अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार प्रमुख स्वास्थ्य विशेषज्ञ एन्थोनी फोची आफूलाई मनपर्ने भएकाले उनलाई सेवाबाट नहटाउने बताएका छन्।
फोचीले एक अन्तरवार्तामा कोरोना रोकथाममा केही समय अगाडि नै ध्यान दिएको भए थुप्रै मानिसहरूको ज्यान जोगाउन सकिने बताएका थिए।
राष्ट्रपति ट्रम्पले उनी र फोची सुरुदेखि नै भाइरसलाई लिएर एउटै बाटोमा रहेको बताए। उनले सो पत्रकार सम्मेलनमा सरकारको बचाउमा एउटा भिडिओसमेत देखाएका थिए।
शुरुवाती दिनमा ट्रम्पले भाइरसको गम्भीरतासँग खेलाँची गरेका थिए भने यसको रोकथामका लागि उपयुक्त काम नगरेको भन्ने संचारमाध्यमको आलोचनालाई उनले प्रतिवाद गर्दै आएका छन्।
आइतबार ट्रम्पले फोचीलाई जिम्मेवारीबाट हटाउने रिट्विट गरेका थिए।
सोमबार ब्रिफिङमा फोचीले एक ‘हाइपोथेटिकल’ प्रश्नको उत्तर दिदैं सो कुरा बताएको र ट्रम्पले सुरुदेखि नै आफ्नो कुरा सुन्दै आएको बताएका थिए।
‘म उसलाई मन पराउँछु। मलाइ लाग्छ ऊ एकदमै राम्रो व्यक्ति हो। तर सबैजना डाक्टरसँग खुशी छैनन्’, ट्रम्पले फोचीको बारेमा भने।
कोरोना रोकथाम सम्बन्धी फोचीले आफ्नो कामबाट राष्ट्रियस्तरमा लोकप्रियता बटुलेका छन्।
अमेरिकामा हालसम्म संक्रमणबाट २३ हजार ५ सय ४३ जनाको मृत्यु भइसकेको छ भने ५ लाख ८३ हजार ९ सय ९० जना संक्रमित भएका छन्।
कोरोना नियन्त्रण तथा रोकथामको काम फोचीले राष्ट्रपति ट्रम्पसँग मतभेद पनि राखेका छन् र उनलाई सच्याउने काम पनि गरेका छन्।