्पले यो निर्णयपछि अर्थव्यवस्था कसरी गरिरहेको छ बुझेर, त्यही अनुसार प्रतिबन्ध थप बढाउन पनि सकिने जानकारी दिएका छन्।
नेशनल इमिग्रेसन फोरमका अली नुरानीले ट्रम्पको यस कदमलाई दुर्भाग्यपूर्ण भएको बताए।
'संयुक्त राज्य अमेरिकामा १७ प्रतिशत आप्रवासीहरू स्वास्थ्यसेवक छन् भने २४ प्रतिशत आप्रवासी प्रत्यक्ष हेरचाह कर्मीहरू छन्', उनले भने,'यो दुर्भाग्यपूर्ण छ कि राष्ट्रपतिले यस संकटमा सबैलाई मद्दत गर्ने सहमति निर्माणको साटो अरुको बली चढाइदैं छ', उनले भने।