प्रिन्स ह्यारी र उनकी श्रीमती मेघनले लस एन्जलसमा गम्भिर रोगका बिरामीहरुलाई खाना खुवाएका छन्।
उनीहरु कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन घोषणाको सुरुवातमा क्यालिफोर्निया सरेका थिए।
उनीहरु बसाँइ सरेपछिको पहिलो पटक कुनै सार्वजनिक गतिविधिमा सहभागी भएका हुन्।
बेलायती शाही परिवारको वरिष्ठ सदस्यता र पद औपचारिक रूपमा त्यागेका यी दम्पतीले आइतबार प्रोजेक्ट एन्जेल फूडको सहकार्यमा बिरामीलाई खाना पुर्याएका हुन्।
एन्जिल फूड गम्भिर बिरामीहरूलाई मेडिकल हिसाबले तयार पारिएका खाना वितरण गर्दै आइरहेको लस एन्जेलसको गैर नाफामुखी संस्था हो।
यसरी ह्यारी र मेघनले सार्वजनिक रूपमा कसैलाई समर्थन गरेको यो पहिलो पटक हो।
'हामीले कुराकानीलाई एकदमै अनौपचारिक राख्यौं। मलाई उहाँहरू सेवामा अत्यन्तै इच्छुक हुनुहुन्छ भन्ने थाहा थियो र उहाँहरु लस एन्जल्सलाई प्रोजेक्ट एन्जेल फूडको नजरबाट, परोपकारको आँखाबाट हेर्न चाहनुहुन्छ,' संगठनका सीईओ रिचार्ड अय्यूबले एएफपीलाई भने।
ह्यारी र मेघनले लस एन्जल्स नै बस्ने मेघानकी आमाको माध्यमबाट परोपकारको बारे सुनेका थिए।