अमेरिकाले चीनसँग कोरोना भाइरसका लागि आवश्यक चिकित्सकिय सामाग्रीमाथि लागु गरिएको नयाँ निर्यात गुणस्तर नियन्त्रण नियमलाई संशोधन गर्न आग्रह गरेको छ।
उसले ती सामाग्रीको आपूर्तिमा कुनै व्यवधान नहोस् भन्ना लागि चीनसँग अनुरोध गरेको अमेरिकाको युएस स्टेट डिपार्टमेन्टका एक प्रवक्ताले बताएका छन्।
चीनले सातादिन अगाडि कोरोनाको उपचारमा अत्यावश्यक मास्क तथा पिपिई लगायतका सामानहरूको पैठारीमा अनिवार्य भन्सार जाँच गर्ने नियम लगाएपछि ती सामानहरू समयमै अमेरिका नहुन सक्ने भएकाले अमेरिकाले यस्तो अनुरोध गरेको हो।
अमेरिका अहिले कोरोना भाइरसको महामारीबाट सर्वाधिक प्रभावित मुलुक हो।
विश्वका केही सरकार तथा अस्पतालले चीनबाट आउने पिपिई गुणस्तरिय नभएको भन्दै धेरै हल्लाखल्ला गरेपछि चीनले यस्तो कदम उठाएको हो।
'हामी गुणस्तर नियन्त्रणको प्रयासलाई कदर गर्छौं। तर हामी यो आपूर्ति ढिलाइको कारण नबनोस् भन्ने चाहन्छौं', स्टेट डिपार्टमेन्टका प्रवक्ताले बिहीबार भने, 'अमेरिकी सरकारले यसबारेमा चीनको ध्यानाकर्षण गराएको छ। हामीले चीनलाई पिपिईको शीघ्र निर्यातका लागि आएको नयाँ मापदण्डकाबारेमा पुनःविचार गर्न भनेका छौं।'
अमेरिका चिकित्सकिय सामाग्रीका लागि चीनसँग अत्याधिक निर्भर रहने गरेको छ।