अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ४० हजार नाघेको छ।
रोयटर्समा प्रकाशित समाचारका अनुसार आइतबार मृतक संख्या ४० हजार ४ सय ५२ पुगेको छ।
यो संख्या इटालीको भन्दा झण्डै दोब्बर हो। इटाली कोरोनाका कारण मृतक संख्या धेरै भएको युरोपेली मुलुक हो। त्यहाँ २३ हजार बढीको मृत्यु भएको छ।
अमेरिकामा कोरोनाका कारण पहिलो मृत्यु कोरोना देखिएको ३८ दिनपछि फरवरी २९ मा भएको थियो। त्यसपछि सो संख्या अप्रिल ६ सम्म आइपुग्दा १० हजार पुग्यो भने त्यसको पाँच दिनमा दोब्बर भयो।
पाँचै दिनमा अमेरिकामा मृतक संख्या ३० हजारबाट ४० हजार पुगेको रोयटर्सले जनाएको छ।
अमेरिकामा विश्वकै सबैभन्दा बढी कोरोना संक्रमित रहेका छन्।
संक्रमितको संख्या त्यहाँ ७ लाख ५० हजार भन्दा बढी भइसकेको छ।
यो संख्या १३ दिन अगाडिसम्म आधा थियो। शनिबारमात्रै त्यहाँ २९ हजार नयाँ संक्रमित फेला परेका छन्।
यो संख्या तीन दिन यताकै कम हो।
कोरोनाका कारण आर्थिक गतिविधि ठप्प भएपछि २२ मिलियन अमेरिकी नागरिकहरूले बेरोजगार सुविधाका लागि आवेदन दिएका छन्।
लकडाउनले अमेरिकी अर्थतन्त्र दोश्रो विश्वयुद्धपछिकै खराब अवस्थामा पुगेको छ।